
२६ चैत, काठमाडौं । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले आन्दोलनरत आवासीय चिकित्सकलाई कारबाही गर्ने धम्की दिएको छ ।
मंगलबार कलेजका विभागीय प्रमुख, प्रबन्ध निर्देशक, प्राचार्य तथा अस्पताल निर्देशकसहित बसेको बैठकले बिना जानकारी अनुपस्थित रहेका आवासीय चिकित्सकलाई कारबाही गर्ने निर्णय गरेको हो ।
कलेज प्रशासनले विभागीय प्रमुखलाई पठाएको पत्रमा भनिएको छ, ‘अनुपस्थित रहेका आवासीय चिकित्सक नाम व्यवस्थापनलाई पठाइदिन अनुरोध छ । सो नामावली अस्पताल निर्देशकमार्फत प्राचार्यज्यूलाई आवश्यक कारबाहीका लागि पठाइने छ ।’
सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो । तर २५ माघमा बसेको चिकित्सा शिक्षा आयोगले गरेको सो निर्णय लागू नभएको भन्दै अहिले आवासीय चिकित्सक सडक आन्दोलनमा उत्रिएका छन् ।
हप्ताको १२० घण्टा बढी खट्ने आवासीय चिकित्सकलाई मेडिकल कलेजले २० हजारभन्दा कम निवार्ह भत्ता दिँदै आएका छन् ।
बरु उल्टै निजी मेडिकल सञ्चालकले चिकित्सकलाई डर, धम्कीको भाषा प्रयोग गर्दै भनिरहेको छन, ‘निर्वाह भत्ताको विषयलाई लिएर कलेज विरुद्ध बोल्यौं भने सिधै फेल गराइदिन्छौं ।’
मेडिकल कलेजको उक्त पत्रमा भनिएको छ, ‘तीन वर्षको पूर्ण सेवा अवधि नपुगेका आवासीय चिकित्सकलाई परीक्षा दिन अनुमति दिइने छैन ।’
निर्णय भएको दुई महिना बित्तिसक्दा पनि कार्यावन्यन नभएको भन्दै देशभरिका करिब २ हजार आवासीय चिकित्सक सेतो कोट लगाएर सम्पूर्ण सेवा बहिष्कार गर्दै माइतीघर मण्डल, चिकित्सा शिक्षा आयोग र मेडिकल कलेज बाहिर धर्ना दिएर आन्दोलनमा शसक्त बनाउँदै लगेका छन् ।
नेपाल मेडिकल कलेजका डा. सर्वज्ञ मानन्धर भन्छन्, ‘लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्छ । तर पारिश्रमिक भने २० हजारसम्म काम लगाइरहेका छन् । अब श्रम शोषण खेपेर बस्न तयार छैनौं ।’
एमबीबीएस सकेर दुई वर्षको अनुभव लिएर, चिकित्सा शिक्षा आयोगबाट परीक्षा पास गदै शुल्कसमेत तिरेर पढ्न आउँदा निकै कम सुविधामा काम गर्नुपरेको उनीहरूको भनाइ छ ।
हेर्नुहोस् नेपाल मेडिकल कलेजले गरेको निर्णय :
प्रतिक्रिया 4