२५ चैत, काठमाडौं । फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली बक्सिङ टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
यही अप्रिल ११ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ५ र बक्समान्डुबाट ३ गरी कूल ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपालसँगै आयोजक भुटान, भारत र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबाट पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती तथा ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले खेल्ने छन् ।
अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन, आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
बक्समान्डुबाट पनि ३ खेलाडी
सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि ३ खेलाडी सहभागी गराउने भएको छ । बक्सिङका महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले खेलाडी सहभागी गराउन लागेको जानकारी दिए ।

बक्समान्डुबाट पुरुष ५१ केजीमुनि लक्ष्मण राई, ५७ केजीमुनि प्रवल उप्रेती र ६० केजीमुनि छिरिङ वाङ्दी शेर्पाले प्रतिस्पर्धा गर्नेछ छन् । टिम प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन् ।
बक्समान्डु टोली पनि सोमबारै भुटान प्रस्थान गरेको छ । दुवै टोली प्रतियोगिताअघि थिम्पुमै अप्रिल ८ देखि १० तारिखसम्म हुने प्रशिक्षण शिवीरमा सहभागी हुने छन् ।
प्रतिक्रिया 4