
‘मेरो कविता बरु कविता नभैदिएर
एक सपना भैदियोस्
जसलाई देखेकी छे एक कुमारी केटीले
जसको मासिक श्राव रोकिएको छ
र, यही थाह पाएर उसको प्रेमी गाउँबाटै गायव छ
र, भेलमा हाम फाल्न घरछेउको खोला नि सुकेको छ
र, भीरको टुप्पो पुग्ने बाटो नि यही बेला अन्धकार छ
यही बेला बाउआमाको टिठलाग्दो अनुहार
झलझली याद आइरहेको छ
यो अजङ्गको आपतमा
मेरो कविता उसको त्यो विपना भेटेर
एक दुःस्वप्न भएको होस्
र जब ऊ बिहान जुरुक्क उठ्ने छे
उसको मन परेको फ्रकमा
रगतको रङ लागेको होस् ‘
यो कविता कवि सुरेश राईको कविता संग्रह ‘सम्झनाको फोटोकपी’ बाट टिपेको हुँ । यो संग्रहमा जम्मा ५० ओटा कविता संग्रहित रहेछन् । तीन कवितालाई अंग्रेजीमा पनि अनुवाद गरिएको छ । ‘सम्झनाको फोटोकपी’का कविताहरू केहीलाई छाडेर बाँकी कविताले पठन समय बडो रसिलो बनायो। कारण कविले सृजना गरेका बिम्बहरू एकदम सरल र सरस छन् । बिम्बले नै कवितालाई सुन्दर बनाउने हो । बिम्ब प्रतीकका सजावटले ढाकेर मानव संवेदनालाई उनेपछि त कविता यसै मिठो हुने नै भयो ।
मझुवागढी, बाम्राङमा जन्मेका कविले गाउँले परिवेशलाई ज्यादै मजाले चित्रण गरेर लेख्न सक्दारहेछन् । मैले आजसम्म पढेका कविताहरूमध्ये निक्कै नौलो तरिका अपनाएको पाएँ। उनका शैलीले पाठकलाई मज्जाले समात्न सक्ला ।
म चाहिँ उनको शैलीसँग धेरै मोहित भएँ । धेरैजसो लेखिने कवितामा कथा बनेर घटनाहरू बगेका हुन्छन्, तर सुरेशको कवितामा एउटै घटनालाई धेरैवटा बिम्बहरूले घेरेर पातहरूका बिचमा फुलेको फूलजस्तो सुन्दर बन्न पुगेको छ कविता ।
टेम्के डाँडाको शीरबाट
आफ्नो हत्केलामा चिउँडो राखेर
जब घाम पश्चिमतिर हेर्दो हो
तब के के देख्दो हो ?….
उनको कविता पढ्दा वा हेर्दा लाग्छ, सानो क्यानभासमा सानै चित्र तर चित्रमा हुनुपर्ने सम्पूर्ण अवयवहरू एकदम मिलाइएर रङ्हरूलाई राखिएका छन् । जस्तो कि, घामप्रतिको विश्वास वा घामले देखेको कुरालाई लिएर कहिल्यै ती ठाउँहरू नदेखेका मानिसहरूले पनि स्पष्टसँग दिमागमा त्यो ठाउँको चित्र कोर्न सक्छन् ।
छोटो अनुच्छेदमै किराँती कल्चर, किराँती संस्कारमा रहेको मातृसत्ता, जहाँ ज्वाइँले श्रीमतीको घरमा एक छोरोसरह काम गर्छ’, घुर्यानमुन्तिर आमाको समाधि’ले मृत शरीरलाई माटोमा घर नजिकै दफन गरिने संकार बोलेको छ र कविको आमा जीवित नभएको कुरालाई छर्लङ्ग देखाएको छ । ‘फुपूको घुर्यान’ भन्नाले त्यो समाजमा ‘छोरीहरू माइतीकै दाँजोमा वरिपरि बसेका छन्’ देखाउँछ ।
कविता भनेको यस्तै त हो, हजार दृश्यहरूलाई दूरविनबाट एकैचोटी सजिलै नियाल्न सकेजस्तो कविता हुनु नै खास कविता हो ।
