
सबैभन्दा पहिले २०८१ साललाई उपलब्धिको आँखाबाट हेरौं !
उपलब्धिको आँखाबाट हेर्दा हामीले मूलभूत ४ कुरा पाउँछौं । पहिलो- यसवर्ष दुईजना स्टारको जन्म भयो । एउटा विजय बराल र अर्को समीर भट्ट । दोस्रो- नेपाली फिल्मको ‘ब्लकबस्टर’ हुने ठूलो मात्रा देखियो । बजारको ‘भोल्युम’ ठूलो रहेछ भन्ने कुरा देखियो । लगभग एउटा फिल्मबाटै ८० करोड रुपैयाँको उचाई देख्न पाउनु भनेको उपलिब्धमूलक हो । तेस्रो- धेरै नयाँ फिल्ममेकरको आगमन भयो । चौंथो- कर्पोरेट हाउस भित्रिन थाले । व्यवसायिक घरानाले फिल्म बनाउन चासो दिन थाले । यी चार कुरा यसवर्षका उपलब्धि हुन् ।
चरित्र कस्तो रह्यो ?
यसवर्ष फिल्मको चरित्र विश्लेषण गर्दा केही महत्वपूर्ण चरित्र पाएँ । पहिलो- आशा होइन निराशाको प्रारम्भ भयो । फिल्मले विस्तारै नेपाली समाजको नैराश्यतालाई प्रतिनिधित्व गर्न थाल्यो । निराशावादी फिल्मको प्रारम्भ हुनथाल्यो । निराशा फिल्ममा हावी हुन थाल्यो । दोस्रो- पात्र होइन, कलाकार ! पात्रलाई हैन, कलाकारलाई महत्व दिने प्रवृत्तिको विकास भयो, जसले गर्दा टिकटकमा को चलेको छ भन्ने कुरालाई प्राथमिकता दिन थाले । अबदेखि कलाकार छनोटको गजबको पाटो भनेको उसका फलोअर कति छन्, कति चलेका छन् भन्ने कुराले प्राथमिकता पाउनसक्ने देखिन्छ ।
कथामा पात्र हैन, स्टारलाई महत्व दिने कुराले प्राथमिकता पायो । पात्रसँग कम लगाव, कलाकारसँगको लगाव हावी भयो । तेस्रो- द्वन्द्व होइन, फाइट ! कथाको केन्द्रीय तत्व द्वन्द्व हो तर हाम्रोमा द्वन्द्वलाई फाइट भन्ने मान्यता विकास भयो । विस्तारै हिंसालाई बढी प्राथमिकता दिन थालियो । कथाको द्वन्द्व निर्माणमा भन्दा, फाइट महत्वपूर्ण भयो । अर्को महत्वपूर्ण चरित्र- कथा होइन ब्यथा ! हामीकहाँ पात्रको गन्थन र व्यथा प्रस्तुत गर्नुलाई कथा मान्न थालियो । यो नितान्त उत्तर-दक्षिणजस्तो कुरा हो । कथाभन्दा व्यथातिर बढी ध्यानाकर्षण हुँदा व्यथाहरू चले । यसवर्षको स्थापित भ्रम के रह्यो भने, व्यथा नै कथा हो भन्ने स्थापित हुनु दुर्भाग्यपूर्ण कुरा हो ।
संघर्ष होइन, वर्णन ! पछिल्ला फिल्म हेर्दा पात्रले संघर्ष गर्दैन । पात्रलाई संघर्ष गराइँदैन । पात्रले संघर्ष गर्नुपर्छ भन्ने मान्यता नै स्थापित छैन । एक फिल्मका निर्देशकले नै मलाई के प्रश्न गरे भने- के फिल्ममा पात्रले संघर्ष गर्नुपर्छ र ? ती निर्देशकको फिल्ममा पात्रले यस्तो हुन्छ, उस्तो हुन्छ भनेर वर्णन मात्र छ । कथाको निर्माणमा यसको जुन प्राकृतिक संरचना छ, त्यो गायब हुँदै गएको छ । यसवर्ष सफल भएका अधिकांश सिनेमाको दुर्भाग्य पनि पात्रको संघर्षको अभाव हुनु हो । हाम्रो सिनेमा साहित्यमा पात्रको संघर्षभन्दा पात्रका दुखेसो वर्णन र घटनाको विवरण बढी हावी भैरहेको छ । यो डरलाग्दो पक्ष हो ।
