+
+
Shares
ब्लग :

टेन्सन, फ्रस्टेसन अनि सडक आन्दोलन

सर, हजुरहरूको आन्दोलनमा शिक्षाको नयाँ खाका कोर्ने अवधारणा ल्याउनुहोस् है । आफ्ना स्वार्थका गीत त हरेकले गाएकै छन् । शिक्षकहरू त महान् हुन्छन्, त्यसैले हजुरहरू आफ्नै स्वार्थका मात्रै कुरा नगर्नुहोला । हजुरहरूले साँच्चैको नयाँ नेपालको चित्र कस्तो हुन्छ, पढाएर आउनुहोस् है ।

डा. डिजन भट्टराई डा. डिजन भट्टराई
२०८१ चैत २५ गते ७:४२

आदरणीय सर, नमस्कार ।

अहिले हजुर काठमाडौं जानुभएको छ रे । नेपालमा शिक्षाको विकास कसरी गर्ने भनेर सरकारको ध्यानाकर्षण गराउन सर लगायत देशैभरिका शिक्षकहरू सडक आन्दोलनमा काठमाडौं जानुभएको छ भन्ने सुनें । सर मेरा पनि केही कुराहरू त्यो काठमाडौंमा भनिदिनुहोस् न है !

हिजोआज गाउँका मान्छेहरू भन्न थालेका छन्– यो मुलुक नपढेकालेभन्दा पढेकाले बिगारे । हुन त हो, गलत कुरा पढ्नु र सिक्नु, नपढ्नु र नसिक्नुभन्दा धेरै नै खराब अनि खतरनाक हुन्छ । शायद त्यही भएर होला सर, आज नपढेको मान्छेभन्दा पढेको मान्छे बढी दुःख, पीडा र छटपटीमा छन् ।

सर, म हजुरलाई एउटा क्षण सुनाउँछु है !

‘नकुरा गरौं नानी, हिजोका दिनभन्दा त आजका दिन स्वर्ग छन्,’ इतिहासमा आफूले पाएका दुःखका फेहरिस्तसहित हजुरआमा कथा सुनाउनु हुँदैथ्यो । त्यही समयमा ठूलो आवाजमा मूल ढोका खोलिन्छ, ढोका खोल्ने छोरी रहिछन् । बडो आवेगपूर्ण भावमा काँधमा रहेको झोला खाटमा फुत्त फ्याँक्दै कसैसँग नबोली आफ्नो कोठाको ढोका खोल्छिन्, अनि भित्र पसेर जोडसँग बन्द गर्छिन् । हजुरआमाले भन्नुभयो, ‘के भएछ नानी, छोरी किन रिसाएकी ?’ म जवाफविहीन हुन्छु । म छोरीको बन्द कोठा हेर्छु, अनि हजुरआमाको अनुहार !

हजुरआमाको अनुहारमा एउटा शान्ति छ । आनन्दको भाव देखिन्छ, तर बन्द कोठामा भित्र रहेकी मेरी छोरीको मनमा के दौडिरहेको छ ! बरु आधा पेट खाने, तर छोराछोरीलाई राम्रो स्कुलमा पढाउने भनेर नै मैले राम्रो भनिएको स्कुलमा महँगो फि तिरेर छोरी पढाइरहेको छु । छोरीले राम्रो अंक पनि ल्याइरहेकी छिन् ।

उनी अहिले ब्याचलर पढिरहेकी छिन्, तर म दिनप्रतिदिन उनको अनुहारमा छटपटी र बैचैनी घुमिरहेको देख्छु । आवेग, पीडा, आक्रोस, अपेक्षा, सपना, तृष्णा खै के–के ! म उनको ढोका बिस्तारै ढक्ढक्याउँछु, छिड्कनी खुलेको आवाज आउँछ । मेरो अनुहारमा नहेरी उनी कुर्सीमा बसेर ल्यापटप चलाइरहेकी छिन् । मैले सोधें, ‘छोरी के खाजा खाने ?’ छोरीले मेरो अनुहारतर्फ पनि नहेरी भनिन्, ‘भो ! बाहिर नै खाजा खाएर आएकी ।’

