+
+
Shares

अभूतपूर्व बिस्का जात्रा

केही इतिहासकारले बिस्का जात्रा विक्रम संवत् सुरु भएदेखि मनाउन थालिएको बताएका छन् भने कतिपयको अनुमान प्राचीन समयमा शिवदेव द्वितीयले यो जात्रा चलाएका हुन् भन्ने रहेको छ । यो हिसाबले यो जात्रा दुई हजार वर्ष अघि सुरु भएको मान्न सकिन्छ ।

खिमा ओली खिमा ओली
२०८१ चैत २६ गते ९:२०

भक्तपुरमा बिस्का जात्राको रौनक सुरु भइसकेको छ । चैत अन्तिम सातादेखि वैशाख पहिलो सातासम्म भक्तपुर बिस्का जात्रामय हुन्छ । यो जात्रामा हजारौं भक्तजन, पर्यटक सहभागी हुने भएकाले यसको मौलिकता, ऐतिहासिक, धार्मिक, सांस्कृतिक बहुआयामिक महत्व स्पष्ट हुन्छ ।

नेपाल पज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘नेपाल उपत्यकाका केही जात्रा’ पुस्तकका अनुसार बिस्काको धेरै कोणबाट परिभाषित गरिएको छ । विक्रम संवतको नव वर्ष प्रारम्भको चार दिन अगाडिदेखि बैशाख ५ सम्म चल्ने सम्भवतः काठमाडौं उपत्यकाकै एक लामो जात्रासूचीमा समावेश गरिएको छ । चैत्र महिना ३१ सम्म छ भने २८ देखि जात्रा सुरु हुन्छ र चैत्र महिना ३० सम्म छ भने २७ देखि जात्रा सुरु गर्ने प्रचलन छ । यस वर्ष चैत २८ देखि जात्रा सुरु हुने तिथि छ ।

‘यसलाई स्थानीय बोलीचालीमा बिस्का, बिसिकायात्रा, विश्वख्यालयात्रा, विश्वनाथको अनुहारको यात्रा, बिस्केटजात्रा आदि नामबाट सम्बोधन गरिन्छ । ‘वि–स्याको’ वा ‘वि–सि ख्वाट’ शब्दबाट ‘बिस्केट’ शब्द बनेको ठम्याइ छ । वि अर्थात् ‘सर्प’, र ‘स्याको’ अर्थात् मार्नु दुई शब्द मिलाएर वि ‘स्याको’ सर्पमार्नु अर्थ लाग्ने कतिपयको जिकिर छ’ प्रज्ञा प्रतिष्ठानको पुस्तक ‘बिस्का, बिसिका, बिस्केट’ शिर्षकको लेखमा भनिएको छ, ‘स्थानीय शब्दमा यसलाई कतै विसिका (वि ‘सर्प र सिका’ मरेपछि) भनिने त कतै विस्यात (लामो काठको लिङ्गो), विसिख्वाट (सर्प भएको लिङ्गो) भन्ने गरेको देखिन्छ । बिस्केट जात्रामा प्रमुख भूमिका रहेको नाग स्थानबाट यसको प्रागैतिहासिक अस्तित्व रहेको कुरालाई कतिपयले स्वीकार गरेका छन् ।’

प्रज्ञा प्रतिष्ठानका अनुसार नेपाली शब्द बिस्केटलाई नेवारीमा ‘बि सि खात’ भनिन्छ भने भक्तपुरका बासिन्दा यस जात्रालाई ‘बिसिकाय जात्रा’ (सर्प मारिएको उपलक्ष्यमा गरिने जात्रा) वा ‘बिसिका’ (वि अर्थात् ‘सर्प’,’ र ‘सिका’ अर्थात् मरेपछि) भन्ने अर्थ लगाउँछन् ।

‘कतिपयले ‘बिस्यात’ (लामो काठको लिङ्गो), ‘बिसिख्याठ’ (सर्प भएको लिङ्गो) पनि भन्दछन् । कसैले भने बिस्केटलाई ‘बि सिका’ शब्द अपभ्रंश हो भनेका छन् । यसको साहित्यिक अर्थ लगाउँदा विश्व झन्डाको अपभ्रंश पनि मानेका छन्’ प्रा.डा. विणा पौड्याल, प्रा.डा. डिल्लीराज शर्मा र प्रा.डा. गोपाल पोखरेल विवशले लेखेको पुस्तकमा भनिएको छ, ‘वर्षको अन्तिम दिन अर्थात् चैत्र मसान्तमा तौमढीटोलमा राखिने खट (भाजं खःचा) मा नाग वा अजिङ्गर वा सर्पदम्पतीको प्रतीकस्वरूप चित्र कोरिएको ‘हलिपतङ्ग’ (पताका वा ध्वजा दुईओटा) झुन्ड्याई लिङ्गोलाई उभ्याइन्छ । यसै समयमा चुपिंग (त्रिवेणी खोला) मा जात्रालुहरू नागदम्पतीको मलामी गएको हुँदा आशौचबाट मुक्त हुने भाव–शैलीमा भजनगीत गाउँदै मुख, आँखामा पानीले पखाल्ने वा स्नान गर्न व्यस्त रहन्छन् ।’

पहिले पहिले भद्रकालीको रथयात्रा मात्र हुन्थ्यो । अलि केही समयपछि भैरवको सुरु भएको हो । भैरवसम्बद्ध अनुश्रुतिअनुसार तिनको टाउको काटिई मूर्ति स्थापना गरिएपछि कालान्तरमा यो घटनालाई पनि बिस्काजात्रासँग मिलाइएको विज्ञहरुले बताएका छन् ।

यो नौ दिनसम्म चल्ने भएकाले भक्तपुर नगरमा त्यस अवसरमा जात्रैजात्रा देखिन्छ । हरेक टोलमा स्थानीयहरु बाजागाजा, पूजाआजामा अति नै व्यस्त हुन्छन् । बिस्काका मुख्य आकर्षण रथ यात्रा, लिङ्गो उभ्याउने र ढलाउने समारोहलाई मानिन्छ ।

यो जात्रामा श्री भैरवनाथ तथा भद्रकाली देवी देवतालाई विभिन्न काठ तथा बेतबाट निर्माण गरिएको प्यागोडा शैलीको कलात्मक रथमा राखी नगर परिक्रमा गराइन्छ ।

रथ निर्माणको आफ्नै लामो इतिहास छ । जात्रा सुरु भएदेखि नै रथ यात्रा सुरु भएको मानिन्छ । बिस्का जात्रा र रथको ‘नङ मासु’ जस्तो अटुट सम्बन्ध छ । रथको पाङ्ग्रा, धुरा, चुकुलका लागि तराईका जिल्लाबाट सान्दान र अन्य झ्याल, ढोका, गल अग्राख (साल) जातको काठ ल्याएर बनाइन्छ । त्यस्तै रथको अग्रभागमा रहने बेतासी चिलाउने जातको काठ भक्तपुरको सूर्यविनायक जंगलबाट ल्याइन्छ ।

तीन तले रथको छाना पित्तलको पाताबाट तयार गरिन्छ । रथको झ्याल ढोकामा पौराणिक कला कुदिएको हुन्छ । रथ निर्माणका लागि शिल्पकारको महत्वपूर्ण भूमिका छ । केही वर्षयता बिस्काको रथ बनाउने जिम्मा प्रेमलाल शिल्पकारलाई छ । रथ निर्माणमा उनको पुस्ताको लामो इतिहास जोडिएको छ । रथलाई रंगरोगन गरी सजाउने काम चित्रकार समुदायले गर्दै आएको छ ।

रथको अग्रभागमा रहेको ४० हाते लामो बेतासीमा भैरवका बाहनको रूपमा राज हुने सबैभन्दा अगाडि घुमाउरो काठको माथिल्लो भागमा बेताल देउता सिंगारिएर राखिन्छ । रथ बलियो बनाउन भनेर बेतले बाँध्ने परम्परा छ । रथलाई बलियो गरी बेत बाँध्ने काम भक्तपुरका मानन्धर समुदायले गर्दै आएका छन् ।

