
२५ चैत, काठमाडौं । ट्रेड टावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ ।
कम्पनीले अंकित मूल्य १ सयमा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासनको लागि अनुमति पाएको हो ।
कुल पूँजीमा ४८ प्रतिशत साधारण सेयर कम्पनीले निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । यो कम्पनी अन्य समूहमा सूचीकृत हुनेछ ।
के हो कम्पनीको बिजनेस ?
यस कम्पनीले हाउजिङसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । सुरुमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा सञ्चालन हुन थालेको हो ।
काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जग्गा ३२ वर्षका लागि भाडामा लिएर कम्पनीले सो भवन निर्माण गरेको हो । सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो । भवन सञ्चालनको १२ वर्ष बितिसकेको छ ।
त्यस्तै भैंसेपाटीमा जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ । कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ । ९० वटा लक्जरियस रुम रहेको होटलबाट हुने कमाइ यस कम्पनीको आम्दानी स्रोत हो ।
प्रतिक्रिया 4