
काठमाडौंको सडकमा हिँड्दा यस्तो लाग्छ– धुवाँ र कुहिरोले भरिएको कुनै अज्ञात शहरभित्र छु । स्वच्छ र चिसो महसुस हुने काठमाडौं उपत्यकाको हावा केही सातायता घातक वायुमा परिणत भइरहेको छ ।
केही घन्टा खुला वातावरणमा बस्दा वा हिँड्दा श्वासप्रश्वासमा समस्या भएजस्तो हुने, घाँटीमा असहज भएर पोलेको महसुस हुने, आँखा पोल्ने जस्ता समस्या सबैले अनुभूत गर्न थालेका छन् । स्वास्थ्यमा देखिने यस्ता प्रत्यक्ष असरबाहेक धुम्म दिनमा मनस्थितसमेत उराठ हुने क्रम बढ्नु, यो विषाक्त वायुको प्रभाव नहोला भन्न सकिँदैन ।
हालैका दिनमा काठमाडौंको वायु गुणस्तर सूचकांक एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ले ‘अत्यन्त अस्वस्थकर’ तह निरन्तर पार गरिरहेको छ । पार्टिकुलेट म्याटर २.५ को स्तर विश्व स्वास्थ्य संगठनको सिफारिसभन्दा ३३ गुणा भन्दा बढी १६० माइक्रोग्राम प्रति क्युबिक मिटर पुगिरहेको छ । यो केवल तथ्यांक होइन; हाम्रो स्वास्थ्य, हाम्रो बालबालिका र हाम्रो भविष्यमाथि सिधा खतरा हो।
यो परिदृश्य बुझ्न हाम्रो हावा किन विषाक्त बन्यो भन्ने विषयमा चर्चा गर्न आवश्यक हुन्छ । विगत केही सातामा धेरै कारणले काठमाडौँको हावा श्वास फेर्न लायक छैन। आसपासका डाँडामा लागेको डढेलोको धुवाँले उपत्यकालाई ढाकेको छ । कतिपय वन–जंगल क्षेत्रमा आगामी वर्षमा राम्रो घाँसपात पलाउने विश्वासका कारण आफैँ जंगल डढेलो लगाउने गरेको सुनिन्छ, तर यसरी वायु विषाक्त बन्नमा डढेलो मात्र दोषी होइन।
यथार्थमा भन्नुपर्दा, यो हामी आफैँले निम्त्याएको संकट हो । हामीले सडकमा पुराना र प्रदूषण फैलाउने गाडीहरू अत्यधिक मात्रामा दौडाएका छौं। विगतका वर्षहरुमा दुईपांग्रे सवारीमा देखिएको लहर अहिले चारपांग्रेतिर सर्दै गएको तथ्य सडकमा देखिने सवारी साधनको जामले स्पष्ट चित्रण गर्दछ । तसर्थ, काठमाडौँको वायु प्रदूषण बढ्नुको एउटा प्रमुख कारणका रुपमा अत्यधिक सवारी साधनको प्रयोगलाई पनि लिन सकिन्छ ।
काठमाडौँ आसपासका क्षेत्रमा सञ्चालित इँटा उद्योगबाट निस्कने धुवाँको मुस्लो र चारैतिर एकसाथ भइरहेका निर्माण कार्यहरूबाट उत्पादन हुने धुलोका कणहरु पनि काठमाडौँको वायु विषाक्त बनाउनमा जिम्मेवार छन् ।
सडकहरु साँघुरो भएका कारण सडकबाटभन्दा बढी सडक किनाराबाट गाडी कुदाउने चलन काठमाडौँका लागि नौलो होइन । जसका कारण सडक किनाराको धुलोका कण हावामा मिसिन जान्छ । निर्माण कार्य सञ्चालन गरिरहँदा धुलोका कण हावामा मिसिन नदिनका लागि आवश्यक पूर्वतयारी नगर्दा काठमाडौँको हावा विषाक्त बन्दै गइरहेको छ ।