हजुर आमाले भन्नुभयो, ‘नानी, छोरीको बिहे गरिदिनुपर्छ, बिहे गर्ने बेला भएका छोरीहरूको बिहे नगरिदिँदा बैरागिन्छन्, त्यही भएर हाम्री छोरी पनि हिजो आज रिसाइरहन्छे ।’ म हजुरआमाको कुरा सुनेर मुसुक्क मुस्कुराएँ मात्र, केही बोलिनँ । किनकि, म हजुरआमाको बुझाइप्रति नाजवाफ थिएँ ।

सर के भनौँ र !

मेरी छोरीमात्र होइन, आजको युवा पिँढी नै टेन्सन र फ्रस्टेसनमा देखिन्छ । हरेक कुरामा आवेग र उत्तेजना उनीहरूका विशेषता भएका छन् । हरेक सन्तानका सपना वैदेशिक भूमिमा अभिव्यक्त भइरहेका छन् ।

म आफ्नो बाल्यकाल सम्झन्छु, जहाँ अभाव थियो, गरिबी थियो । तर त्यो अभाव र गरिबीको बोध हामीलाई थिएन । बिहान पाँचै बजे उठ्नु, गोठमा रहेका गाइबस्तु र बाख्रा बाहिर निकाल्नु, गोबर सोर्नु नियमित कर्म थियो । बुबा काँधमा हलो बोकेर जोत्ने हिँड्नुहुन्थ्यो । आमा गाईलाई खोले पकाउन थाल्नुहुन्थ्यो । भाइ र म चाहिँ घाँस काट्न जान्थ्यौँ ।

सायद गल्ती त्यही नै भयो, हामीले हाम्रा छोराछोरीलाई सधैँ जित्न सिकायौं, हार्न सिकाएनौँ, तर हार्ने नभई जित्नेहरू हुन सक्दैनन् । हामीले बच्चालाई लड्न, पछार्न र प्रतिस्पर्धा गर्न सिकायौं, मिल्न सिकाएनौँ । किताबमा लेखिएका कुराको मात्र परीक्षा लियौं र त्यस परीक्षामा बढी अंक ल्याउनेहरू उत्कृष्ट अनि कम अंक ल्याउनेहरू निकृष्ट भन्ने मानक बनायौं ।

८ बजे हतारहतार घाँसको भारी घरको पिँढीमा फालेर आमाले पकाएको दुई गाँस भात खाएर स्कुल जान्थ्यौँ । एक घण्टाको लामो बाटो कुद्दै स्याँ–स्याँ र फ्याँ–फ्याँ हुँदै १० बजे स्कुल पुगिन्थ्यो । हामी टिफिन टाइममा खुब खेल्थ्यौँ, अनि कक्षा सुरु हुने घण्टी लागेपछि तुफानसँग पानी पिउन धारातिर जान्थ्यौँ, किनकि टिफिन टाइम भनेको खाजा खाने समय हो भन्ने हामीलाई कहिल्यै थाहा भएन । यी कुनै पनि कार्य हाम्रा लागि दुःखका विषय थिएनन्, जीवनचर्या थिए । मैले एसएलसीमा फर्स्ट डिभिजनमा पास गर्दा पूरै गाउँ गर्वले मग्न भएको थियो, किनकि छिमेकी गाउँबाट एसएलसीमा कोही पनि पास भएका थिएनन् ।

म मेरी छोरीको जीवन हेर्छु, मलाई उनको उदास अनुहारमा व्याप्त बैचैनीले पीडा भरिन्छ । सायद उनी आफूलाई खाली अनि रित्तो अनुभूति गर्छिन् । उनलाई अभाव नहोस्, उनी भरिपूर्ण हुन् भनेर मैले धेरै संघर्ष गरिरहेको छु, तर उनलाई मेरो संघर्ष र उनीप्रतिको मेरो चाहनाको कुनै मतलब छैन । उनी के खोजिरहेकी छिन्, उनैलाई थाहा छैन । उनी कुन मृगमरिचिकामा हराइरहेकी छिन्, यसमा कसको दोष हो ? उनी स्वयंको, मेरो वा यो समाज र प्रणालीको ?

