+
+
Shares

उग्रता नदेखाई राप्रपाले सत्तालाई सोध्यो तिखा प्रश्न

राजावादी प्रदर्शनको नाममा ११ दिनअघि दुर्गा प्रसाईंलाई कमान्डर तोकेर तीनकुनेमा मच्चाइएको अराजकताभन्दा विलकुल भिन्न थियो राप्रपाको बल्खु प्रदर्शन । राप्रपा नेताहरूले शालीन प्रदर्शनमार्फत् सत्तालाई तिखा प्रश्नहरू उठाए

गौरव पोखरेल गौरव पोखरेल
२०८१ चैत २६ गते २२:१२

२६ चैत, काठमाडौं । राजावादी समूहको नाममा ११ दिनअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबाट झस्किएको प्रहरीले मंगलबार हुने सभाको पूर्वसन्ध्यामा तीन सुरक्षा निकायको संयुक्त बैठक राखेको थियो । सुरक्षा अधिकारीहरूको निष्कर्ष थियो, ‘भीडको भर हुन्न, जुनसुकै बेला परिस्थिति बिग्रिन सक्छ ।’

संसद्मा सहभागी भएर राजावादी एजेण्डाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शन तुलनात्मक रुपमा संयमित हुने कतिपय अधिकृतहरूले विश्लेषण गरेका थिए ।

यति हुँदाहुँदै पनि बहुमत सुरक्षा अधिकृतहरूको राय भीडलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने थियो । त्यसैले राप्रपालाई प्रदर्शन स्थल तोकिएको बल्खु आसपास रहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, भाटभटेनी सुपरमार्केट लगायत महत्त्वपूर्ण संरचनामा मंगलबार सबेरै बाक्लो प्रहरी परिचालन गरिएको थियो ।

तर राप्रपाले प्रदर्शनको नाममा कुनै उग्रता देखाएन, बरु शान्तिपूर्ण प्रदर्शनमार्फत् सरकारलाई चर्को खबरदारी गर्न सक्यो । बागमती प्रदेशस्तरीय खबरदारी सभा भनिएको राप्रपाको शक्ति प्रदर्शनमा कुनै अप्रिय गतिविधि भएन, बरु उग्र होहल्ला गर्न खोज्नेलाई राप्रपाले नै खटाएका स्वयंसेवकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनस्थलमा हो–हल्ला गर्ने, अशान्ति मच्याउने खाल्का उग्र गतिविधि गरेको देखिए नियन्त्रणमा लिन स्वयंसेवकहरूलाई पहिल्यै निर्देशन दिइएको थियो । ‘त्यही अनुसार केहीलाई समातेर प्रहरीको जिम्मा लगाएका थियौं’, उनी भन्छन् ।

राप्रपाका नेता, कार्यकर्ताहरूले सभा सकिएपछि प्रदर्शनस्थल वरपर सरसफाइ पनि गरेका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनले स्टेजबाटै काठमाडौं महानगर मेयर बालेन शाहप्रति संकेत गर्दै चिठी काट्न कोही तयार भएर बसेकाले त्यसका लागि ठाउँ नदिन उद्घोष गरेका थिए ।

हिंसाविना पनि आफ्नो एजेण्डा राख्न सकिन्छ, सरकारलाई खबरदारी गर्न सकिन्छ भन्ने बलियो सन्देश अरुलाई समेत गएको छ । पछिल्लो समय त्यो सन्देश दिनु एकदमै जरुरी भइसकेको थियो । – माधव थापा, पूर्वडीआईजी/भिड नियन्त्रण विज्ञ

बल्खुमा कार्यक्रम सकिएपछि सरसफाइ गरिएको थाहा पाएका काठमाडौंका मेयर शाहले मंगलबार साँझ नै लिङ्देनलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काइसकेका छन् । ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।’

राजनीतिशास्त्री प्रा. डा. लोकराज बरालको बुझाइमा, राप्रपाको नेतृत्वले राजनीतिक सुझबुझ देखाएकैले गर्दा बल्खुको प्रदर्शन शान्त, संयम तर प्रभावकारी बन्न सक्यो ।

