
२५ चैत, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफ्नो अनुपस्थितिमा कामकाज गर्नेगरी वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका छन् । मंगलबारबाट ९ दिनका लागि चीन भ्रमणमा जाने भएपछि सोमबार माझीले वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।
आफूलाई शुभयात्रा पनि नभनेको भन्दै उनले उपाध्यक्ष गुणवतीदेवी थारुलाई छाडेर वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन् । यसअघि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूलाई शुभयात्रा पनि नभनेको भन्दै उपमेयरलाई छाडेर वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।
गत मंसिरमा भएको उपनिर्वाचनमा माझी माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । माझीले कार्यवाहक दिएका भगत पनि माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । भगतले आफूले कार्यवाहकको जिम्मेवारी पाएको बताए ।
चीन जानका लागि सोमबार कार्यालयबाट बिदा भएका पालिका अध्यक्षलाई उपाध्यक्ष थारुले शुभयात्रा पनि नभएको भगतले बताए । ‘उहाँले बधाई पनि दिनुभएन, शुभकामना पनि दिनुभएन,’ उनले भने, ‘आज बैठक (बिदाइ) थियो आउनुभएन ।’
पालिका उपाध्यक्ष थारुले अध्यक्षको बिदाइका बारेमा आफूलाई खबर नआएको बताइन् । कार्यालयबाट दिउँसो काम विशेषले विराटनगर आएको बताउँदै उनले भनिन् ,‘उहाँ जाँदै हुनुहुन्छ भन्ने मलाई के थाहा ? मलाई खबर नै थिएन ।’
पालिकामा अध्यक्ष र उपाध्यक्षबीच सम्बन्ध राम्रो छैन । कार्यकक्ष नजिकै भएपनि उनीहरुबीच बोलचाल औपचारिकतामा मात्रै सीमित छ । उपाध्यक्षसँग सम्बन्ध राम्रो नभएपछि अध्यक्ष माझीले आफ्नै पार्टीका वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका हुन् ।
पालिका अध्यक्ष माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि ९ दिने चीन भ्रमणमा जाँदैछन् ।
कानुनतः अध्यक्षले आफ्नो अनुपस्थितिमा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्छ । तर वडाध्यक्षलाई जिम्मेवारी दिएपछि उपाध्यक्ष थारु भने अदालत जाने तयारीमा रहेको बताइन् ।
यसअघि कार्यपालिकाको निर्णयविरुद्ध उनले अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।
प्रतिक्रिया 4