+
नेपाली क्रिकेट टोली :

नेपाली क्रिकेट टोली हङकङमा, टी-२० विश्वकपलक्षित तयारीको सुरुवात

२०८१ चैत  २६ गते १६:४६ २०८१ चैत २६ गते १६:४६

आयोजक हङकङसँगै नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगिता सिंगल राउण्ड रोबिन लिगपछि शीर्ष २ हुने टिम फाइनल खेल्ने छन् ।

नेपाली क्रिकेट टोली हङकङमा, टी-२० विश्वकपलक्षित तयारीको सुरुवात

२६ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली पाँच महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै छ । बुधबारदेखि हङकङमा चार देश सम्मिलित टी-२०आई क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

आयोजक हङकङसँगै नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगिता सिंगल राउण्ड रोबिन लिगपछि शीर्ष २ हुने टिम फाइनल खेल्ने छन् । यी सबै टोलीहरूसँग नेपाल पहिले पनि खेलिसकेको छ ।

विशेषगरी यस वर्ष (२०२५)मा नेपाली क्रिकेटका लागि महत्वपूर्ण शृंखला तथा प्रतियोगिताहरूले पर्खिरहेकै छन् । दुई फर्म्याटमा हुने महत्वपूर्ण खेलहरूका लागि नेपाल क्रिकेट संघ (क्यान)ले तालिका पनि सार्वजनिक गरेको छ जहाँ तयारीका लागि पनि थुप्रै शृंखलाहरू तय छन् ।

यसै वर्ष हुने आईसीसी टी२० विश्वकप छनोटको तयारीस्वरूप पहिलो शृंखलाका रूपमा हङकङमा टी२०आई प्रतियोगिता हुँदैछ र त्यसका लागि केही परिवर्तित अनुहारसहित टिम घोषणा भएको छ ।

कप्तान रोहित पौडेलसहित अन्य खेलाडीहरू पनि अब फेरि व्यस्त सेड्युलमा फर्किएर महत्वपूर्ण खेलहरू खेल्न पाउँदा उत्साहित छन् ।

५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै

नेपाली क्रिकेट टोलीले पछिल्लोपटक नोभेम्बरमा अमेरिका र स्कटल्याण्डविरुद्ध आईसीसी विश्वकप लिग २ को शृंखला खेलेको थियो । त्यसको केहीदिनअघि टी-२०आई शृंखला पनि खेलेको थियो।

त्यहाँबाट नेपालले अब पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्दै छ । यसबीचमा नेपालमा फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग तथा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता भएको थियो ।

विभिन्न घरेलु प्रतियोगिताहरू खेलेपछि राष्ट्रिय खेलाडीहरू अब राष्ट्रिय टोलीको ड्युटीमा फर्कँदै छन् । यस शृंखलाका लागि केही खेलाडी विविध कारणले बाहिर रहँदा केहीको पुनरागमन र पहिलोपटक पर्ने पनि छन् ।

बसिर अहमद, लोकेश बम र शाहब आलमले टोलीमा पुनरागमन गरेका छन् भने नन्दन यादव टी-२०आई टोलीमा पहिलोपटक परेका छन् ।

कप्तान रोहित पौडेलले टोली सन्तुलित भएको र यस शृंखला जितेर फर्कने बताए । ‘अहिले टिमको रूपमा निकै सन्तुलित छ जस्तो लाग्छ, केहीले कम्ब्याक पनि गर्नुभाको छ, विश्वकपका लागि राम्रो तयारी हुन्छ, राम्रो खेल्ने छौं,’ रोहितले भने ।

हङकङबाट विश्वकप तयारीको सुरुवात

आगामी वर्ष हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि यसै वर्षको अक्टोबरमा एसिया र इस्ट एसिया पेसिफिक छनोट हुँदै छ । उक्त छनोटअघि नेपालले तयारीस्वरूप देशबाहिर गएर पनि विभिन्न शृंखला तथा अभ्यास खेल खेल्ने तय छ ।

त्यसैको सुरुवाती चरणका रूपमा हङकङको यस प्रतियोगिता हुनेछ । यस प्रतियोगिता छोटो भएपनि टी-२०आई क्रिकेटमा केही समयको अन्तरपछि फर्कँदा वार्मअपको रूपमा पनि रहनेछ ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यस शृंखलाका लागि नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका छन् । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो प्रशिक्षण अनुभव हुनेछ ।

नेपालमा भएको घरेलु पीएम कप क्रिकेटपछि ५ दिनको अभ्यास गरेको टोली छोटो तयारीका बाबजुद प्रतियोगिता जितेर फर्कने लक्ष्यमा हुनेछ । कप्तान रोहितले पनि तयारी छोटो भएपनि राम्रो भएको बताउँदै अहिलेलाई योजनाहरू कार्यान्वयन गर्नु नै मुख्य लक्ष्य हुने उल्लेख गरे ।

