
२६ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार विभागले नियमित अनुगमन अन्तर्गत ५ वटा फर्म अनुगमन गरेको छ ।
अनुगमन क्रममा विभागले लेबल नलगाइ सामान बिक्री गरेको भन्दै ४ फर्मलाई कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको र एउटा फर्मलाई जरिबाना तिराएको छ ।
विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।
विभागले मंगलबार गरेको बजार अनुगमन क्रममा १ फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागले काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ मा रहेको न्यु प्रकाश अटो ट्रेडर्सलाई मूल्यसूची–दर्ता प्रमाणपत्र नराखेको भन्दै तत्काल ५० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।
उक्त फर्मलाई ३ दिनभित्र आवश्यक काजपत्र सहित विभागमा उपस्थित हुन निर्देशन पनि दिइएको छ ।
विभागले अनुगमन गरेको बाँकी ४ फर्मलाई भने लेबल नलगाएका प्रत्येक वस्तुमा लेबल लगाउन र लेबल नलगाएका वस्तुमा लेबल लगाएर मात्रै बेच्न निर्देशन दिएको छ ।
विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ ।
प्रतिक्रिया 4