२६ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा मंगलबार बुटवल लुम्बिनीका गोलकिपर दीप कार्कीले सानदार प्रदर्शन गरे । दीपकै उत्कृष्ट प्रदर्शनमा काठमाडौंले दश खेलाडीमा झरेको बुटवल विरुद्ध गोल गर्न संघर्ष गर्नुपरेको थियो ।
अन्तिमसम्म दीपले रोकेपनि ८९औं अमादोउ डिओपको एक मात्र गोलमा काठमाडौंले बुटवललाई १-० ले हराएर पहिलो जित निकाल्यो । यो जितले काठमाडौंलाई राहत दियो भने बुटवलको शीर्ष चारको सम्भावना अब लगभग सकिएको छ ।
तर मैदानमा प्रदर्शन भने दीपकै रह्यो । उनले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान ताने ।
दीपले लगातार सानदार बचाउ गर्दा काठमाडौंका खेलाडीहरु गोल गर्न निकै संघर्ष गरिरहेका थिए ।
दीपले खेलमा ८ बचाउ गरेका थिए । दीप तिनै खेलाडी हुन् जसलाई अक्सनमा ७ वटै फ्रेन्चाइजहरुले सुरुमा बोली लगाएनन् । सुरुमा उनी अनसोल्ड भएका थिए । तर पछि बुटवल लुम्बिनीले उनलाई विसलिस्टबाट लिएको थियो । टिममा दीप र टिकेन्द्र सिंह थापा हुँदा बुटवलले मात्र विदेशी गोलकिपर भित्र्याएन ।
खेलपछि दीपले अक्सनमा अनसोल्ड हुँदा आफूलाई धेरै चित्त दुखेको र प्रमाणित गर्नु रहेको बताए । ‘मुख्य कुरा मैले प्रुभ गर्नु थियो । अक्सनमा अनसोल्ड हुँदा मलाई अलीकती चित्त दुखेको थियो । म त्यही माइन्डसेटमा आएको थिएँ । कतिपय गोलकिपर अझै अनसोल्ड हुनुहुन्थ्यो । सबैको लागि मैले आफ्नो प्रदर्शन दिएको हो ।’ दीपले भने ।
बुटवल बाहेक यस सिजन ६ टोलीले विदेशी गोलकिपर अनुबन्ध गरेको थियो । त्यसमा काठमाडौंले पनि विदेशी गोलकिपर बेन्चमा राखेर नेपालकै अभिषेक बराललाई खेलाइरहेको छ । अभिषेकले पनि आफूलाई प्रमाणित गर्दै आएका छन् ।
दीपले विदेशी खेलाडीको कोटा धेरै हुँदा फ्रेन्चाइजहरुले विदेशी किपर नै ल्याएको हुन सक्ने बताए । ‘मेरो विचारमा विदेशी कोटा बढी भएर होला । त्यही भएर क्लबहरु विदेशी ल्याउँदा बेस्ट हुन्छ भनेर होला । तर हाम्रो नेपाली गोलकिपरले पनि प्रुभ गरिराछ । गोलकिपरको भावना पनि बुझ्न पर्यो ।’ उनले भने ।
अक्सनमा राष्ट्रिय टिमबाट खेलिसकेका र काठमाडौं रेजर्सलाई पहिलो संस्करणमा च्याम्पियन बनाउँदा कप्तान समेत रहेका विकेश कुथु, राष्ट्रिय टिममा परिसकेका र यसअघि एनएसएल खेलिसकेका विशाल सुनार जस्ता किपरहरु ‘अनसोल्ड’ भएका थिए ।
दीप हाल नेपाली टिमको दोस्रो रोजाईँको गोलकिपर हुन् । कप्तान किरण चेम्जोङ नम्वर वान गोलकिपरको रुपमा छन् । किरण नेपालका लागि एक सय खेल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । किरणले करियरको उत्तरार्धमा पनि उत्कृष्ट प्रदर्शन गर्दा अन्य गोलकिपरहरुको लागि राष्ट्रिय टिमबाट मैदान उत्रने अवसर कमै मात्र मिलेको छ ।
अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीहरुको विवाद हादा किरण चेम्जोङलाई राष्ट्रिय टिमबाट बाहिर रख्दै दीप कार्कीलाई पहिलो रोजाईँमा खेलाएका थिए । त्यसबेला पनि दीपले राष्ट्रिय टिमका लागि राम्रो प्रदर्शन गरेका थिए ।
दीपलाई राष्ट्रिय टिमको नम्वर वान गोलकिपर बन्ने यात्रा कति टाढा छ भनेर सोध्दा उनले अझै प्रुभ गर्न बाँकी रहेको बताए ।
‘अझै पुगेको छैन जस्तो लागछ । आफ्नो मिहिनेत अझै जारी राखेको छु । किरण दाईसँग कम्पिटिसन भईरहेको छ । मैले अझै प्रमाणित गर्न बाँकी छ ।’ उनले भने ।
तर उनले जसरी क्लबका लागि घरेलु फुटबल र प्रेन्चाइज लिगमा प्रदर्शन गरिरहेका छन् त्यो हेर्दा दीपका लागि अब राष्ट्रिय टिमको नम्बर वान गोलकिपरको यात्रा धेरै टाढा छैन ।
काठमाडै रेजर्सका बेल्जियन गोलकिपर प्याट्रिक डे वाइल्डले समेत गोलकिपर दीप कार्कीले राम्रो खेलेको भन्दै प्रशंसा गरे । दीप काठमाडौं विरुद्ध एनर्जेटिक प्लेअर अफ दि म्याच बनेका थिए ।
दीपले यसअघि झापा एफसी विरुद्धको पहिलो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै प्लेअर अ दि म्याचको अवार्ड जितेका थिए । धनगढी एफसी विरुद्ध भने उनको टिम बुटवल ४-१ ले पराजित भयो । उक्त खेलमा दीप विरुद्ध धनगढीका कृतिश रतन छुन्जुले उत्कृष्ट गोल गरेका थिए ।
यस्तै तेस्रो खेलमा एफसी चितवन विरुद्ध पनि दीपले राम्रो प्रदर्शन गरेका थिए । तर त्यस खेलमा पनि बुटवल १-० ले पराजित भएको थियो ।
दीपले घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लबबाट खेलिसकेका छन् । यसबाहेक उनले मोफसलका गोल्डकप प्रतियोगिताहरुमा अन्य विभिन्न क्लबहरुबाट समेत खेलेका छन् । यसअघि दीपले एनएसएलको दोस्रो संस्करण वीरगंज युनाइटेडबाट खेलेका थिए ।
तस्बिर: एनएसएल
प्रतिक्रिया 4