
२६ चैत, काठमाडौं। संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खुमा गर्न लागेको प्रदर्शनलाई लक्षित गरी सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयदेखि कलंकीस्थित भाटभटेनीसम्म सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक हुँदा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयदेखि कोटेश्वरको भाटभटेनीसम्म आगजनी र तोडफोड भएकाले आज पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक केन्द्रहरुमा सुुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।
बल्खुमै रहेको त्रिविको परीक्षा नियन्त्रण कार्यालय र आसपासका सरकारी संरचना अगाडि सुरक्षाकर्मीहरु उल्लेख्य संख्यामा परिचालित छन् ।
ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली खटाइएको एक प्रहरी अधिकृतले बताए ।
प्रदर्शनस्थलमा एम्बुलेन्स र दमकलसँगै नेपाल रेडक्रस र मानव अधिकारकर्मीको टोली पनि परिचालित छन् ।
राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गरेर सभा गरिँदै छ ।
यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो ।
राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ । यद्यपि सभालाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी पनि उल्लेख्य संख्यामा बढाइएको छ ।
प्रतिक्रिया 4