रथ निर्माणका क्रममा नेपालमा पर्याप्त बेत नपाइने भएकाले भारतबाट ल्याइन्छ । जात्रा सकिएपछि देउता निकालेर द्योक्ष घरमा राखिन्छ । जात्रा सकिएपछि साइत हेरेर बिचा पूजा गरी रथ भत्काउने चलन छ । फेरि अर्को वर्षको बिस्का जात्राका लागि नयाँ रथ निर्माण गरिन्छ ।

गुठी संस्थानबाट मुख्य गरी बिस्काको रथका लागि काठ, बेत, डोरीलगायतका अन्य आवश्यक सामग्री व्यवस्थापन गरी रथ निर्माण गरिन्छ ।

बिस्का जात्रा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र वैज्ञानिक तथ्य र आधार भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्व छ । बिस्का जात्राको पहिलो दिन श्री भैरवनाथ र श्री भद्रकालीको पूजा गर्ने, बेताल पूजा गर्ने, तलेजुका राजोपाध्यायलाई खड्क बुझाउने, भैरव र भद्रकालीलाई रथको अग्र भागमा विराजमान गराउने र होस्टे…हैंसे… गर्दै रथ तान्ने काम हुन्छ ।

बिस्कामा श्री भैरव र श्री भैरवीको जात्रा मात्र नभई भक्तपुर नगर भित्रका टोलटोलमा हुने अन्य देवी देवताका जात्रा पनि मिसिन्छन् । केही इतिहासकारले बिस्का जात्रा विक्रम सम्वत सुरु भएदेखि मनाउन थालिएको बताएका छन् भने कतिपयको अनुमान प्राचीन समयमा शिवदेव द्वितीयले यो जात्रा चलाएका हुन् भन्ने रहेको छ । यो हिसाबले यो जात्रा दुई हजार वर्ष अघि सुरु भएको मान्न सकिन्छ ।

पहिले दुवैतिर तानातान हुँदैनथ्यो । रथको पछाडितर्फको डोरीले सन्तुलन मिलाउनलाई र रथको गति नियन्त्रण गर्न अगाडि र पछाडि डोरी प्रयोग हुने गर्थ्यो तर केही समययता दुई पक्ष (तौमढी स्थानदेखि माथि र तल्लो टोल) बीच रथ तानातान गर्ने प्रतिस्पर्धा हुँदै आएको छ ।

बिस्का जात्राको अघिल्लो दिन राजाको प्रतीक मानिने खड्क हनुमान ढोकाबाट ल्याई भक्तपुर सल्लाघारी च्वाँगा गणेशस्थानमा विधिपूर्वक पूजा गरिन्छ । त्यसपछि बाजागाजा सहित खड्क बोकी तलेजु मन्दिर परिक्रमा गरी पाँचतले भैरव मन्दिर हुँदै गुठी कार्यालयमा खड्क भित्र्याइन्छ ।

बिस्का जात्राको पहिलो दिन, चौथो दिन, पाँचौं दिन र नवौ दिन भैरवनाथ तथा भद्रकाली देवी देवतालाई विभिन्न काठ तथा बेतबाट तयार भएको रथमा राखी उक्त रथलाई डोरीले तानेर नगरका बिभिन्न टोलमा परिक्रमा गराइन्छ ।

रथ तानेर लगिने अन्तिम बिन्दु भक्तपुर नगरको गाःहिटी हो । चैत्र मसान्तको दिन गाःहिटीबाट भेलुखेल रथ लगिन्छ । रथ पुगेपछि मात्र लिङ्गो उभ्याइन्छ ।

बैशाख १ गते नव वर्षको दिन विधिपूर्वक लिङ्गो ढालिसकेर पुनः रथलाई गाःहिटी पुर्‍याइन्छ । बैशाख ५ मा गाःहिटीबाट जसले सक्छ, त्यही टोलमा रथ लगिन्छ । बाँकी पाँच दिन परम्परा बमोजिमका पूजाआजा, भजन किर्तन, खटजात्रा, जोगी चक्र पूजा आदि हुने गर्छन् ।

