
२६ चैत, काठमाडौं। गत चैत १५ गते राजावादीको प्रदर्शनमा घाइते भएका आशिष बोहोरालाई चिकित्सकले गत शुक्रबार डिस्चार्जको समय तोके । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)मा उपचाररत बोहोराको औषधिवापत १९ हजारको बिल आयो ।
‘बिल आएपछि म त अक्क न बक्क भएँ । सरकारले निःशुल्क गर्ने भनेको थियो, ‘बाबु हर्कुस बोहोराले अनलाइनखबरसँग भने, ‘पैसा नतिरी डिस्चार्ज हुने अवस्था नभएपछि पैसा खोजेर छोरालाई घर ल्याएँ ।’
उनले बोहोराले थपे, ‘निर्दोष छोरालाई गोली लाग्यो । सरकारका केही निकायले बिल राख्नुहोस्, पैसा दिन्छौं भन्ने आश्वासन दिएका छन् । हेरौं के गर्छन् ।’
आन्दोलनमै सहभागी नभएका आशिषको शरीरमा गोली लागेको परिवारको दाबी छ । काठमाडौं बानेश्वर घर भएका आशिष फार्मेसीमा मार्केटिङको काम गर्दै आएका थिए । उनी आन्दोलनको दिन पनि ड्युटीमै थिए । बाफल अफिस भए पनि फिल्डमा घुमिरहनुपर्ने भएकाले उनी फिल्डमै थिए ।
भक्तपुरतर्फबाट मार्केटिङको काम सकेर उनी साढे ३ बजेतिर घर फर्कने तयारीमा थिए । आशिषका भाइ अमृत भन्छन्, ‘जडिबुटी, मनोहरा पुल नजिक टायर बालिरहेका आन्दोलनकारी देखेपछि दाइ मोटरसाइकल साइड लगाउँदै आन्दोलन हेर्न थालेछन् । त्यही बेला दाइको हिपमा गोली लागेछ ।’
छोरा बाँचेकोमा सबैले खुसी मानेको बताउँदै आशिषका बुवा हर्कुशले भने, ‘छोरा बाँच्यो त्यसमै खुसी भएँ । अस्पतालले बेड चार्ज भने निःशुल्क गर्यो । तर औषधिको १९ हजार खर्च लाग्यो ।’
राजावादी प्रर्दशनमा घाइते भएका ४७ जनाको काठमाडौं मेडिकल कलेज (केएमसी)ले उपचार गर्यो । तर, औषधिजन्य सबै खर्च घाइतेले नै व्यहोरे । अस्पताल प्रशासनका अनुसार सबै घाइते बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उदयपुरकी २२ वर्षीया रेविका खत्रीको निजामती अस्पतालको आईसियूमा उपचार भइरहेको छ । ४ बजेतिर जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर उनी डेरातिर लाग्ने तरखरमा थिइन् ।
कोटेश्वर नजिक गाडीमा आगजनी भइरहेको थियो । एक्लै अघि बढ्न डर लागेपछि कोटेश्वरको एसओएस क्षेत्र पछाडि शंकरमार्ग डेरा भएका दाजु दिनेश खत्री (ठूलोबुबाका छोरा) लाई फोन गरेर बोलाइन् ।
दिनेशले बहिनी रेविकालाई लिन मूल सडक पुगे । त्यहाँबाट उनीहरु एसओएस बालग्राम क्षेत्र हुँदै गल्लीमा छिरेर कोठातर्फ जाँदै थिए । तर कोठा पुग्नै लाग्दा दाजु-बहिनीले नै गोली लाग्यो । तर गोली कहाँबाट, कसले हान्यो कुनै भेउ नै पाएनन् ।

अहिले रेविका निजामती अस्पतालको आईसीयूमा उपचार भइरहेको भने दिनेश डिस्चार्ज भएर घरमा आराम गरिरहेका छन् ।
दिनेशका भान्जा सुरज बस्नेतका अनुसार १९ गतेसम्म अस्पतालमा उपचार गरिएको दुई लाखभन्दा बढी खर्च भएको छ । तर त्यसपछिको खर्च अस्पतालले नमागेको उनले बताए ।
