
२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेट्न पुगेका थिए ।
सो भेटका क्रममा धरानवासीलाई खानेपानी पुर्याउने प्रक्रिया अघि बढेको बारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्ध लगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ ।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।
यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिलसाइट बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया 4