सार होइन, शैली ! नयाँ मेकर यसवर्ष धेरै आए । नयाँ आउनु भनेको प्रस्तुतिकरणको शैली पनि आउनु हो । फिल्मभित्र आत्मा हुन्छ । शरिर चाहिँ आवरणमात्र हो । कथामा सार महत्वपूर्ण हुन्छ भन्ने कुरालाई एकदमै बेवास्ता गरिएको यसपाली देखियो । अर्को भनेको- निजत्व होइन दासत्व । फिल्म बनाएपनि उनीहरूको निजत्व अभिव्यक्तिको लागि होइन कि, बजारले के भन्छ भन्नेमा छ । बजार पनि देशभित्रको बजार र बाहिरको फेस्टिभल बजार । बजारले जे माग गर्छ, बजारको ‘म्यानुपुलेसन’मा सिनेमा बनेको देखिन्छ । यो अत्यन्त ठूलो दुर्भाग्य छ । यी ७ वटा चरित्र मैले यसवर्ष नेपाली फिल्ममा देखेँ ।
ट्रेन्ड कस्तो रह्यो ?
यसवर्ष दुईटा कुरा चले । यसवर्ष न क्राफ्ट (शिल्प) चल्यो, न कन्टेन्ट (विषयवस्तु) चल्यो । यसवर्ष ‘कन्टेक्स्ट (सन्दर्भ) चल्यो । कस्तो ‘सन्दर्भ’ चल्यो भने– कसैको छोरा आउँदैछ रे, कुनैले रुवाउँछ रे, दशैंमा टकराव भयो रे, कुनै गीत चल्यो रे, फिल्मको कमाएबाट कसैलाई केही बनाइदिने रे । यसवर्ष सिनेमा चल्यो कि चलेन ? सिनेम्याटिक हिसाबले एकदमै कमजोर सिनेमा चलेको वर्ष हो यो । यतिबेला सिनेमाको अस्तित्वभन्दा महत्वपूर्ण कुरा, त्यो सिनेमा कुन समयमा चल्छ भन्नेतिर छ । यसपाली दशैं चल्यो, अब दशैं चल्छ भन्ने मान्यता स्थापित भयो । दशैंमा फिल्मको भीड हुने भयो ।
गाउँको दुःख र व्यथा चल्छ भनेर मान्छेहरू गाउँतिर फिल्म छायांकन गर्दैछन् । गाउँको गरिबी र पछौटेपन बेच्न यतिबेला निर्माता लागिपर्या छन् । अर्कोथरी, टिकटक चल्छ भन्दै यसका सुपरस्टारलाई सिनेमामा भित्राउने काम भैरहेको छ । टिकटक हावी भैरहेको छ सिनेमामा । यसवर्ष केही सहानुभूति चलेको छ । यदि साँच्चिकै विश्लेषण गर्ने हो भने, साँच्चिकै सिनेमाको क्राफ्ट चल्यो कि चलेन ? कन्टेन्टमा नयाँपन चल्यो कि चलेन भनेर हेर्ने हो भने हामीसँग उत्तर छैन । यसवर्ष एकदमै ‘कन्टेक्स्ट’ हावी भएको वर्ष हो । निष्कर्षको रुपमा हेर्ने हो भने, यसवर्ष स्क्रिप्ट चुकेको वर्ष हो ।
यसवर्ष ‘ब्लकबस्टर’को मात्र चर्चा भयो । कुन सिनेमाले कति पैसा कमायो भन्ने । हामीले साँच्चिकै यसवर्षलाई मूल्यांकन गर्ने हो भने कथावाचनमा के नयाँ क्राफ्ट, नौलो चीज आयो ? कसले के योगदान दियो त भन्दा हामीसँग उत्तर चाहिँ शून्य छ ।
