
२६ चैत, काठमाडौं । नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जसलाई पनि विद्युतीय सवारीसाधन (ईभी) आयात गर्न दिन नहुने बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो डाइलग’ कार्यक्रममा कोइरालाले पछिल्लो समय जसले पनि ईभी आयात गरिरहेको बताएका हुन् ।
संघ अध्यक्ष कोइरालाले अटो डाइलग अन्तर्गत ‘लङ टर्म पोलिसी फर अटो सेक्टर’ को प्यानल छलफलमा राज्यले कसलाई आयात गर्न दिने, कसरी ल्याउने र आयातकर्ताले यहाँका लागि बनाएका ईभीको पूर्वाधार हेर्नुपर्ने बताए ।
‘अहिले त हामी बैंकरहरूले पनि ऋण दिने बेलामा धेरै सोच्नुपर्ने देखिएको छ । जसले पनि ईभी ल्याएको छ । हिजो हाइड्रोपावरमा, कृषिमा काम गरिरहेकाहरू पनि आज चाइना गएर ईभी ल्याइरहेका छन् । राज्यले कस्ता ईभी कसले ल्याउने भन्नेबारे सोच्ने बेला भइसकेको छ,’ कोइरालाले भने ।
उनले प्यासेन्जर भेहिकलमा पनि चासो रहेको भन्दै प्रश्न गरे । ‘ब्याट्रीको कुरा के हो ? प्रविधिहरू कस्ता छन् ? ईभी बिग्रियो भने बनाउने इन्जिनियरिङ नेपालमा छ कि छैन ? बैंकहरूले सोच्न बाध्य भएका छन् । डाउन पेमेन्ट ५० ठिक कि ६० कि ८० भन्ने पनि छ,’ उनले भने ।
बैंकहरूलाई ईभीमा ऋण दिँदा २ वर्ष मजाले चलाए त्यसपछि गाडी छाडेर हिँडे भने बैंकले कसरी उठाउन सक्छ भन्ने संशय पनि रहेको उनले सुनाए ।
प्रतिक्रिया 4