
२६ चैत, काठमाडौं । हालै सम्पन्न छैटौं बिम्स्टेक शिखर सम्मेलन तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमण क्रममा प्रतिष्ठित इनर्जी ड्रिंक ब्रान्ड रेड बुलका थाई तथा नेपाली प्रतिनिधि र सरकारी पक्षबीच महत्त्वपूर्ण अनौपचारिक भेटघाट भएको छ।
थाइल्यान्डस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा, रेड बुलको मातृ कम्पनी टीसीपी समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या तथा नेपालमा रेड बुलको लाइसेन्सी सरस बेभरेजेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालबीच उपलब्धिमूलक भेटघाट भएको थियो ।
उक्त भेटमा सिलवाल र युविध्याले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणालाई रेड बुल ब्रान्ड थाइल्यान्ड र नेपालबीच सहकार्यको सफल उदाहरण बनेको जानकारी गराउँदै विश्वव्यापी रूपमा अद्वितीय स्वाद र गुणस्तरका लागि परिचित रेड बुल ब्रान्ड नेपाली उपभोक्तामाझ पनि अत्यन्त लोकप्रिय रहेको जानकारी समेत गराएका थिए।
नेपालको अमरापुरीस्थित फ्याक्ट्री रेड बुलको विश्वकै पाचौं फ्याक्ट्री रहेको र उत्पादनमा आवश्यक पर्ने आधाभन्दा बढी ऊर्जा सोलार प्रविधिबाट उत्पन्न गराइने हुँदा वातावरणमैत्री फ्याक्ट्री अवलम्बन गर्न सफल भएको अवगत गराउँदै सिलवाल र युविध्याले हाल नेपालस्थित फ्याक्ट्रीले ४ सय बढीलाई रोजगारी दिइरहेको तथा थप २० लाख अमेरिकी डलर लगानी गरी उक्त फ्याक्ट्रीलाई विस्तार गर्दै अझै रोजगारी सिर्जना गर्ने योजना पनि सुनाएका थिए ।
यस क्रममा सरस बेभरेजेजले नेपाली बजारमा नयाँ उत्पादन ल्याउन तथा छिमेकी राष्ट्र भारत र बंगलादेश निर्यातका लागि गृहकार्य गरिरहेको जानकारी समेत गराएको थियो। हाल नेपालमा सरस बेभरेजले रेड बुलको व्यापारबाट १ अर्ब रुपैयाँ बढी कर सरकारलाई बुझाउँदै आएको छ ।
ठूलो लगानीबीच रेड बुलले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी गम्भीर समस्याको सामना गरिरहेको बारे ध्यानाकर्षण गराइएको थियो ।
उनीहरूले कमजोर गुणस्तरका पहेँलो तथा रेड बुल जस्तै देखिने इनर्जी ड्रिंकहरूको बाक्लो उपस्थितिले रेड बुलको बौद्धिक सम्पत्तिमा क्षय हुनुका साथै नेपाली उपभोक्ता झुक्किइरहेकाले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणासँग सरकारी तवरबाट त्यसको निर्मूलनका लागि सहयोगको अपेक्षा गरेका थिए ।
सरकारी पक्षबाट पनि यस्तो अनुचित व्यापारिक अभ्यासविरुद्ध कडा कारबाही गर्ने आश्वाशन आएको थियो ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको थाइल्यान्ड भ्रमणअघि नेपालस्थित थाई राजदूत सुवापोङ सिरिसोर्नले सरस बेभरेजेजको मुख्यालय भ्रमण गर्नुका साथै खुला सिमाना भएका देश र सिमानाबाट गैरकानुनी रूपमा भित्रिने र बाहिरिने इनर्जी ड्रिंकका विषयमा चिन्ता व्यक्त गर्दै गुणस्तरमा सम्झौता गर्न नहुने र गुणस्तर नभएका अन्य उत्पादनसँग नडराउन आग्रह गरेका थिए ।
थाई राजदूतको भेटघाटअघि टीसीपीका प्रतिनिधिहरूले समेत रेड बुलको फ्याक्ट्री नै पुगेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तर सुनिश्चित गर्न अनुगमन गरेका थिए ।
प्रतिक्रिया 4