+
+
Shares

मौलिक सभ्यता पुनर्जागरण गर्न गुरुकुल लाग्नुपर्छ : पर्यटनमन्त्री

नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने पर्यटनमन्त्री पाण्डेको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १९:०८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यता पुनर्जागरण गर्ने काममा गुरुकुल लाग्नुपर्ने बताएका छन् ।

गोकर्णेश्वर नगरपालिका–४ स्थित कान्ति भैरव गुरुकुलले मंगलबार आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाए जस्तै भूमिका अहिलेका गुरुकुलले भूमिका खेल्नुपर्ने बताए ।

नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ । मन्त्री पाण्डेले त्यसतर्फ मन्त्रालयले काम गरिरहेको बताए ।

‘संस्कृत विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यस अनुसार काम हुन सकेन कि भनी चर्चा चलिरहेको छ, राज्यका अन्य निकायले पनि जनभावना अनुसार काम गर्न नसकेकाले काममा सुधार गर्न सबैको सहयोग आवश्यक पर्छ,’ पाण्डेले भने, ‘संस्कृत विश्वविद्यालय भौतिक सम्पत्ति भएको संस्था हो, त्यसको सदुपयोग गरिनुपर्छ, पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रूपमा स्थापित गर्न गृहकार्य भइरहेको छ ।’

राम्रोसँग संस्कृत र अंग्रेजी जानेकाको आवश्यकता अहिले विश्वमै रहेको उल्लेख गर्दै उनले नेपाल संस्कृत विश्विद्यालयका विद्यार्थीले अहिले विश्वमै उत्कृष्ट ठहरिएका विश्वविद्यालयमा संस्कृत प्राध्यापन गरिरहेको जानकारी गराए । संस्कृत उन्नयनमा जयतु संस्कृतम् संस्थाको पनि भूमिका रहेको उनको भनाइ छ । उनले सबै संस्थालाई जोडेर अघि बढ्नुपर्ने बताए ।

नेपाल वेद र बुद्ध दुवैको भूमि भएकाले दुवै ज्ञानको केन्द्रका रूपमा यसलाई विश्वमा स्थापित गर्न सकिने मन्त्री पाण्डेको भनाइ छ । पछिल्लो समय भौतिकभन्दा आध्यात्मिक पक्ष महत्त्वपूर्ण हुँदै गएकाले सभ्यता, संस्कृति, पूर्वीय साहित्य र संस्कृत भाषाको गरिमाबाट समाजलाई प्रेरित गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?