यो जात्राको पहिलो दिन र अन्तिम दिनमा दुई टोल (माथिल्लो टोल र तल्लो टोल)का बासिन्दाले दुई विपरीत दिशामा रथ तानातान गर्ने अनौठो र अचम्मको विशेषता रहेको छ । रथको अगाडितर्फ पाँच वटा डोरी र पछाडितर्फ चार वटा डोरी बाँधिएको हुन्छ ।

वास्तवमा पहिले दुवैतिर तानातान हुँदैनथ्यो । रथको पछाडितर्फको डोरीले सन्तुलन मिलाउनलाई र रथको गति नियन्त्रण गर्न अगाडि र पछाडि डोरी प्रयोग हुने गर्थ्यो तर केही समययता दुई पक्ष (तौमढी स्थानदेखि माथि र तल्लो टोल) बीच रथ तानातान गर्ने प्रतिस्पर्धा हुँदै आएको छ ।

स्थानीय बुढापाकाहरुको भनाइ अनुसार रथलाई दुईतिर तानातान गर्ने प्रतिस्पर्धा भएदेखि कहिलेकाही झडपको स्थिति उत्पन्न हुन थालेको छ । दुई समूहले दुवैतिर तान्ने भएका कारण कहिलेकाहीँ तनाव सिर्जना पनि हुने गर्छ र जसले जित्छ रथ उतै गुड्छ । हरेक वर्ष बिस्का जात्रामा झडप नहोस् भनेर शान्तिपूर्ण तरिकाले जात्रा सम्पन्न गराउनमा सुरक्षा निकायले निकै चनाखो र सजगता अपनाउँदै आएको छ ।

भेलुखेलमा उठाइने लिङ्गो सूर्यविनायक चितापोल नाला वनबाट ल्याइन्छ । बिस्काको अर्को महत्वपूर्ण दिन ५५ हात लामो लिङ्गो चैत मसान्तमा भेलुखेलमा उभ्याउने र बैशाख १ गते ढलाउने चलन छ । यो लिङ्गोमा नाग–नागिनीको प्रतीक स्वरुप दुईवटा हलीपतङ्ग झुण्ड्याइन्छ । लिङ्गोलाई देउताको रुपमा टाउको, हात, नाकको आकार देखिने बनाई ४० मिटर लामो नीलो कपडाले बेरिन्छ ।

चैत्र मसान्तको दिनलाई लिङ्गो उभ्याउने जात्रा भनिन्छ । लिङ्गो उभ्याउँदा र ढाल्दा बिभिन्न बाजागाजा र प्रहरी ब्याण्ड बाजा समेत बजाउने प्रचलन छ । त्यसदिन भद्रकालीमा राँगो बली दिने, लिङ्गोमा हात–टाउको बनाउने, लिङ्गो उठाउन आवश्यक सामाग्रीहरु धागोको डोरी कपडा आदि भेलुखेल पुर्‍याइन्छ । यो समारोहमा हजारौं भक्तजनको सहभागिता रहन्छ ।

भक्तपुरको बोलाँछेस्थित कुमाले टोलमा बिहान ४० हात लामो लिङ्गो उभ्याउने कार्यक्रम हुन्छ । यो लिङ्गो अर्कोभन्दा फरक हुन्छ र यसलाई हात नबनाई उभ्याइन्छ ।

‘विधिपूर्वक लिङ्गो उभ्याउने र फेरि विधि पुर्‍याएर नै ठूलो आवाज र गड्गडाहट तालीबिच लिङ्गो ढाल्दै खराब र कुतत्त्वको विनाश, कल्याणकारी कार्य गर्नेको स्मृति एवम् नव वर्ष साथसाथ शान्ति–समृद्धिको परिकल्पना गर्ने धार्मिक परिवेशप्रभावी पर्व भएको’ अनुसन्धानकर्ताहरुको भनाइ छ ।

चैत्र मसान्तमा लिङ्गो उभ्याउने र नयाँ वर्षको दिन अर्थात बैशाख १ गते विधि र परम्परा अनुसार ढलाइन्छ । उक्त दिन गुठी संस्थानले गोरखनाथका कानफट्टा जोगीहरुको सहयोगमा विधिपूर्वक राँगा, बोका, कुखुरा आदिको बली दिई जोगीचक्र पूजा गर्छ ।

सोही दिन इन्द्रायणी देवतालाई खटमा राखी नगरपरिक्रमा गर्ने प्रचलन छ । वैशाख २ मा ज्याठा गणेश र श्वेत भैरवको रथयात्रा गर्ने प्रचलन छ ।

वैशाख ५ गते बिस्का जात्राको अन्तिम दिन हो । भैरव र भद्रकालीको पूजा सम्पन्न गरी बाजागाजा सहित अपराह्नतिर तलेजुका पुजारीलाई खड्क बुझाई भैरवनाथलाई गाःहिटी ल्याई रथमा राखेर तानिन्छ । रथ तौमढी भैरवनाथ मन्दिर अगाडि पुगेपछि भैरवनाथ मन्दिरमा भित्र्याई विधि र परम्परा अनुसार जात्रा समापन गरिन्छ ।

बिस्केट जात्रा भक्तपुर नगरभित्रका विशेषगरी नेवार समुदायले मनाउने गर्दछन् । परम्परागत विधिले निर्माण गरिएको श्रीभैरव र भद्रकालीको रथ तौमडीस्थित पाँच तले मन्दिर प्रांगनबाट क्वाँछे, कुमारीपाटी, साकोथा, सुकुलढोका, गोलमडी, गाःहिटी, भेलुखेल क्षेत्रसम्म तानेर पुर्‍याउने चलन छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको ‘नेपाल उपत्यकाका केही जात्रा’ पुस्तकका अनुसार विश्वनाथ एवम् भैरवनाथ तथा शिवशक्तिका प्रतीकका रूपमा पनि लिइन्छ । ‘नाग–नागिनी, विश्वनाथ भैरव, भद्रकालीको प्रतीक मान्दै नयाँ वर्षको मुहूर्तमा देशकै शान्ति–शुभेच्छा प्रकट गरिने जात्रामा पनि यसलाई लिइन्छ । बिस्केटजात्रा पर्यवेक्षण गर्न तीनै लोकबाट देवी–देवतासमेत आउने जनविश्वास छ’ पुस्तकमा भनिएको छ, ‘बिस्केट हेर्दा शत्रु नाश हुने हुँदा शत्रुहन्ता तथा सहकालका प्रतीकको रूपमा पनि रहेको छ । मौलिकता खण्डित नभएको र सहभागितामा कमी नआएको जात्रा सूचीमा यो अग्रस्थानमा छ । संयम र सामञ्जस्यता साथ पुर्खाको सांस्कृतिक विरासत संरक्षणमा अग्रसरता, बढ्दो आकर्षण र जनसागरको जात्रा नै हो यो बिस्केटजात्रा ।’

बिस्का जात्रालाई सहकालका देवताका प्रतीक तथा शत्रुहन्ता जात्रा पनि भनिने हुँदा जीवनमा एकपल्ट हेर्नैपर्छ भन्ने भनाइ रहेको छ । त्यसैले बिस्का रथ तान्न, लिङ्गो उभ्याउँदा र ढालेको हेर्न काठमाडौं उपत्यका र बाहिरबाट हजारौं भक्तजन र पर्यटक सहभागी हुन्छन् ।

यस वर्ष यो जात्रा चैत्र २८, ३१, बैशाख १, २ र ५ गते विशेष रुपमा मनाउँदै ९ दिनसम्म निरन्तर जारी रहन्छ । जात्रा सम्पन्न गर्न सबै निकाय र समुदायको आआफ्नो भूमिका रहन्छ । खासगरी बिस्केट जात्रा भक्तपुरका स्थानीयको मौलिक, सांस्कृतिक, धार्मिक जात्रा भएकाले यसलाई विशेष पर्वका रुपमा महत्व दिइन्छ ।

लेखक
खिमा ओली

ओली गुठी संस्थान भक्तपुरकी प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?