सर,

शिक्षा भनेको मानिसको जीवनलाई सहज बनाउने, आनन्दित तुल्याउने र जीवनबोध गराउने तत्व हैन र ? शिक्षाले मानिसलाई कर्मशील, जिम्मेवार र इमान्दार बनाउँछ भन्नु भएको हैन र ? तर म किन हिजोआज पढेका मानिसहरू यीभन्दा फरक देख्छु ।

कतै हाम्रो शिक्षा प्रणालीमा नै समस्या त छैन ? शिक्षा जीवनसँग जोडिनुपर्ने, समाज र संस्कृति अनुकूल हुनुपर्ने हैन र ? नवीन, सिर्जनशील, राष्ट्रप्रेम, जनपक्षीय, मानवता, आलोचनात्मक चेत र जीवनयापन शिक्षाका आधारभूत विशेषता हुन् भनेर हजुरले नै भन्नुभएको थियो । अहिले मेरी छोरीले पढेकोे शिक्षा प्रणाली यस्तै छ त ?

सर,

सायद गल्ती त्यही नै भयो, हामीले हाम्रा छोराछोरीलाई सधैँ जित्न सिकायौं, हार्न सिकाएनौँ, तर हार्ने नभई जित्नेहरू हुन सक्दैनन् । हामीले बच्चालाई लड्न, पछार्न र प्रतिस्पर्धा गर्न सिकायौं, मिल्न सिकाएनौँ । किताबमा लेखिएका कुराको मात्र परीक्षा लियौं र त्यस परीक्षामा बढी अंक ल्याउनेहरू उत्कृष्ट अनि कम अंक ल्याउनेहरू निकृष्ट भन्ने मानक बनायौं ।

हामीले यस प्रकृतिमा अनन्त सम्भावना छन् भन्दै प्रकृतिको रहस्य खोज्न सिकाएनौं बरु किताबमा लेखिएका विषयहरू रट्नसक्नुलाई महान भन्यौँ । हामीले उद्यमशिलता सिकाएनौँ, जागिर खानुपर्छ भनेर सिकायौँ ।

उद्यमशील हुनु भनेको स्वतन्त्र हुनु हो, स्वावलम्बी हुनु हो अनि जागिर खानु भनेको अरुको दास हुनु हो भन्ने ख्याल नै गरेनौँ । हामीले बच्चालाई ठूलो मान्छे हुनुपर्छ भनेर सिकायौँ, तर कोही ठूलो हुनका लागि कोही सानो त हुनैपर्छ, त्यसैले उनीहरू जसरी पनि अर्कालाई सानो बनाएर आफू ठूलो हुन सिक्दै गए ।

हाम्रो शिक्षाले आदर्श, त्याग, बलिदान र इतिहासका कथाहरू सिकाएन्, बरु ती बलिदानीपूर्ण गौरवमय इतिहासको विद्रुपीकरण गरेर त्यसलाई आतंकवाद र मानवहत्या भनेर सिकायो । हातमा खुँडा खुकुरी, पिठ्युँमा रसद्–पानी बोकेर अजंगका पहाडहरू छिचोल्दै, आफ्ना प्रियजनहरूलाई बाटोमा गुमाउँदै सत्रुसँग लडेर वर्षौंको संघर्षपश्चात् बनेको देशको गौरवलाई बुझाउन सकेन हाम्रो शिक्षाले । बरु अरुको गुलामी गर तर पैसा कमाऊ भनेर सिकाइरहेछ ।