हामीले शिल्पमा के नयाँ खोज्यौं ? आफ्नोपनमा के नयाँ खोज्यौं भन्दा जिरो अवस्था छ । कन्टेन्टमा के नयाँ ल्यायौं ? कस्ता मानवीय चरित्र निर्माण गर्यौं भनेर हेर्दाखेरी हामीले उल्लेखनीय पात्रको निर्माण गर्न सकेनौं । २०८१ सालले दिएको एकमात्र पात्र भनेको ‘पूर्णबहादुरको सारंगी’को पूर्णबहादुर भन्ने पात्र हो । त्यो बाहेक दर्शकको मन जित्ने कुनै पात्र निर्माण गर्न सकेनौं । न हामीसँग मानवीय मूल्य मान्यता, सामाजिक परिस्थितीको बारेमा साँच्चिकै नयाँरुपले प्रस्तुत गर्न सक्यौं । यसमा अलिकति ‘गाउँ आएको बाटो’मा पुँजीवादले गाउँमा पारेको असर र ‘राजागञ्ज’मा मधेशका केही निश्चित कुराबाहेक विश्वले बोक्न सक्ने केही कुरा प्रस्तुत भए ।
हामी टेलिफिल्मभन्दा माथि जान नसकेको अवस्था अहिले छ । हामीले सिनेमालाई टेलिफिल्मको स्तरमा बनाइराख्या छौं । यसमा कहिलेकाहिँ हाँस्य प्रहसन देखिन्छ । कहिलेकाहिँ म्युजिक भिडियो र कहिलेकाहिँ विज्ञापनजस्तो पनि देखिन्छ । हामीले सिनेमा कम र टेलिफिल्म बढी बनाइरहेका छौं ।
अर्कोतर्फ आलोचनात्मक विश्लेषण (क्रिटिकल एनालिसिस) र ‘मास अपिलिङ’बीच सामाञ्जस्यता नभैरहेको स्थिती छ । यसले के प्रश्न उठ्छ भने के मासलाई मनपर्ने फिल्म समीक्षात्मकरुपमा कमजोर हुनुपर्ने हो त ? क्रिटिकल्ली कमजोर फिल्म मात्र मासले हेर्ने हो त ? मास र सिर्जनात्मकताबीच किन सामञ्जस्यता हुन सकेन त ?
प्रश्न र अन्तरविरोध
हामीसँग यस्ता केही प्रश्न छन् जसले हाम्रो सिनेमा क्षेत्रलाई विरोधाभास बनाइरहेको छ । शान्त भएर सोच्यो भने हामीसँग उत्तर नै नहुने अवस्था छ ।
फिल्म कमजोर बनेको छ तर चलेको छ । अबको कठिन प्रश्न के हो भने- त्यो चलेको फिल्मलाई कमजोर भन्ने कि नभन्ने ? फिल्म कमजोर बनेको छ, दर्शकले अस्वीकार गरेका छन्, तर पत्रपत्रिकामा भयंकर विश्लेषण छापिएका छन् । अब त्यो सिनेमालाई कमजोर भन्ने कि नभन्ने ? यी दुई प्रश्न यतिबेला महत्वपूर्ण छन् ।
के फिल्मले ब्यापार गर्यो भन्नु मात्रै उपलब्धि हो त ? सिर्जनामा हामी कमजोर हुँदै गैरहेका छौं । केही फिल्मले ब्यापार भयंकर गरे । अब यसलाई हामीले हाम्रो सिनेमा क्षेत्रको विकास भएको भन्ने कि नभन्ने ? केही चर्चित कलाकारका धेरै फिल्म आए । उनीहरूको अभिनय प्रस्तुतिकरणमा यति कमजोरी भएको छ कि, धेरै फिल्म गर्न पाउनुलाई उनीहरूको सफलता मान्ने कि नमान्ने ? फिल्मको संख्या धेरै छ, उनीहरूको अभिनय र प्रस्तुतिकरण कमजोर बनिरहेको छ । फिल्म चलेको होला तर अभिनयको कुरा गर्दा ती कलाकारको अभिनयलाई सफल मान्ने कि नमान्ने ?
के हामीले मनोरञ्जनलाई लत्याएका हौं ? मनोरञ्जन भन्ने वित्तिकै हामीमा दुविधा र लघुताभास किन बढिरहेको छ ? मनोरञ्जन बारेमा हामी स्पष्ट छैनौं । गर्न खोजेको मनोरञ्जन हो तर मनोरञ्जन किन गर्न सकिरहेका छैनौं ?
