
२६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भूकम्प पीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।
महासंघ विपद् व्यवस्थापन समिति सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधि मार्फत राहत सामग्री हस्तान्तरण गरेका हुन् । महासंघले राहत स्वरूप चामल, मसुरो दाल, भाडाँकुडा सेट, लामखुट्टको झुल, ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, ब्यान्डेज, इलास्टिक एडजस्टेबल ब्यान्ड तथा पेपर टेप लगायत सामग्री प्रदान गरेको हमालले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले देशभित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनामा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लो पटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको महासंघ अध्यक्ष चन्द्र ढकालले बताए ।
१५ चैत २०८१ (२८ मार्च २०२५) मा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो क्षति पुर्याएको छ । त्यसलगत्तै २१ चैतमा परराष्ट्र मन्त्रालयमा बसेको बैठक अनुसार म्यानमारमा भूकम्प पीडितका लागि राहत पठाउने निर्णय भएको थियो ।
प्रतिक्रिया 4