
२६ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मानवीय सहायता क्षेत्र गोदामघरको मंगलबार साँझ अनुगमन गरेका छन् ।
सरकारले विभिन्न निकायमा रहेको मौज्दात राहत सामग्री तथा निजी क्षेत्रबाट संकलित अत्यावश्यक वस्तुहरू बुधबार नेपाल वायु सेवा निगमको चार्टर विमानबाट म्यानमार पठाउँदै छ ।
सहयोग सामग्री म्यानमार पठाउनु अघि गृहमन्त्री लेखकले विपद्का बेला सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिँदै स्तरीय सहयोग समग्रीहरू पठाउनुपर्ने बताए ।
गृहमन्त्री लेखकले म्यानमारमा गएको विनाशकारी भूकम्पपछि नेपाल सरकारले मानवीय सहायता उपलब्ध गराउने निर्णयपछि सहायता क्षेत्र गोदामघर अनुगमन गर्न पुगेका हुन् ।
गृह मन्त्रालयका अनुसार सरकारले भोलि बुधबार खाद्यान्न, औषधि, उपकरण, लत्ताकपडा, त्रिपाल, टेन्ट र लत्ताकपडा लगायत सामग्री म्यानमार पठाउँदै छ ।
१५ चैतमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्पले म्यानमारमा ठूलो जनधनको क्षति भएको थियो ।
म्यानमारका भूकम्प पीडितको सहायताका लागि सरकारले २ करोड ४७ लाख बराबरको ४१ टन सामग्री पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
यसअघि २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पका बेला म्यानमारले पनि नेपाललाई सहयोग उपलब्ध गराएको थियो ।
प्रतिक्रिया 4