
२५ चैत, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकता प्रक्रिया चल्दैगर्दा अध्यक्ष रञ्जिता श्रेष्ठ असन्तुष्ट देखिएकी छन् । मधेस र थारू क्लस्टरका दुई पार्टीबीच एकता टुंग्याउन आइतबार भएको सहमतिको खाकाप्रति उनी असन्तुष्ट देखिएकी हुन् ।
दुई दलको एकतापछि पार्टीका कार्यकारी नेतृत्व गर्नेगरी अध्यक्ष डा. सीके राउत हुने सहमति बनेको छ । सहअध्यक्ष रञ्जिता हुने र उनी पार्टी वरीयतामा तेस्रो स्थानमा हुने गरी सहमति गरिएको छ । एकीकृत दलमा संरक्षक रेशम चौधरी हुनेछन् ।
पार्टी वरीयतामा रेशम पहिलो स्थानमा हुने गरी दुई दलले सहमति गरेका छन् । दुई दल एकता हुँदा रञ्जिताको कार्यकारी पद गुम्ने अवस्था बनेको छ । एकीकृत दलमा भेगीय तरिकाले भूमिका प्रदान गर्दा रेशम र सीकेलाई दिइएको छ भने रञ्जितालाई तोकिएको छैन । चितवन पूर्वको पार्टी काम सीके र पश्चिमको रेशमलाई जिम्मेवारी दिइएको छ ।
पार्टीमा आफ्नो लागि तय गरिएको पद र वरियताप्रति रञ्जिताले असन्तुष्टि सामाजिक सञ्जाल मार्फत पोखेकी छन् । एकतामा आफ्नो अवमूल्यन भएको आशयको स्टाटस उनले व्यक्त गरेकी छन् । ‘मैले रुख जस्तै बन्छु मात्रै के भनेको थिएँ । आफन्तहरु र साथिभाईहरु त बञ्चरोमा धार लगाउन थालेछन,’ रञ्जिताले सोमबार फेसबुकमा लेखिन्, ‘यदि रुख काट्नै लाग्नुभयो भने पनि ख्याल गर्नुहोला । काटेको रुख तपाईकै टाउकोमा पनि पर्न सक्छ ।’
यद्यपि अनलाइनखबरसँग कुरा गर्ने क्रममा रञ्जिताले फेसबुकको स्टाटसलाई राजनीतिक सन्दर्भसँग जोडन आवश्यक नरहेको जिकिर गरिन् । उनले पार्टीभित्र छलफल र समन्वयमै विषयहरु अघि बढेको भन्दै वार्ता कार्यदलले गरिरहेको छलफललाई आफूले सकारात्मक भावबाटै प्रोत्साहन गरेको बताइन् ।
‘दुई पार्टी मिल्दा दुवै पक्षमा केही न केही त्यागको भावना त देखिनै पर्छ, हाम्रोमा पनि त्यो देखिन्छ,’ रञ्जिताले भनिन्, ‘पार्टीमा साथीहरुको कतिपय भावनाहरु छन्, जसलाई माइनस गरेर त जान सकिँदैन । यसको मतलब कुरा मिलेको छैन भन्ने होइन ।’
जनमत र नाउपाको एकता प्रक्रियामा रञ्जितालाई कहिँकतै सहभागी गराइएको थिएन । जनमतका अध्यक्ष डा. सीके र नाउपाका संरक्षक रेशमबीचमा पटक पटक संवादपछि दुई दल एकताका लागि तयार भएका थिए ।
जनमतका अध्यक्ष सीके, नाउपा संरक्षक रेशमले दुई दलको बैठक बस्नुअघि र पछि तस्वीर सार्वजनिक गरेका तस्वीरमा रञ्जिता देखिएकी छैनन् । सामूहिक तस्वीरमा सीके र रेशम सहित कार्यदलका सदस्यहरु थिए ।
नाउपाका नेताहरुको दाबी अनुसार तस्वीरमा रञ्जिता नदेखिए पनि बैठकमा भने उनी सहभागी थिइन् । रञ्जिताको असन्तुष्टि बारे उनी निकट सुदूरपश्चिमका प्रदेश सांसद कैलाश चौधरीले भने,‘हामीले पार्टीले गरेको निर्णय मान्ने हो । अध्यक्षको कुरा मलाई थाहा भएन ।’
विगतमा नाउपाभित्र संरक्षक रेशम र रञ्जिताको विवाद निर्वाचन आयोग, संघीय सरकार, प्रदेश सरकार हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । जेलबाट रिहा भएपछि अध्यक्ष हुने इच्छा गरेसँगै सुरु भएको पारिवारिक झगडाको असर दलमा समेत परेको थियो ।
रेशमले कर्तव्य ज्यान मुद्धामा पाएको नभई माफी पाएको तर्क गर्दै रञ्जिताले अध्यक्षको पदमा अडान कायमै राखिन् । जेलबाट निस्केर रेशम नाउपाको प्रथम महाधिवेशनबाट अध्यक्ष चयन भए । रेशम र रञ्जिताको विवाद महाधिवेशन हल देखि सार्वजनिक मञ्चमै देखिएको थियो । महाधिवेशनबाट अध्यक्षमा रेशम चयन भए पनि श्रीमती रञ्जिता अध्यक्ष पद छोड्न तयार भइनन् ।
रेशमलाई निर्वाचन आयोगको निर्णयले पछि फर्कन वाध्य बनायो । पार्टीको निर्वाचित अध्यक्षको दाबी गर्दै निर्वाचन आयोग पुगेका रेशमको पक्षमा आयोगले निर्णय गरेन ।
श्रीमान र श्रीमतीको झगडाको असर संघ र प्रदेश सरकार गठनको बेलामा समेत देखियो । संसदीय दलको नेतामा एकले अर्कालाई हटाउने कार्य समेत भएको थियो । विवाद बढ्दै जाँदा संसदीय दलको नेता परिवर्तन समेत भएको थियो । संसदीय दलको नेता रहेकी रञ्जितालाई हटाएर गंगाराम चौधरीलाई बनाइयो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने/नदिनेमा पनि जनमतमा रेशम र रञ्जिता वीच विवाद भएको थियो । एमाले–माओवादी समीकरणमा बनेको सरकारलाई विश्वासको दिनुपर्ने पक्षमा रञ्जिता थिइन् भने विपक्षमा रेशम थिए ।
परिवारिका दुई सदस्यको विवादको असर सुदूरपश्चिम सरकारमा बनाउने क्रममा समेत देखिएको थियो । सुदूरपश्चिममा सात सांसद रहेको नाउपामा रेशम र रञ्जिताको विवादले संसदीय दलको नेता चयन गर्ने र हटाउने कार्य भएको थियो । रञ्जिताले कैलाश चौधरीलाई दलको नेताको मान्यता दिएकी थिइन् भने बहुमत सांसदले घनश्याम चौधरीलाई हटाएर खुसीराम डगौंरालाई बनाएका थिए ।
प्रतिक्रिया 4