‘त्यो घटनाका कारण राजावादी समूहको गतिविधि पनि बहसमा आयो, गणतन्त्र सम्बन्धी विषय पनि बहसमा आयो, उनीहरूलाई उत्ताउलो हुनु हुँदैन रहेछ भन्ने भयो’, बरालले अनलाइनखबरसँग भने, ‘दुर्गा प्रसाईंको उद्दण्डता एकातिर छ, तर राजनीतिक शक्तिले एजेन्डा उठाउँदा प्रभावकारी हुन सक्छ भन्ने देखियो ।’

तीनकुनेलाई नै देखाएर सद्भाव बटुल्ने प्रयास

विवादित पृष्ठभूमिका दुर्गा प्रसाईं जनकमाण्डर रहेको त्यो हिंसात्मक प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफैं त सहभागी भएनन् । अधिकांश नेताहरूले प्रसाईं नेतृत्वमा प्रदर्शनले मर्यादा गुमाउने पूर्वआकलन गर्दै अनुपस्थित भएका थिए । यद्यपि, राजसंस्था पुनर्स्थापनाको माग साझा एजेन्डा भएकाले राप्रपाले १५ चैतको प्रदर्शनलाई औपचारिक समर्थन भने दिएको थियो । ।

त्यो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको ज्यान गयो, २२ जनालाई प्रहरीको गोली लाग्यो । सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फ गरेर एक सयभन्दा बढी घाइते भए । त्यो प्रदर्शनमा राज्य पक्षबाट दमन भएको जिकिर गर्दै राप्रपा नेताहरूले आफ्नो पक्षमा सद्भाव बटुल्ने प्रयास गरे ।

मृतक सविन महर्जन र पत्रकार सुरेश रजकको कुनै दोष नभएको भन्दै उनीहरूले त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने जिकिर गरे । तर, हिंसाबाट आफूहरूले भविष्य नदेखेको भन्दै शान्तिपूर्ण प्रदर्शनबाटै आफ्ना मान्यताहरू स्थापित गर्ने स्टेज चढेका अधिकांश नेताहरूले दोहोर्‍याए ।

‘हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौं’, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका छन्, ‘शान्तिपूर्ण प्रदर्शन र दबाबबाटै हाम्रो मान्यताहरू स्थापित गर्न सक्छौं भन्नेमा विश्वस्त छौं ।’

१५ चैतमा भीडलाई उग्र बनाउन जिम्मेवार रहेको आरोपमा राप्रपाका नेता धवलशमशेर राणा, रवीन्द्र मिश्र लगायत अझै काठमाडौं प्रहरीको हिरासतमा छन् । उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबारै प्रहरीलाई अनुमति दिएको छ ।

यस्तोमा बल्खुको मञ्चबाट राप्रपाका नेताहरूले राणा र मिश्रलाई राज्यले आस्थाकै आधारमा नियन्त्रणमा लिएको जिकिर गरे । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले मिश्र र राणालाई अभिव्यक्ति दिएकै भरमा मुद्दा चलाउने हो भने सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै मुद्दा चलाउनुपर्ने जिकिर गरे ।

ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको वकालत गरेको भन्दै दुवै विषय संविधानमा नभएकाले उनीहरूलाई मुद्दा चलाउनुपर्ने तर्क तामाङले गरे । ‘सरकारले तुरुन्तै उहाँहरू (रवीन्द्र र धवल) लाई विनाशर्त रिहाइ गरोस्’, उनले भने ।

अध्यक्ष लिङ्देनले पनि फरक मत राखेकै कारण आफ्नो पार्टीको नेताद्वयलाई अपमानजनक रुपमा हिरासतमा राखिएको बताउँदै गर्दा फरार दुर्गा प्रसाईंलाई प्रहरीको फन्दाबाट छुटाइएको भन्दै प्रश्न उठाए ।

‘प्रहरीले दुर्गा प्रसाईंलाई समातोस् या नसमातोस्, तर उनी प्रहरीको फन्दाबाट छुटे’, उनले भने, ‘जनताको प्रतिनिधिलाई चाहिँ खोरमा अपमानित ढंगले राख्नु भएको छ, पार्टीका उपाध्यक्षलाई हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँड्नु भएको छ, त्यसले हामी होचिएका छैनौं । त्यसलाई इखको रुपमा लिएका छौं ।’