अर्को प्रश्न- फेस्टिभलमा फिल्म चलाउने कि फिल्म चलाएर फेस्टिभल मनाउने ? सबैलाई फेस्टिभलको काँधमा बसेर फिल्म चलाउनुपरेको देखिएको छ । फिल्म चलाउनुलाई आफैमा फेस्टिभलजस्तो नबनाउने त ? २०८१ सालमा अर्को के देखियो भने- आफ्नो फिल्म कमजोर हुँदाहुँदै स्रष्टाले किन स्वीकार्न चाहिँ नसक्ने हो ? हामी किन स्वीकार्न सक्दैनौं ? फिल्म नचल्नुमा दर्शक, समयलाई दोषारोपण गर्दै हामी किन आफ्नो कमजोरी स्वीकार्न सकिरहेका छैनौं ।
सबैजना फिल्म बनाउन गाउँतिर गएका छन् । के अब सहरको कथामा फिल्म नबन्ने हो ? मान्छेको ठूलो बसोबास सहरमा छ, अब सहरमाथि कथा नबन्ने हो ? यी उठेका प्रश्न पछि धेरैसम्म पनि रहिरहन्छन् ।
२०८१ सालमा ब्यापारको उच्चतम विन्दुदेखि फिल्म बनाउने प्रक्रियामा धेरै नयाँ मान्छे आए । यो वर्ष नयाँ फिल्ममेकर आए तर पुरानै सोच बोकेर । नयाँ फिल्ममेकर आए तर नयाँपन आएन । प्रश्न के हो भने- नयाँ मेकर पुरानो सोच बोकेर आउनु, नयाँ फिल्ममेकर नयाँ सीप र सोच बोकेर नआउनु के सिनेमामा नयाँ आउनु हो त ? यो वर्ष नयाँ फिल्ममेकर त आए तर पुरानै सोच निरन्तर छ । न नयाँ आइडिया आयो, न नयाँ कथा भन्ने शैली आयो । नयाँ आएन तर पुरानै भए । पुरानै चरित्र बोकेर आए ।
आउने वर्षमा देखिनसक्ने प्रभाव
आउने वर्षमा अब हिंसात्मक सिनेमा धेरै हावी हुने देखिन्छ । बलिउडलाई त हामीले विस्तारै ‘इग्नोर’ गर्यौं तर अब ‘साउथ’लाई पुज्न थाल्यौं । बलिउडलाई घृणा, साउथलाई पूजा गर्न थाल्यौं । अब ‘ब्लकबस्टर’ मनोविज्ञान हावी हुने देखिन्छ । अब ब्लकबस्टरको पछाडि सिनेमा केन्द्रित हुन थाले । ब्लकबस्टर मनोविज्ञानले अघिल्लो वर्ष जे चलेको हो त्यसको ‘रेप्लिका’ गर्ने प्रयास गर्छ । आउने वर्ष ‘मौलिकता’ गुम्दै जाने तत्व देखिन्छ ।
मौलिकता भन्ने चीजलाई हामीले अत्यन्त बेवास्ता गर्न थालिसक्या छौं । व्यक्ति र समाजसहित सबै चीजको मौलिकता हुन्छ तर अब यी सबै चीजलाई ब्लकबस्टर मनोविज्ञान छायाँमा पार्ने प्रयास गर्छ । अर्को वर्ष ‘फेक दर्शक’ हावी हुने देखिन्छ । ‘फेक दर्शक’ क्रिएट गर्ने प्रवृत्ति बढ्नसक्छ । निर्माता आफैले लाखौं पैसा खर्चेर टिकट काट्ने प्रवृत्ति बढ्नसक्छ । यसले प्रपोगान्डा सिर्जना गर्न सक्छ । यसलाई ‘डिपफेक’ दर्शक भन्न सकिएला । यो प्रवृत्ति एकदमै बढिरहेको छ । अबको वर्षमा एकदमै अस्पष्ट कथामा फिल्म बन्दैछन् । आउने वर्ष फिल्मभित्र निर्देशकको सिर्जनात्मक अस्पष्टता देखिनेवाला छ ।
सुझाव र प्रतिबद्धता
