+
+
Shares

दुई दर्जन बढी खाद्य पदार्थ परीक्षण गर्दै ‘घुम्ती प्रयोगशाला’

महानगर र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमुनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १४:४९

२६ चैत, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ भन्दा धेरै प्रकारका खाद्य पदार्थ परीक्षण गर्न थालेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन गर्न थालेको हो ।

यसको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनबाट भएको छ । त्यसपछि महानगर र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमुनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्ने छ ।

कसरी हुन्छ परीक्षण ?

प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादी अवशेष परिणाम परीक्षण गर्ने उपकरण (आरबीपीआर) छ, जसले दूधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दूधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्ट्रेसन किट, दूधको सोलिड नट फ्याट (एसएनएफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुअल क्लोरिन परीक्षण गर्ने वाटर एडल्ट्रेसन किट, पानीको पीएच परीक्षण गर्न पीएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।

कस्तो छ परीक्षण प्रयोगशाला ?

न्यौपानेका अनुसार संकलित खाद्य पदार्थ नमुनाको तौल जाँच्ने उपकरण ब्यालेन्स, खाद्य पदार्थको नमुना परीक्षणका लागि आवश्यक पर्ने वाटर बाथ, जलांश परीक्षण गर्ने मोइस्चर ब्यालेन्स पनि प्रयोगशालामा छ ।

नमुना खाद्य पदार्थ जाँच्न पिँधेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमुना एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर, तेलको गुणस्तर परीक्षण गर्ने कुकिङ आयल टेस्टर (टीपीएम मिटर) छन् ।

त्यस्तै तेल, घिउजस्ता खाद्य पदार्थको रिफ्र्याक्टिभ इन्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केचप, फलफूल जुसमा टीएसएस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्र्याक्टोमिटर छ ।

नमुना परीक्षणका लागि मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्युरेट, तापक्रम परीक्षण गर्ने टेम्प्रेचर प्रोब छ ।

हानिकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ । खाद्य पदार्थको नमुना राख्ने रेफ्रिजिरेटर छ । उपकरणसँग जोडेर काम गर्न सकिने ल्यापटप छ । यो प्रयोगशाला तापक्रम अनुकूलित (एयर कन्डिसन) र संकलित नमुनाका कणको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनिएक्टर छ ।

त्यसैगरी खाद्य पदार्थ तताउने हट प्लेट छ । हात धुने तथा अन्य चिज पखाल्ने ठाउँ धारा र बेसिन छ । मिठाईमा प्रयोग गरिने अखाद्य रङ परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकाले मिठाईमा रङ मिसावट तत्कालै थाहा पाउन सकिन्छ ।

संयुक्त हुन्छ अनुगमन

खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र गुण नियन्त्रण विभागबीच सम्झौता गरेर यो प्रयोगशालाको भ्यान अनुगमनमा प्रयोग गर्न थालिएको हो ।

अनुगमन निरीक्षणमा प्रयोगशाला सहित खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट तथा विज्ञसहित संयुक्त टोली हुनेछ ।

महानगरका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यसअघि पनि संकलन भएका खाद्य पदार्थको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । त्यसको नतिजा आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?