सभालाई सम्बोधन गर्दै लिङ्देनले तीनकुने घटनामा प्रहरीको भूमिकालाई लिएर खरो आलोचना पनि गरे । उनले प्रहरी प्रमुख दिपक थापालाई सत्तारुढ पार्टीको भातृ संगठनको सह–अध्यक्ष जस्तो बनेको कटाक्ष समेत गर्न पुगे ।

तीनकुने प्रकरणमा भएको गतिविधिबारे छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा निष्पक्ष छानबिन समिति गठन गर्न समेत उनले माग गरे ।

पहिले राप्रपाले मंगलबार भृकुटीमण्डपमा प्रदर्शन गर्ने तयारी गरेको थियो । तर, अन्तिममा सरकारले सुरक्षा संवेदनशीलतालाई देखाउँदै बल्खु वा सिफलमध्ये एउटा छान्न भनेको थियो । यस्तोमा आफूहरू बल्खुसम्म आएको विषयलाई कमजोर नठान्न समेत उनले उद्घोष गरे ।

‘राप्रपा आज बल्खु जाउ भन्यो बल्खुमै आयो कमजोर भयो नठान्नुहोला । अर्कोचोटि सिफल आउ भनौला, अर्कोचोटि कलंकी जाउ भनौंला यो नठान्नु, राप्रपा भाग्यो नठान्नु,’ उनले भने, ‘शान्ति अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु । हामी पछि हटेको होइन, याद गर्नु, आज देश दुनियाँले तपाईंको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाए । त्यही देखाउन हामी यहाँ आएका हौं ।’

‘हिंसाबिना पनि एजेण्डा राख्न सकिन्छ’

काठमाडौंमा सहकारी पीडितदेखि लघुवित्त पीडितसम्म, शिक्षकदेखि संघीयता खारेजीको माग गर्दै चित्रबहादुर केसीसम्मले प्रदर्शन गरिरहेका बेला राप्रपाको प्रदर्शनमा संख्यात्मक हिसाबले त्यति धेरै थिएन ।

प्रहरीले यो प्रदर्शनमा २५ सयदेखि ३ हजार मानिस सहभागी भएको रिपोर्टिङ गृह मन्त्रालयमा गरेका छन् । तर, राजनीतिक सन्देश दिने हिसाबले राप्रपाको प्रदर्शन सफल भएको सुरक्षा विश्लेषकहरू बताउँछन् ।

‘खासमा हिंसाविना पनि आफ्नो एजेण्डा राख्न सकिन्छ, सरकारलाई खबरदारी गर्न सकिन्छ भन्ने बलियो सन्देश अरुलाई समेत गएको छ’, भिड नियन्त्रणमा लामो अनुभव भएका अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) माधव थापा भन्छन्, ‘पछिल्लो समय त्यो सन्देश दिनु एकदमै जरुरी भइसकेको थियो ।’

विगतमा शान्तिपूर्ण प्रदर्शनबाट आफ्ना माग सम्बोधन भएका प्रशस्तै उदाहरण भए पनि केही समूहले अराजकतालाई नै खबरदारीको बाटो ठानेको उनको विश्लेषण छ । ‘तर, मंगलबारको प्रदर्शनमा नेताहरूले जसरी हिंसाविरुद्ध अभिव्यक्ति दिए, त्यो एकदमै राम्रो थियो’, उनले भने, ‘शान्तिपूर्ण प्रदर्शन गर्ने विषयमा अरुले पनि सोच्नुपर्छ ।’

यसपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि राम्रो तयारी गरेको देखिएको अधिकृतहरू बताउँछन् ।

‘प्रदर्शन अघि तीन वटै सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठक बस्यो, त्यसले पूर्वतयारी समेत राम्रो भयो’, काठमाडौं प्रहरीका पूर्वप्रमुख समेत रहेका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदी भन्छन्, ‘प्रदर्शनकारी पक्षबाट समेत भिडलाई व्यवस्थापन गर्न लिएको अग्रसरता उल्लेखनीय देखियो ।’

तस्वीरहरूः आर्यन धिमाल/अनलाइनखबर 

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?