‘हामीले अस्पतालमा दुई लाखभन्दा बढी खर्च गरेका छौं । सरकारले निःशुल्क उपचार गर्छु त भनेको छ । तर यो पैसा कहिले भुक्तानी गर्छ थाहा छैन,’ उनले अनलाइनखबरसँग भने ।’
प्रहरीको गोली लागेका भोजपुर ट्याम्केमैयुम गाउँपालिका–९ का २७ वर्षीय डिल्लीप्रसाद लुइँटेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
लुइँटेलको कम्मरमा लागेको गोली पछाडिबाट निस्किएको थियो । हाल उनी वार्डमा उपचाररत छन् । लुइँटेलले अनलाइनखबरसँग भने, ‘यहाँको फार्मेसीमा सबै औषधि नपाइने रहेछ । आईसियूमा रहँदादेखि अहिलेसम्म धेरै औषधि आफैंले किनेर ल्याएका छौं ।’
लुइँटेल भने कोटेश्वरमै टिकट काउन्टरमा काम गर्ने व्यक्ति हुन् ।
‘म आन्दोलन गर्न गएको व्यक्ति होइन । अनाहकमै यस्तो भोग्नुपर्यो । सरकारले राहत मिल्ने खबर पाएको छैन,’ उनले गुनासो गरे ।
भोजपुरकै रामप्रसाद राई गाउँपालिका–१ का ३० वर्षीय शम्भु दर्जीको ट्रमा सेन्टरको जनरल वार्डमा उपचार भइरहेको छ । उनको दाहिने पाखुराको छेड्दै गाली बाहिरएको थियो ।
‘बिहीबार फेरि डाक्टरले अप्रेसन गर्नुपर्छ भन्नुभएको छ । अस्पताल भित्र सबै औषधि नपाउँदा हुँदा हाम्रो १५ हजारभन्दा खर्च भएको छ,’ दर्जीले अनलाइनखबरसँग भने, ‘खै सरकारले पैसा सोधभर्ना दिन्छ भन्ने कुरामा अलमलमै छु ।’
दर्जी १८ चैतमा वैदेशिक रोजगारीका लागि कतार जाँदै थिए । दाइ नाता पर्ने व्यक्तिसँग पैसा लिन निस्केका उनी गाडी बन्द भएकाले हिँड्दै कोटेश्वर आएका थिए । कोटेश्वरमै उनलाई गोली लागेको थियो ।
सरकारले प्रदर्शनमा घाइते भएका सबैको निःशुल्क उपचार गर्न अस्पताललाई निर्देशन दिएको छ । तर केएमसीमा उपचार भएका सबै बिरामीले औषधिको पैसा भने तिरेर मात्रै डिस्चार्ज भए ।
यस विषयमा केएमसीका अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले औषधिको मात्रै पैसा लिएको बताए ।
‘घाइतेको उपचारबापत लागेको बेड लगायतको चिकित्सकीय खर्च निःशुल्क गरियो । तर औषधिको पैसा लाग्ने भनेर पहिल्यै नै जानकारी दिएको हो,’ दाहालले अनलाइनखबरसँग भने, ‘त्यहीअनुसार नै उपचार भएका सबै घाइतेको पैसा लिएका छौं ।’
दाहालले अगाडि थपे, ‘सरकारले उपचार निःशुल्क गर्ने निर्णय छ । अस्ति स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयको मान्छे आउनुभएको थियो । पैसा उहाँ (घाइते)ले तिरेर बिल लिएर भुक्तानी गछौं भन्नुभएको छ ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सबै घाइतेको निःशुल्क उपचार भएको दाबी गरे ।
केएमसीका अस्पतालमा घाइतेलाई किन पैसा तिराइयो भन्ने अनलाइनखबरको प्रश्नमा डा. बुढाथोकीले भने, ‘बिरामीले पत्रकारलाई फोन गर्नसक्ने, स्वास्थ्य मन्त्रालयमा खबर गर्न सक्दैनन् । यहाँ यस्तो कुनै पनि गुनासो आएको छैन ।’
उनले अगाडि थपे, ‘बाहिर फार्मेसीबाट औषधि उपचार गरिएको रहेछ । हामीले घाइते बिरामीलाई सोधभर्ना दिन समवन्य गरेका छौं ।’
प्रतिक्रिया 4