अमेरिका, युरोपलाई आदर्शीकरण गरेर त्यसलाई स्वर्गको शहर हो भन्ने सिकायो आजको शिक्षाले । अंग्रेजी पढ्नु, जान्नु र बोल्नुलाई पहिलो दर्जा र अंग्रेजी नजान्नेलाई दोस्रो दर्जाको हैसियत बनायो आजको शिक्षाले । त्यसैले मेरी छोरी विदेश जान मैले सहज अनुमति नदिएकोमा रिसाइरहेकी छिन् । सायद, पैसा मात्रै आनन्दको साधन हो भनेर सिकाइएछ । त्यसैले सर, आजको शिक्षाले मेरी छोरीलाई खाना पकाउन मात्रै होइन, खाना खान पनि सिकाएन ।

सर,

म धेरै पढेको मान्छे होइन, त्यसैले धेरै कुरा थाहा नहोला । तर मेरो बुझाइमा आधुनिक शिक्षाको विकास गर्ने नाममा हामीले विदेशीबाट ऋणमा लियौं, तर ऋणको पैसा मात्र आएन, विकासका विभिन्न अवधारणामा पाश्चात्य संस्कृतिका मान्यता पनि त्यही पैसासँगै आएछन् ।

उनीहरूले बच्चालाई जे पढाऊ भन्यो, हामीले त्यही पढायौँ । परिणामतः अहिले पढेका युवाहरू त्यही देशको श्रमशक्तिका रूपमा विदेशिए । हामीले हाम्रा मान्छे गुमायौँ, राष्ट्रप्रेम गुमायौँ गुमायौँ । मानवता, सिर्जनशिलता, नवीनता र आलोचनात्मक चेतसमेत गुमाउँदै गयौँ सर, मात्रै विदेशीको ऋण बाँकी रह्यो ।

सर,

हजुरहरूको आन्दोलनमा शिक्षाको नयाँ खाका कोर्ने अवधारणा ल्याउनुहोस् है । आफ्ना स्वार्थका गीत त हरेकले गाएकै छन् । शिक्षकहरू त महान् हुन्छन्, त्यसैले हजुरहरू आफ्नै स्वार्थका मात्रै कुरा नगर्नुहोला । हजुरहरूले साँच्चैको नयाँ नेपालको चित्र कस्तो हुन्छ, पढाएर आउनुहोस् है ।

नेपालमा भित्रिएको शैक्षिक बिचौलियाको अन्त्य गर्ने विधि सिकाउनुहोला । किताबमा मात्रै संसार हुन्न, दुनियाँ बुझ्न किताब जरुरी हुन्न भन्ने कुरा सुनाइदिनु है । वास्तविक परीक्षा त जिन्दगीले लिन्छ नै । विद्यालयले लिने परीक्षाका कारण बच्चाहरूले आत्महत्या गर्ने वातावरणको अन्त्य गर्ने उपाय बताइदिनुहोस् ।

यो संसारमा हरेक मानिस कुनै न कुनै विशिष्ट क्षमता लिएर आएको हुन्छ, त्यो क्षमता खोज्ने विधिमा आधारित शिक्षा हुनुपर्छ भन्ने आवाज पनि उठाउनुहोला । किताब त सामान्य माध्यम मात्र हुन् । परीक्षामा प्राप्त हुने अंक त पानीको फोका हो, यसको खासै अस्तित्व हुँदैन भनेर ठूलाठूला मानिसहरूलाई पनि भनिदिनुहोला ।

नेपालमा शिक्षामा भएको लगानी खेरमात्रै गएन, उल्टै मुलुककै अस्तित्वमा प्रश्नचिह्न उठाउने प्रकृतिको भयो भनेर चिच्चाएर भनिदिए पनि हुन्छ । त्यसैले सरहरू हजुरहरू काठमाडौंको सडकमा नारा लगाउँदै गर्दा नेपालको विकृत शिक्षा प्रणालीलाई सुधार्ने विधिहरू पनि खोज्नुहोला । नयाँ युगको सुरुवातको आधार बनाउनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?