विगतका वर्षहरुको तुलनामा काठमाडौँ उपत्यकामा फोहोर–मैला व्यवस्थापनमा तात्विक भिन्नता देखिएको छ । विशेषगरी काठमाडौं महानगरभित्र भएको फोहोर–मैला व्यवस्थापनको सराहनीय कार्यको त मुक्तकण्ठले प्रशंसा भइरहेकै छ । यति हुदाँहुदै पनि, खुला ठाउँमा फोहोर संकलन गर्ने तथा घरमा आफैँ जलाउने चलन हटेको छैन । यी र यस्ता मानव सिर्जित क्रियाकलापका कारण मानिसले लिइरहेको सासमा प्रदूषण मिसिइरहेको छ ।
विषाक्त वायुका कारण जनस्वास्थ्यमा परेको असरलाई विश्लेषण गर्दा, चिकित्सकहरूले लगातार दिइरहेको चेतावनीलाई मध्यनजर गर्नुपर्ने हुन्छ । अस्पतालहरूमा दैनिक रूपमा आँखा पोल्ने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्या हुने बिरामीको संख्यामा तीव्र वृद्धि हुँदै जानुले चिकित्सकहरूको चिन्ता जायज छ भन्ने पुष्टि गर्छ ।
फोक्सोका रोग विशेषज्ञहरूले विभिन्न छापा, अनलाइन तथा दृश्य मिडियामा हिजोआज अस्पताल आउने आधाभन्दा बढी बिरामीको समस्याको मूल कारण हावाको प्रदूषण भएको जिकिर गरेको पाइन्छ । यस्तो विषाक्त वायुको छोटो अवधिको सम्पर्कले नै निमोनिया, ब्रोनकाइटिस, दम बढाउन सक्छ भने दीर्घकालीन सम्पर्कले क्यान्सर, मिर्गौला, मुटु, मस्तिष्कघात र स्थायी श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बारम्बार सुझाव दिइरहेकै छन् ।
काठमाडौं वायु प्रदूषणले आक्रान्त भइरहँदा आजसम्म केही पनि काम भएको छैन भन्ने पक्कै होइन। विगतदेखि नै नेपालले केही सकारात्मक पहलहरू सुरु गरिरहेको छ । बढ्दो यातायातका चापसँगै विद्युतीय सवारी साधनको प्रयोग निरन्तर बढिरहेको छ ।
सन् २०२३/२४ मा नयाँ आयात भएका कार, भ्यान र जिपमध्ये लगभग ८० प्रतिशतभन्दा बढी विद्युतीय रहेको भन्सार विभागको तथ्यांकले देखाँउछ । सरकारको राष्ट्रिय निर्धारित योगदान २.० ले सन् २०३० सम्म ९० प्रतिशत निजी र ६० प्रतिशत सार्वजनिक सवारी साधन विद्युतीय बनाउने लक्ष्य राखेको छ, जुन अबको राष्ट्रिय निर्धारित योगदान ३.० मा अझै बढाउने सम्भावना देखिन्छ।
निजी सवारी साधनका सन्दर्भमा लक्ष्य सान्दर्भिक नै हुने देखिए तापनि ठोस नीतिगत आधार निर्माण गर्न नसक्ने हो भने सार्वजनिक सवारी साधनसम्बन्धी महत्वाकांक्षी लक्ष्य बादलमा गरिने च्याउखेतीमा रुपान्तरित नहोला भन्न सकिँदैन ।
वास्तविक अर्थमा यी लक्ष्य प्राप्ति गर्ने हो भने, अत्यधिक सवारी साधनको प्रयोगबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न धेरै यात्रु क्षमता भएका विद्युतीय बसहरू ल्याउने र प्रयोगलाई प्रोत्साहन गर्ने दिशामा राज्यको ध्यान जानुपर्ने देखिन्छ । यसका साथै सार्वजनिक यातायातलाई भरपर्दो र सहज बनाउने उपायका विषयमा गम्भीर समीक्षा र विश्लेषण गरी ठोष कदम चाल्न अत्यावश्यक देखिन्छ ।
