
२६ चैत, काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि सभा आयोजना हुनेछ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
कलंकी, कालीमाटी, सातदोबाटो, कीर्तिपुर लगायत स्थानबाट निकालिएको जुलुस बल्खु पुग्ने क्रम जारी छ । जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो बोकेका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पनि बोकेका छन् ।
राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ ।
उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । घुसपैठको शंका लागेमा तुरुन्तै नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।
तर चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएकाले बाक्लो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय र कलंकीको भाटभटेनी सुपरमार्केटमा समेत सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
यसअघि चैत १५ को प्रदर्शनमा भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको थियो भने नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी भएको थियो ।
त्यतिबेला एम्बुलेन्स र दमकल समेत तयारी अवस्थामा नराखिएको भनेर प्रहरी प्रशासनको आलोचना भएको थियो । त्यसैले बल्खुको सभास्थलमा एम्बुलेन्स, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकारकर्मी लगायतको टोली पनि परिचालन गरिएको छ । चैत १५ को प्रदर्शनमा भने यस्तो दृश्य देखिएको थिएन ।
राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिंदैछ ।
यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो ।
सभास्थल वरपरको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिएका छन् । सीसीटीभी र ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।
यस्तो छ सवारी पार्किङ र डाइभर्सनको व्यवस्था
प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।
जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि त्रिभुवन विश्वविद्यालयको गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।
नयाँबसपार्क र सितापाइला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4