+
+
Shares
भिडियो रिपोर्ट :

काठमाडौंमा बस्नै गाह्रो भो !

बसुन्धाराका स्थानीय दुर्गाराज घिमिरे अस्तव्यस्त निर्माण र सवारीसाधन कुदाउँदा प्रदूषण थेगिनसक्नु नभएको बताउँछन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ चैत २५ गते २२:०७

२४ चैत, काठमाडौं । बनस्थलीका शुभराजा महर्जनलाई अहिले स्वास्थ्य समस्या छ । अस्पताल जाँदा उनलाई वायु प्रदूषणका कारण आँखामा एलर्जी देखायो । उनी उपचार गर्न जाँदा आफू जस्तै धेरै जनालाई पनि समस्या देखे ।

‘अस्पताल जाँदा म मात्रै होला भनेको त म जस्ता १०–१२ जनालाई पनि त्यही समस्या देखायो, डाक्टरले बाहिरको वातावरण खराब छ, त्यसकारण पनि सबैलाई यही समस्या देखापरेको भने, अहिले बाहिर निस्किन डरलाग्दो भएको छ,’ उनी सुनाउँछन् ।

उनी जस्तै रिता गौतम पनि वायु प्रदूषणले अवस्था डरलाग्दो भएको बताउँछिन् । ‘सरकारले बाटो आधा खनेर छाडेको छ । त्यहीँबाट धुलो उडेर सहर धुलाम्य भएको छ । यसमा न कसैको चासो छ, न चिन्ता,’ उनले सुनाइन् ।

ललितपुर बालकुमारीमा पुस्तक पसल समेत सञ्चालन गर्ने उनी जलवायु परिवर्तनको समस्याले वायु प्रदुषण भएको भन्दै हल्ला गर्ने गरे पनि बालकुमारी पुलमुनिको खाल्डो २ वर्षदेखि यत्तिकै रहेको बताउँछिन् । ‘यहीँको धुलोले यो क्षेत्र नै प्रदूषित भएको छ,’ उनले भने ।

त्यसैगरी बालाजुमा किराना पसल गर्ने सिर्जना केसी चक्रपथको धुलोले व्यवसाय चौपट भएको बताउँछिन् । ‘अब त स्वास्थ्य पनि चौपट भयो,’ उनी थप्छिन्, ‘अहिले निसासिएर बस्नुपरेको छ । आँखा पोल्ने, घाँटी खसखसाउने समस्या छ । दुई वर्षदेखि धुलो खाएर बसेका छौं । अहिले त झन् बाहिर निस्किनै नसक्ने भइसकेको छ ।’

उनी थप्छिन्, ‘सरकार भए जस्तै लाग्दैन, यत्रो मेन चोक अगाडि भद्रगोल गरेर राखेको छ । मर्ने त हामी गरिब जनता नै हो । धनीमानी, सरकारका हाकिम, मन्त्रीहरू एसीवाला गाडीमा हिँड्छन्, उनीहरूलाई हाम्रो के वास्ता ?’

उनले पसलको भाडा नै तिर्न नसक्ने भएको भन्दै अब व्यापार नै बन्द गर्नुपर्ने स्थिति आएको बताइन् ।

बालाजुकै प्रकाश रजक अहिले स्वास्थ्यमा धेरै असर परेको बताउँछन् । ‘मेरो घरमा त बच्चा, बुढाबुढी छन्, जोगाउनै मुस्किल भइसक्यो । अहिले यही बाटो (रिङरोड) धुलाम्य नहुने भए पनि धेरै प्रदूषण कम हुन्थ्यो जस्तो लाग्छ । तर, यसमा कसले चासो दिने र ?,’ उनी भन्छन् ।

बानेश्वरमा भेटिएका पठाओ चालक विजयकुमार कुसवाह भन्छन् ‘अब पानी नपरुन्जेल काठमाडौं छाडेर रौतहट (घर) जानुपर्ने भइसकेको छ । यहाँ त आँखा, मुख खोल्ने बित्तिकै मर्लाजस्तो भइसकेको छ ।’

उनले बाटोमा हुने खाल्डो नै प्रदूषणको ठूलो कारण रहेको भन्दै सरकार कर लिने बेलामा मात्रै देख्ने भन्दै जनताको वास्ता नभएको गुनासो गरे ।

बसुन्धाराका स्थानीय दुर्गाराज घिमिरे अस्तव्यस्त निर्माण र सवारीसाधन कुदाउँदा प्रदूषण थेगिनसक्नु नभएको बताउँछन् ।

‘हाम्रो काठमाडौंको भूबनोट पनि यस्तै छ । तर, मुख्य कारण काठमाडौंको निर्माण अस्तव्यस्त नै हो । अहिले तीन वर्षदेखि सडक भत्काउने अहिलेसम्म नबनाउने अनि त्यहीँ गाडी कुदाउने त्यसले नै धुलो धेरै हुने वातावरण बनिरहेको छ । चक्रपथ हेर्दा त्यस्तै छ, करिडोरको सडक पनि त्यस्तै छ,’ घिमिरे भन्छन् ।

काठमाडौं किन धुम्म हुन्छ ?

काठमाडौं उपत्यकाको आकाश आज धुम्मिएको छ । आकाश धुम्मिएका कारण काठमाडौं उपत्यका आसपास क्षेत्र दिउँसै अँध्यारो जस्तो देखिएको छ ।

केही दिनयता काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा छ । यहीबीच ‘हाई क्लाउड’ र स्थानीय वायुका कारण आज काठमाडौं उपत्यका दिनभरि नै धुम्मिएर बसेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसम विज्ञ हरिप्रसाद दाहाल बताउँछन् ।

‘आज काठमाडौं उपत्यकाको आकाशमा हाई क्लाउड छ । त्यसमा पनि पोलुसन छ । जसका कारण आकाश धुम्मिएको हो । भोलि मंगलबारदेखि भने काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ,’ दाहालले अनलाइनखबरसँग भने ।

छिमेकी भारतमा देखिएको न्यून चापीय प्रणालीको असर नेपालमा पनि पर्ने सम्भावना रहेकाले भोलि, पर्सि र अर्को दिन पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको उनले बताए ।

विभागका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

तस्वीर/भिडियो:चन्द्रबहादुर आलेमगर

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?