
२५ चैत, काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूको आन्दोलनमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ऐक्यबद्धता जनाएका छन् ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई काममा फर्कनका लागि अनुकुल वातावरण बनाइदिन सरकारसमक्ष माग गरेका छन् ।
साथै, विगतमा संविधानका व्यवस्थालाई बेवास्ता गरेर भएका कतिपय सम्झौता र समझदारी नै समस्याको कारक भएको निष्कर्ष उनीहरूले सुनाएका छन् ।
संविधानले नै माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको दायित्व रहेको विषय विज्ञप्तिमार्फत पुनः स्मरण पनि गराइएको छ ।
‘संविधानले माध्यमिक तहसम्म विद्यालय शिक्षा स्थानीय सरकारको दायित्व रहेको पुनः स्मरण गराउँदै विगतमा संविधानका व्यवस्थालाई बेवास्ता गरी गरिएका कतिपय सम्झौता र समझदारी नै समस्याको कारक भएको हाम्रो निष्कर्ष छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी भर्ना अभियान तथा नयाँ शैक्षिक सत्र सुरुवात, एसईईको उत्तरपुस्तिक परीक्षण लगायतका कार्य रोकिएकोप्रति सरकारको ध्यानाकर्षण विज्ञप्तिमार्फत गराइएको छ ।
प्रतिक्रिया 4