अघिल्ला दशकहरूको तुलनामा इँटा भट्टालाई सफा प्रविधिमा रूपान्तरण गर्न थालिएको छ । तर आजका दिनसम्म आइपुग्दा पनि जुन गतिमा कार्य अगाडि बढ्नुपर्ने हो त्यो देखिँदैन । यदि वर्तमान पाठबाटै शिक्षा लिँदै प्रदूषण फैलाउने उद्योग तथा सवारी साधनहरूलाई नियन्त्रण गर्ने, कडा उत्सर्जन मापदण्ड लागू गर्ने र नमान्ने उद्योग तथा सवारीलाई कारबाही गर्ने कार्यको थालनी गर्न सके आगामी दिनमा वायु प्रदूषणको असरलाई न्यूनीकरण गर्न सकिन्छ ।
वायु प्रदूषणको प्रमुख कारकका रूपमा रहेको निर्माण कार्यहरूमा धूलो नियन्त्रणका लागि छिटपुटबाहेक यथेष्ट प्रयास भएको देखिँदैन । तसर्थ, निर्माणस्थलमा धुलो नियन्त्रण गर्न आवश्यक अनिवार्य बनाउने, ढाक्ने, पानी छर्कने आदि कार्य गर्नुपर्ने देखिन्छ ।
यसका साथै, फोहोर व्यवस्थापन सुधार गर्ने, खुला स्थानमा फोहोर जलाउन प्रतिबन्ध लगाउने र फोहोर व्यवस्थापनको प्रभावकारी विकल्प विकास गर्ने कार्यमा यथाशीघ्र लाग्न सके बाँच्नका लागि अपरिहार्य एक मुठी सास नै दूषित भयो भनेर कोकोहोलो मच्चाउनुपर्ने अवस्था आउने थिएन ।
वन–जंगलले ढाकेको क्षेत्रमा यथेष्ट हुदाँहुदै पनि वायु प्रदूषणको यो अवस्था आउनु नेपालकै लागि दुखद हो । अबको समयमा हरियाली विस्तार गर्ने कार्यलाई शहर वा शहर निकट केन्द्रित बनाउन आवश्यक देखिन्छ । खाली रहेका सार्वजनिक जग्गामा रुख रोप्ने, शहरी हरित क्षेत्रहरू विस्तार गर्ने कार्यमा अग्रसर हुने हो भने सास फेर्न चाहिने शुद्ध हावा नपाइने अवस्थाको अन्त्य हुनसक्छ ।
यसका साथै, शहर केन्द्रित सार्वजनिक सचेतना अभिवृद्धि गर्ने, नागरिकलाई प्रदूषणको स्रोत र असरबारे जानकारी दिने, सार्वजनिक सवारी साधनको प्रयोगमा उत्प्रेरणा जगाउने कार्य गरी वातावरण मैत्री बानीको विकास गर्न सके वायु प्रदूषणको कहर सदाका लागि अन्त्य गर्न सकिन्छ ।
आजको विश्वमा स्वच्छ हावाको सपना कति सम्भव छ भनेर विश्लेषण गर्नुपर्ने परिस्थिति सिर्जना हुनु दुःखदायी कुरा हो । हावा साझा स्रोत हो, यसले धनी–गरिब, बालक–वयस्क–वृद्ध, महिला–पुरुष छुट्याउँदैन।
विगत केही हप्तामा विषाक्त वायु हरेक घरभित्र पस्यो, हरेक विद्यालयमा पुग्यो, हरेक फोक्सोमा घुस्यो। अब चुप लागेर बस्ने बेला होइन। काठमाडौंले धेरै सह्यो, अब समय आएको छ, हामीले आफ्नो जिम्मेवारी पूरा गर्ने। विगतमाझैँ नीति तर्जुमाका सवालमा ठूला कुरा गर्ने तर कार्यान्वयनमा सिन्को नभाँच्ने प्रवृत्ति अन्त्य गर्न जरुरी छ ।
तीव्र गतिमा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने, नवप्रवर्तनको उपयोगमार्फत हावामा मिसिने विषाक्त धुवाँ धुलोको नियन्त्रण गर्ने र जीवनयापनमा वातावरणमैत्री आनिबानी अवलम्बनको संयोजनबाट नै शहरको स्वस्थ वायु फिर्ता ल्याउन सकिन्छ । अतः आजको समयमा एउटा मुख्य प्रश्नले सबैलाई पछ्याइरहेको छ– के हामी अहिले नै जाग्नेछौं ? वा, त्यो समय कुर्नेछौं, जब सास नै फेर्न नसक्ने अवस्थामा पुग्नेछौं ?
प्रतिक्रिया 4