२५ चैत, काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा गरिएको छ। जस बटलरले गत मार्चमा सम्पन्न च्याम्पियन्स ट्रफीपछि कप्तानी छाडेपछि ब्रुकले नेतृत्व पाएका हुन्।
२६ वर्षीय ब्रुक अघिल्लो वर्षदेखि इंग्ल्यान्डको ह्वाइट बल उपकप्तान थिए र गत सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध बटलर अनुपस्थित रहँदा पाँच एकदिवसीय खेलको कप्तानी पनि गरिसकेका खेलाडी हुन्। अब उनले आधिकारिक रूपमा पहिलो पटक कप्तानको रूपमा वेस्ट इन्डिजसँग मेको अन्त्यमा हुने तीन टी-२०आई र तीन एकदिवसीय खेलहरूमा टिमको नेतृत्व गर्नेछन्।
ब्रुकले भने, ‘इंग्ल्यान्डको कप्तान बन्नु ठूलो सम्मान हो। म बाल्यकालदेखि नै यर्कशायरका लागि खेल्ने, इंग्ल्यान्ड प्रतिनिधित्व गर्ने र एक दिन टिमको नेतृत्व गर्ने सपना देख्थेँ। आज त्यो सपना पूरा भएको छ।’
२०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ब्रुक सबै फर्म्याटमा इंग्ल्यान्डका प्रमुख खेलाडी बनेका छन्। टेस्ट क्रिकेटमा उनी अहिले विश्वमा दोस्रो नम्बरका ब्याट्सम्यान हुन्, जसमा उनका टिममेट जो रुट मात्र अगाडि छन्। उनले पाकिस्तानविरुद्ध मुल्तानमा ३१७ रनको उत्कृष्ट पारी खेलेका थिए।
प्रतिक्रिया 4