२५ चैत, काठमाडौं । १६ औं विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले २ स्वर्णसहित ६ वटा पदक हात पार्न सफल भएको छ । मलेसियाको क्वालालाम्पुरमा शनिबार र आइतबार (अप्रिल ५ र ६) भएको खेलमा विभिन्न उमेर समूहका ३१ खेलाडी सहभागी थिए ।
जसमा २ स्वर्ण ,१ रजत र ३ कास्य गरी कुल ६ पदक प्राप्त गरेका हुन् ।
नेपालबाट पुरुषतर्फ ९–११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र महिलातर्फ १२–१४ वर्ष उमेर समूहमा प्रत्युशा खतिवडाले स्वर्ण पदक हात पारेका हुन् ।
पुरुषतर्फ ९–११ वर्ष उमेर समूहमा अमिश पटेलले रजत, किरण मगरले कास्य पदक हात पारे ।
त्यस्तै, महिलाफर्त संस्कृति चैलागाईंले कास्य पदक हात पारिन् । १५–१७ पर्या उमेर समूहमा सुन्दर सार्कीले कास्य पदक हात पारे ।
अन्तर्राष्ट्रिय योग खेलकुद महासंघले आयोजना गरेको प्रतियोगितमा विश्वभरका २३ राष्ट्रबाट १ सय ५३ खेलाडी सहभागी थिए ।
नेपाल योग खेलकुद संघले सन् २०१७ देखि अन्तर्राष्ट्रिय महासंघको सदस्यता लिएर ३ वटा दक्षिण एसियाली, ६ वटा राष्ट्रिय, एउटा प्रदेशस्तरिय र २ वटा उपत्यकास्तरिय प्रतियोगिता संचालन गरिसकेको छ । संघमा करिब ५०० योग खेलाडीहरू जोडिएका छन् ।
राष्ट्रिय, प्रदेशस्तरीय र जिल्लास्तरिय प्रशिक्षण साथै खेलहरू सञ्चालन गर्दै खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न अधिकतम प्रयास गरिने बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष केदारनाथ बस्ताकोटीले जानकारी दिए ।
बस्ताकोटीसँग योग खेलाडी, प्रशिक्षक हुँदै निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।
प्रतिक्रिया 4