
२६ चैत, काठमाडौं । निर्दयीपूर्ण तरिकाले पशुको ढुवानी गर्ने व्यक्ति पक्राउ परेका छन् । १० वटा गोरुलाई पीडादायी तरिकाले ट्रकमा ढुवानी गर्ने प्रबिन विश्वकर्मालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
मकवानपुर मनहरी गाउँपालिका-२ का २५ वर्षीय विश्वकर्मालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका निमित्त प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक विश्वकर्माका अनुसार यही चैत १९ गते इलाका प्रहरी कार्यालय बहादुरगंजबाट गस्तीमा खटिएको प्रहरीको टोलीले ट्रकमा निर्दयीपूर्ण तरिकाले गोरु ढुवानी गरेको फेला पारेको थियो ।
कृष्णनगर नगरपालिका-८ जमुनीस्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १९१६ नम्बरको मिनी ट्रकलाई शंकास्पद देखिएपछि प्रहरीले रोकेको थियो ।
त्रिपालले ढाकेको ट्रकभित्र नाक र पुच्छरमा डोरीले बाँधी, सो डोरी ट्रकको छतमा बाँधेर पशुलाई यातनापूर्ण तरिकाले ढुवानी गरेको पाइएको प्रहरीको भनाइ छ । ट्रक रोकेर जाँच गर्न थालेपछि ट्रकका चालक र सहचालक भागेका थिए ।
त्यतिबेला भागेका ट्रकचालक विश्वकर्मालाई ६ दिनपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई पशुपंक्षी सम्बन्धी कसूरमा मुद्दा लगाई ५ दिनसम्म थुना राख्न अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले बताए ।
ट्रकमा फेला परेका चौपायलाई गौशलामा पठाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया 4