+
+
Shares

के भन्छन् राप्रपा प्रदर्शनका सहभागी ?

बाक्लो सुरक्षा उपस्थितिका बीच कुनै उग्र प्रदर्शनबिना नै राप्रपाको खबरदारी सभा सम्पन्न भयो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ चैत २६ गते २२:०३

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेशस्तरीय खबरदारी सभा मंगलबार बल्खुमा शान्तपूर्वक सम्पन्न भयो ।

बाक्लो सुरक्षा उपस्थितिका बीच कुनै उग्र प्रदर्शनबिना नै राप्रपाको खबरदारी सभा सम्पन्न भयो । बागमती प्रदेशस्तरीय सभा भएकाले राजधानी र वरपरका जिल्लाहरूबाट सभामा सहभागी हुन राप्रपाले मान्छे उतारेको थियो ।

दिउँसो मध्याह्न ११ बजेबाट जुलुस निस्किएर करिब १ बजेतिरबाट औपचारिक रूपमा सभा सुरु भएको थियो । १० दिनअघि राजावादी समूहले नै गरेको आन्दोलन हिंसात्मक बनेको र दुई जनाको ज्यानसमेत गएपछि मंगलबार सुरक्षा निकाय र राप्रपा दुवै निकै सतर्क देखिएका थिए ।

राप्रपाले आन्दोलनमा घुसपैठ नगर्न भन्दै माइकिङ नै गरेको थियो भने स्वयंसेवकहरु पनि खटाएको थियो । राप्रपाको यो शान्तपूर्ण सभामा सहभागी हुन आएकाहरू केही राजा ल्याएरै छाड्ने बताउँथे ।

केही भने अहिलेका नेताहरूको आशासमेत मरिसकेको, बरु राजा ठिकै भन्ने मनसायले सभामा आइपुगेका थिए ।

सभामा सहभागी भएकाहरूले अहिलेको व्यवस्थाकै कारण भ्रष्टाचार र बेथितिको चाङ लागेको, केही दलका नेताहरूका कारण देश नै बर्बादीतिर गएको आरोपसम्म लगाएका छन् ।

०००

सभामा भेटिएका भक्तपुरका रामेश्वर थापा अहिले राजा आउन सम्भव नभए पनि एक न एक दिन राजसंस्था फर्किएरै छाड्ने दाबी गर्छन् ।

‘एक युगमा एकपल्ट हाम्रै जीवनकालमा सनातन हिन्दू धर्मको रक्षा र राजसंस्थाको पुनर्स्थापना गरौं भन्न चाहन्छु । राष्ट्रको अखण्डताको लागि, न्यायपूर्ण नेपाली समाज निर्माणको लागि राजसंस्था आवश्यक छ । एक न एक दिन फर्केरै छाड्छ,’ अनलाइनखबरसँग कुरा गर्दै थापाले भने ।

कुरो राजाको मात्रै होइन, राजसंस्थाको, एउटा सिस्टमको हो भन्दै उनी भन्छन्, ‘यसमा नेपालीको एकताको कुरा पनि छ । राजसंस्था पुनर्स्थापन भयो भने तपाईं/हामी सबैले सुशासन पाउने दिन आउला । राम्रो राज्य होला । यो खालको भ्रष्टाचार न्यूनीकरण हुँदै जाला ।’

थापाका यी कुरामा अहिले भएका बेथिति र भ्रष्टाचारको आक्रोश पनि देखिन्थ्यो ।

‘एउटा दलको नेतालाई राष्ट्रिपति मान्ने अनि राष्ट्रघाती विधेयकमा लालमोहर लगाउने राष्ट्रपति भएको अवस्थामा देशले कसरी शान्ति र सुशासन पाउँछ ?,’ उनको प्रश्न छ ।

०००

राप्रपाको सभामा झण्डासहित बल्खु पुगेका नारायणप्रसाद भट्टराईलाई भने राजाभन्दा पनि हिन्दू धर्म चाहिएको छ । धनकुटा घर बताउने उनी कालोपुलमा बस्दै आएका छन् । उमेरले ६० पुगेको बताउने भट्टराई नेपाल सनातन हिन्दू धर्म हुनुपर्ने बताउँछन् ।

‘पहिला नेपाल हिन्दू राज्य थियो । अहिले धर्मसर्म सबै पोलेर खाए । हाम्रो पहिचान हिन्दू धर्म पुनर्स्थापना हुनुपर्छ,’ उनको भनाइ छ ।

राजासंस्था फर्केला ? भन्ने अनलाइनखबरको प्रश्नमा उनलाई चासो छैन । ‘राजा आउने/नआउने हामीलाई थाहा भएन । तर हिन्दू राज्य हुनुपर्‍यो,’ भट्टराईको भनाइ छ ।

नारायणप्रसाद भट्टराई

सेतै कपाल फुलेका अग्ला कदका भट्टराई कोही/कसैले नभनी राप्रपाको सभा हुने थाहा पाएर बल्खु पुगेको बताउँछन् । अहिलेको व्यवस्थाबाट गरिखानै नपाइने अवस्था आएको उनको भनाइ छ ।

उनीजस्तै बाग्लुङ घर बताउने बेदान्त शिरोमणि गुरु कौडिन्य पनि बल्खुमा आउनुको मुख्य कारण सनातन हिन्दू धर्मसहितको राजसंस्था फिर्ता रहेको बताउँछन् ।

धार्मिक पहिचान मास्दैमा देश विकास नहुने बताउँदै हिन्दू राज्य हुनुपर्ने उनको माग छ ।

०००

८० वर्षको उमेर भइसकेको बताउने भरतप्रसाद बञ्जारा सैनिक झण्डा अंकित कालो झोलासहित बल्खुको सभामा उपस्थित भएका थिए । ३५ वर्षसम्म सेनाको जागिर खाएर जमदारबाट अवकाश भएको दाबी गर्ने उनी अहिलेको व्यवस्थाको चर्को आलोचना गर्छन् ।

सैनिक सेवामा रहँदा उच्च तहका नेता र मन्त्रीहरुको सुरक्षागार्डको रूपमा काम गरिसकेको दाबी गर्ने उनी अहिलेको व्यवस्था रहिरहे देशले अझ धेरै दु:ख पाउने बताउँछन् ।

‘सेनामा हुँदा म धेरै नेताको गार्ड बसेँ । अहिलेका नेतालाई चिन्ने राम्रो मौका पाएँ । उनीहरुबाट आश गर्नु बेकार छ,’ अनलाइनखबरसँग उनले भने ।

काभ्रेको पनौती घर बताउने उनी बल्खुको सभामा आउनुको मुख्य कारण नै राजसंस्था फिर्ता रहेको बताउँछन् ।

भरतप्रसाद बञ्जारा

राजसंस्था फिर्ता हुनेमा आफू ढुक्क रहेको दाबी गर्दै उनी भन्छन्, ‘अहिलेका नेताहरु फेल भइसकेका छन् । उनीहरुकै कारण आउने हो राजसंस्था ।’

उनीहरूजस्तै बल्खुमा पुगेका अधिंकाश मानिसले अहिलेका नेताहररूका कारण देशमा बेथिति, भ्रष्टाचार, महँगी बढेको बताउँदै व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

खबरदारी सभामा बोल्ने राप्रपाका अधिकांश नेताले अहिलेको व्यवस्थाविरुद्ध अझै कडा आक्रोश पोखेका थिए ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?