+
+
Shares

एक पटक कम्युनिस्टहरू विभाजित भए भन्दैमा फेरि एकता असम्भव भनेर नसोचौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १२:४४

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन् ।

मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ माक्र्सवादी सोचाइ हुन सक्दैन । त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन,’ प्रचण्डले भनेका छन् ।

यसअघि पटक पटक कम्युनिस्ट एकताका प्रयास भए पनि सोचेजस्तो हुन नसकेको भन्दै उनले त्यसबाट शिक्षा लिनुको विकल्प नभएको जिकिर गरे ।

‘कम्युनिस्ट एकताका प्रयास नभएका होइन । कहिले त्यो सफलजस्तो कहिले असफलजस्तो हुने गरेका छन् । पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बीचमा एकताका प्रयास भए । एकता भयो पनि । सबैले अनुमोदन पनि गरे,’ प्रचण्डले भनेका छन्, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौं वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौं । हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन ।’

वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने भन्दै उनले एकताको झण्डा छाड्न नहुने तर्क पेस गरे ।

‘वामपन्थी एकताको लागि निरन्तर लाग्नु नै छ । हामी विभाजित पनि भयौं । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं,’ प्रचण्डले भने, ‘तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं । अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ । एकताको झण्डा छाड्नु हुँदैन भन्ने कुरामा प्रष्ट छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?