यी कवि कोरियामा कार्यरत रहेछन् । साहुको अधिनमा रहेर काम गर्दै एक कविले कसरी कविता सिर्जना गर्छ भन्ने दृष्टान्तलाई बडो रमाइलो तरिकाले उनले कवितामै उतारेका छन् ।
उहिल्यैदेखि नेपालीहरू विदेशी मेसिनसँग खेलेर पसिनालाई नगद बनाउने काम त गरिरहेकै हुन् । तर, केही समययता मेसिनसँग खेल्दै पनि विदेशमा नेपालीहरू सिर्जना, कलाकारितालाई प्रष्फुटन गरिरहेकाछन् ।
यो कविताले संसारभरि छरिएर रहेका श्रमिक कविहरूको भावनालाई समेट्छ । एक कवि कसरी मेसिनसँग नाच्दै आफूभित्र कविता गर्भाधान गरिरहेको हुन्छ र समाजमा उसको कविताले आफूलाई स्थापित गर्न कति मुस्किलले बाँचिरहेको हुन्छ भन्ने सार बडो राम्रोसँग कविले उतारेका छन् ‘मेसिनहरूका विरुद्धमा’ कवितामार्फत।
यो तितो यथार्थ हो, विदेशमा काम गर्दै लेख्ने कविहरूले आफ्नै देशमा बसेर होल टाइमर कविता सोच्ने कविहरूको दाँजोमा कविता माझ्न नसक्नुको ज्वलन्त पीडा बोलेको छ । जसरी अरुले लेख्छन्, त्यसरी नै एक कामदारले लेखेको कविताले बजारमा आफ्नो स्थान बनाउन किन सकिरहेको छैन ? किन उमाथि शंका गरिन्छ । अनेक कमजोरीको फतुर धरिन्छन् । अन्नतः बजारबाट कविता कतै संवोधित नभइसकेपछि विलौना गर्दै कवितिरै फर्किन्छ ।
सुरेशका कविताको बनोट यस्तो छ कि, कुनै एक अंश मात्र उल्लेख गरेर कविताको भाव नै आउन सक्दैन । कविताका सम्पूर्ण लाइनहरू अपरिहार्यताका साथ प्रयोग गरिएका हुनाले कविताको भाव बुझाउन लामा-लामा अनुच्छेद उल्लेख गर्नुपर्नेहुन्छ ।
आजसम्म मैले जति पनि कविताको बारेमा आफ्नो विचार राखेँ, सम्भवतः यो ‘सम्झनाको फोटोकपी’ नै हो लामो उद्धरण लिएको । प्रायशः लेख्ने कविताहरूमा बीचबीचतिर उद्धरित अनुच्छेद भेटिन्छ । जस्तो कि, छाँगैछाँगाको बीचबीचमा दह भेटिन्छ । तर सुरेशको कविता चाहिँ सलल बग्ने खोलाजस्तो छ । यो खोलाको कलात्मकता वा बनोट ‘कस्तो छ भनी जान्नलाई निकै पर-परसम्म खोलासँगै यात्रा गर्नुपर्ने हुन्छ ।
उनको ‘रोचकहीन मान्छे’ शीर्षकको कविता पढ्दा साँच्चै निकै रमाइलो अनुभूति भयो । एकदमै आफन्त लाग्ने बिम्बहरू, विषयहरू र भावहरू । आज ‘किन ढिला पढेँ ?’ भनेर अलिकता पश्चाताप पनि लागेको छ । अनि जीवनमा कोही प्यारो मान्छेलाई यी कविताहरू पढेर सुनाउँ–सुनाउँ पनि लागेको छ ।
मैले आजसम्म थुप्रै कृतिहरूमाथि आफ्नो भावना राखिसकेको छु । असलमा म समीक्षक होइन तर किताब पढिसकेपछि लागेको कुरा लेख्ने मान्छे अवश्य हुँ । यसै साइनोले मकहाँ धेरै सर्जकका किताबहरू आइपुग्छन् । जम्मा भएका किताबहरूलाई सिरानी हाल्न, अडेश लाउन मलाई मज्जाले पुग्छ । यिनै किताबहरूसँग हाँस्न, खेल्न र झैझगडा गर्न मलाई पुगिसरी आ’छ ।
