२५ चैत, काठमाडौं । चोटका कारण करिब तीन महिना क्रिकेटबाट टाढा रहेका भारतका स्टार पेस बलर जसप्रीत बुमराह अन्ततः खेलमैदानमा फर्किन लागेका छन्।
आईपीएल टोली मुम्बई इन्डियन्सका समेत महत्वपूर्ण खेलाडी रहेका बुमराह सोमबार हुने रोयल च्यालेन्जर्स बेंगलुरुसँगको खेलबाट टोलीमा पुनरागमन गर्न लागेका हुन् ।
टोलीका मुख्य प्रशिक्षक महेला जयवर्धनेले आइतबार गरिएको पत्रकार सम्मेलनमा भने, ‘उनी आज अभ्यासमा छन् र भोलिको खेलका लागि उपलब्ध हुनेछन्।’
बुमराह शनिबार राति मुम्बई पुगेका थिए र राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा आवश्यक परीक्षणहरू पास गरेपछि उनी मुम्बई इन्डियन्सका फिजियोहरूसँग समन्वयमा आएका हुन्।
प्रशिक्षकका अनुसार उनी आइतवार बेलुका वानखेडे मैदानमा आएर पिचको अवलोकन गर्दै स्याडो बलिङ गरे र त्यसपछि नेट्समा रोहित शर्मालाई बलिङ गरेका थिए।
बुमराहको पुनरागमन मुम्बई इन्डियन्सका लागि ठूलो राहतको कुरा हो। बुमराहको अनुभव, ट्रेण्ट बोल्ट र दीपक चाहरजस्ता बलरहरूसँगको संवाद तथा युवा बलरहरूलाई सुझाव दिन सक्ने क्षमताले टोलीलाई थप मजबुत बनाउने प्रशिक्षक महेलाले बताए।
बुमराह सन् २०२४ को जनवरीमा भएको अस्ट्रेलियासँगको टेस्ट शृंखलाको बीचमै चोटका कारण मैदानबाट बाहिर रहेका थिए। उनले हालै मात्र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को स्पोर्ट्स साइन्स विभागबाट स्वीकृति पाएपछि आईपीएलमा फर्कने बाटो खुलेको हो।
मुम्बई इन्डियन्सको हालको स्थिति हेर्दा बुमराहको उपस्थितिले ठूलो ऊर्जा थप्ने अपेक्षा गरिएको छ। चार खेलमध्ये मात्र एक खेल जितेको मुम्बईले प्लेअफको होडमा रहन अब उत्कृष्ट प्रदर्शन गर्नुपर्ने अवस्था छ।
आईपीएल २०२४ मा बुमराह तेस्रो सर्वाधिक विकेट लिने बलर थिए। उनले १३ खेलमा २० विकेट लिएका थिए र शीर्ष २० विकेट लिने बलरमध्ये सबैभन्दा कम इकोनोमी रेट (६.४८) उनको थियो।
बेंगलुरुविरुद्ध राम्रो रेकर्डसहित वानखेडे मैदानमा पाँच विकेट लिने प्रदर्शन गरेकाले मुम्बई उनलाई सोमवारको खेलमा निर्णायक रूपमा हेर्दैछ।
-एजेन्सीबाट
प्रतिक्रिया 4