अब सिनेमाको ब्याकरण पढौं । सिनेमा ब्याकरणको अध्ययन गर्नुपर्यो । अघिल्लो वर्षमा सबैभन्दा मिसिङ भैरहेको कुरा चाहिँ सिनेमा ब्याकरण हो । सिनेमा आफैमा भाषा हो, सिनेमा आफूमा साहित्य हो । त्यो बनिसकेपछि त्यसको ब्यापार गर्ने हो । सिनेमाको भाषा पढौं र बुझौं भन्ने मेरो सबैभन्दा ठूलो भनाइ हो । मूलधारको सिनेमाको ब्याकरण, सिद्धान्त र अभ्यास अध्ययन गर्न मेरो सुझाव छ । यसले मात्र फिल्मको विकास हुनसक्छ । विश्वका उत्कृष्ट सिनेमा कृतिको अध्ययनबाट हामीले ब्याकरणको धेरै जानकारी पाउँछौं । सिर्जनात्मकरुपमा निजत्वको कथामा हामीले ब्याकरण मिसाएर आफ्ना कुरा भन्न सक्छौं । जसले दर्शकलाई प्रभाव पार्छ ।
हामीले धेरै पहिलेदेखि अन्तर्राष्ट्रियकरण भन्दै आएका छौं । अब यो अन्तर्राष्ट्रियकरणको बोझभन्दा अब ‘युनिभर्सलाइजेसन’ गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण हुनसक्छ । अब अन्तर्राष्ट्रियकरणभन्दा युनिभर्सलाइजेसनको अवधारणामा अघि बढ्नुपर्छ ।
अब हामीले केही प्रतिबद्धता जनाउनुपर्छ । पहिलो- मलाई विशेष तरिकाले विशेष तत्व प्रस्तुत गर्नुछ, त्यसकारण म फिल्म बनाउँछु । दोस्रो- मैले बनाउने सिनेमा मेरा दर्शकप्रतिको विशेष प्रतिबद्धता हो । तेस्रो- मैले बनाउने फिल्म किन हेर्ने हो भनेर मेरा दर्शकलाई म सूचित गर्छु । चौैंथो- मेरो उद्देश्य सिर्जनात्मक ब्यापार हो भन्नेमा स्पष्ट छु । पाँचौं- म निराशजनक समाजलाई आशा जगाउने कार्य गर्दछु । छैटौं- म विशेष पात्र, विशेष उद्देश्य वा विशेष परिस्थिती उत्पादन गरि दर्शकलाई पस्कनेछु । यसले दर्शकको अनुभूति र वैचारिकतालाई थप विशेष बनाउनेछ ।
सातौं- म मानव समाज र चरित्रका विशेष मूलभूत मान्यता, दृष्टिकोण, मनोविज्ञानलाई बिना सम्झौता प्रस्तुत गर्न डराउनेछैन । आठौं- म मनोरञ्जन उत्पादक हुँ भन्ने कुरालाई स्वीकार्दै मनोरञ्जन राजनीतिक, सामाजिक र सांस्कृतिक आधारमा बन्दछ भन्ने स्वीकार्छु र मनोरञ्जनको उत्कृष्ट आयामको लागि प्रयत्न गर्दछु । नवौं- म कथा साहित्यका मूलभूत व्याकरणलाई अवलम्बन गर्दै मेरा सिर्जनात्मक आयाम प्रस्तुत गर्ने कुरामा लापर्वाही गर्दिन ।
कथा ब्याकरणलाई मेरो इगोको मारमा बहिष्कार गर्दिन । दशौं- मनोरञ्जनात्मक सिनेमा बनाउने मेरो धर्म हो भन्ने कुरालाई आत्मसात गर्दै यसमा गर्व गर्ने स्थितीको विकास गर्नेछु । सिनेमाको उत्कृष्टताको मापदण्ड नै मनोरञ्जन हो, मेरो मनोरञ्जनको अभ्यासकर्ता हुँ भन्ने मान्यतालाई विश्वास गर्दछु । मनोरञ्जनलाई मर्यादित बनाउनेछु । यी प्रतिबद्धता गर्न सकियो भने नेपाली फिल्मले नयाँ विहानी प्राप्त गर्न सक्छ ।
(विष्णु शर्मासँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4