यो ‘सम्झनाको फोटोकपी’ सर्जकको सायद पहिलो कृति होला । त्यसैले थुप्रै त्रुटिहरू भेटिन्छन् । तर मिठा वाक्यगठनले गर्दा ती त्रुटिहरूलाई छोपिदिएको छ । जस्तो कि, धेरै कविताहरूमा ‘प्रिय’लाई सम्बोधन गरिएका छन् । जसले गर्दा धेरै विषयका छुट्टाछुट्टै कविताहरू ‘जम्मै एउटै कविता हो’ भनेजस्तो लाग्छ । उही प्रियसीलाई प्रेम दर्शाउन निकैवटा कविता किन ? एक प्रेमीलाई प्रेम दर्शाउन एउटै कविता काफी हुन्छ । कि, कविका धेरैजना प्रियसी त अवश्यै होइन होला ।
सुरेशका कविताहरू पढिरहँदा यस्तो लाग्छ, उनी एक्ला छन् तर उनको साथमा हरदम प्रियसीको याद साथमा छ । र त, उनले जे काम गर्दा होस् या कहीं जाँदा ‘प्रिय, प्रियसी’ भनेर आस्तिकहरूले उठ्दा÷बस्दा देवता भाकेझैँ सम्बोधन गरिरहन्छन् । यतै प्रियसी, उतै प्रियसी ।
कविले एउटा मात्र कविता देखाउँदा जसरी लेखे पनि हुन्छ, तर संग्रह नै ल्याउँदा भने एक कवितामा प्रयोग भएका बिम्ब अर्कोमा प्रयोग नहोस् भनेर हमेसा सजग रहनुपर्दछ । सम्बोधन गर्नलाई कविका लागि संसार हाजिर छ । भन्छन्, एक सफल कविले आम मान्छेले मानेको ईश्वरलाई विस्थापित गरी आफ्नो कवित्वलाई त्यो ठाउँमा स्थापित गर्दछ । तर कवि स्वयंले ठाउँठाउँ ईश्वर गुहारेको अवस्थामा पाठकलाई निराशा पैदा हुन्छ । त्यो कविता नभएर भजन हुन्छ ।
सानो चिटिक्कको आकारमा हरियाली गाउँ पहाडको फोटोवाला किताबका ५० वटा कविताहरूलाई एक बसाइ÷एक, दुई कप चिया पिउँदा पढेर सकिन्छ । हरेक कविताका रोचक समाप्तिले अर्को कविता पढ्न उत्प्रेरित गर्छ । कविका छोटा-छोटा लाइनहरू फेसबुकमा पनि आइरहन्छन् । म केही सेयर पनि गर्छु । शैली निकै मिठो छ ।
‘गाउँमा घरैपिच्छे रक्सी पाइन्छ तर साईंलीकोमा सबैभन्दा मिठो पाइन्छ’ भनेजस्तो कविता संग्रह धेरैका छन् तर सुरेशको कविता मिठो छ भन्नलाई अहिले यही काफी छ । तर एउटा कविलाई बाँच्न यतिले मात्र पर्याप्त छैन । मानव इतिहासका अप्ठ्यारा मोडहरूमा समाजद्धारा सम्झिइनका लागि केही त्यस्तो शुत्रात्मक बाटो खोज्नुपर्ने हुन्छ कि गाउँभरि रक्सी खाएर बिरामी परेका मानिसलाई निको पार्ने एउटा वैद्य होस् । जसलाई, रक्सी बेच्नेले पनि किन्नेले पनि सम्झन परोस् ।
कविलाई शुभकामना !
अन्त्यमा, जाँदाजाँदै उनैको कविताको एक पंति
कुनै दिन भयंकर पिएको बेला
आधा होस गुमाएर
आधा होस सम्झालेर
ढुलमुल ढुलमुल
पश्चातपको बाटो
तिम्रै दैलो सामुन्ने आइपुग्ने मन छ
र, तिमीलाई छिमेकीले छ्याङ्गै सुन्ने गरी
केही बताउने मन छ ।
प्रतिक्रिया 4