‘अहिलेको मुख्य भनेको चाहिँ प्लानहरूलाई राम्रोसँग एक्जेक्युट गर्नु नै हो’ उनले भने, ‘हाम्रा लागि महत्वपूर्ण खेलहरू आउँदै छन् र यो तयारीको एउटा सुरुवात हुनेछ।’

त्यस्तै टोलीका मुख्य स्पीनर ललित राजवंशीले अब सबै खेलहरू महत्वपुर्ण हुने भएकाले सजिलो केही पनि नभएको र राम्रो क्रिकेट खेल्नैपर्ने कुरा उल्लेख गरेका छन् ।

प्रतिद्वन्द्वीहरू कस्ता

नेपालका लागि हङकङ चिरपरिचित प्रतिद्वन्द्वी हो भने कुवेत र कतारसँग पनि यसअघि खेलिसकेको छ । आईसीसीको टी-२०आई वरियतामा नेपाल १७औं स्थानमा छ भने हङकङ २३औं, कुवेत २४औं र कतार २८औं स्थानमा छन् ।

नेपाल र हङकङबीच हालसम्म भएका टी-२०आई खेलमा दुवैले ५-५ पटक जित निकालेका छन् भने एक खेल नतिजाविहीन छ । पछिल्लोपटक हङकङमै भएको शृंखलाको एक खेल नेपालले जित्दा अर्को खेल हङकङले जितेको थियो ।

पहिलोपटक टी-२०आईमा भने २०१४ कै विश्वकपमा भेट भएको यी दुई टोली विश्वकप छनोटलगायत महत्वपूर्ण प्रतियोगिताहरूमा प्राय: भेट भइरहेका हुन्छन् ।

यस्तै कुवेतसँग टी-२०आईमा नेपाल एकपटक मात्र खेलेको छ जहाँ विजयी भएको थियो । सन् २०१९ मा विश्वकप एसिया छनोटका दौरान उक्त खेल भएको थियो ।

कतारसँग नेपाल टी-२०आई मा २ पटक खेल्दा एक खेल हारेको छ भने एक जितेको छ । सन् २०१९ मा विश्वकप एसिया छनोटको महत्वपूर्ण खेलमा नेपाल कतारसँग पराजित भएर विश्वकपमा छनोट हुन सकेको थिएन ।

पछिल्लोपटक सन् २०२४ एसिसी प्रिमियर कपमा भएको खेलमा नेपाल विजयी भएको थियो । सोही खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

मैदानको कुरा गर्दा सबै खेलहरू मिसन रोड ग्राउन्ड मोङ कोकमा खेलिनेछ । यहाँ नेपालले पहिले पनि खेलिसकेको छ । सन् २०२४ को मार्चमा यहाँ नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भएको शृंखलाको फाइनलमा नेपाल पिएनजीसँग ८५ रनमा अलआउट हुँदै पराजित भएको थियो ।

फरक भूमिकामा पूर्वकप्तान ज्ञानेन्द्र

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यस शृंखलाका लागि नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका छन् । राष्ट्रिय टोलीका लागि यो उनको पहिलो प्रशिक्षण अनुभव हुनेछ ।

यसअघि हङकङ सिक्सेसमा नेपाली टोलीको प्रशिक्षकको रूपमा रहेको भएपनि उक्त प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यताको छैन । त्यसकारण ज्ञानेन्द्र यसपटक राष्ट्रिय टोलीमा फरक भूमिकामा पहिलोपटक देखिने छन् ।

उनले प्रशिक्षकको रूपमा मौका दिएकामा क्यानलाई धन्यवाद पनि दिएका छ्न् । ‘खेलाडी हुँदै यहाँसम्म आउनु भनेको ठुलो अवसर पनि हो र गर्वको कुरा पनि हो, क्यानलाई धेरै धन्यवाद दिन्छु यो जिम्मेवारी दिनुभएकोमा’ उनले भने ।

रोचक कुरा के छ भने ज्ञानेन्द्रले हाल टोलीमा रहेका अधिकांश खेलाडीहरूसँग केही वर्षअघिसम्म सँगै खेलेका थिए । त्यसकारण टोलीमा बोन्डिङ पनि राम्रो बन्ने देखिन्छ ।

कप्तान रोहित पौडेल पनि ज्ञानेन्द्रको प्रशिक्षणमा खेल्न उत्साहित देखिएका छन् । ‘ज्ञानु दाई आउँदा त्यस्तो फरक केहि महसुस भएको छैन, राम्रोसँग टिमको बारेमा थाहा छ, हामी उत्साहित छौं खेल्न’ रोहितले भने ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के.सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम, प्रशिक्षक : ज्ञानेन्द्र मल्ल, एनालिस्ट : रमन शिवाकोटी

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय