२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेनुका नगरकोटे ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मानित भएकी छन् ।
गुरुकुल एजुकेशनल फाउन्डेशन नेपालद्वारा आयोजित एनसीएम डे को अवसरमा सोमबार रेनुकालाई ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मान गरेको हो । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कुशल मिडफिल्डर रेनुका नगरकोटेलाई नगद रु ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान पत्र समेत प्रदान गरिएको छ ।
पोएट आईडलका जज विप्लप प्रतीक, गुरुकुल एजुकेसन फाउण्डेसनका अध्यक्ष विनोद दवाडी, एनसीएमका प्रिन्सिपल सुशील भक्त माथेमा, एनसिएमका बोर्ड मेम्बर अमन प्रताप अधिकारीले संयुक्त रुपमा रेनुकालाई सम्मान गरे । अनसङ हिरोको रुपमा रहेको रेनुकाको फुटबलमा प्रेरणादायी योगदानको कदर गर्दै रेनुकालाई सम्मान गरिएको जनाएको छ ।
पुरस्कार घोषणा कार्यक्रममा अमन प्रताप अधिकारीले रेणुका नगरकोटेलाई ‘अनसङ हिरो’ को रूपमा सम्मान गर्दै भने, ‘उनले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस् वा जीवनको कठिन संघर्ष—दुवै कुरा आगामी पुस्तालाई ठूलो प्रेरणा दिएको छ।’
कार्यक्रममा नेपाल कलेज अफ म्यानेजमेन्टका कलेज प्रिन्सिपल प्रा.डा. सुशील भक्त माथेमाले पनि रेणुकालाई बधाई दिँदै भने, ‘उहाँको खेल जीवन अझ उर्जावान बनोस् भन्ने शुभकामना छ।’ यसै वर्षबाट युवा प्रोत्साहन पुरस्कार फुटबल खेलाडीलाई प्रदान गरिएको हो ।
फुटबलको स्तरोन्नति र युवाहरूका लागि प्रेरणा बन्न सफल रेनुका नगरकोटेको अतुलनीय योगदानलाई कदर गर्दै रेनुकालाई सम्मान गरिएबो नेपाल कलेज अफ म्यानेजमेन्टका बोर्ड मेम्बर अमन प्रताप अधिकारीले जानकारी दिए ।
सन् २०१० मा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेकी रेनुकाले चोटबाहेक लगातार नेपालका लागि खेल्दै आएकी छन् । केही समयअघि भएको चारदेशिय महिला फुटबलमा रेनुका मोस्ट भ्यालुएबल प्लेअर घोषित भएकी थिईन् ।
युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित भएपछि रेनुकाले निकै खुशी भएको बताइन् । उनी खेलका क्रममा बाहेक यश किसिमको अवार्डबाट पहिलो पटक सम्मानित भएको बताइन् । आफूले फुटबल खेलेको १८ वर्ष भएको र पछिल्लो प्रतियोगिताहरुपछि आफूलाई धेरैले चिन्न थालेको बताईन् ।
यसैगरी कवि क्षेत्र प्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट सिजन श्रेष्ठ पुरस्कृत भए । उनको कविता संगह ‘हावामा अल्झिएको स्वर’ ले उक्त पुरस्कार पाएको हो ।
उनले पनि नगद ५० हजारसहित सम्मान पत्र प्राप्त गरे ।
प्रतिक्रिया 4