
भारतको नयाँदिल्लीस्थित पुलिसले अन्ततः एकजना कुख्यात तथा अनौठो बानी भएको चोरलाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्न लाग्दा आफैंले लगाएको पाइन्टमा शौच गर्ने र मानिसहरुको ध्यान उतैरित मोडेर भाग्न सफल हुने गरेका २७ वर्षीय दीपक नाम गरेका युवकलाई यसपटक भने प्रहरीले पक्राउ गरेको हो ।
आफूले चाहेको बेला दिसा गरिहाल्न सक्ने क्षमता भएका दिल्लीमा बस्ने ती युवकले कानूनलाई छल्न तथा सजायबाट बच्नका लागि सधैं आफ्नो त्यही क्षमताको दुरुपयोग गर्दै आएका थिए ।
दिल्ली पुलिसका प्रवक्ताका अनुसार दीपक आफ्नो कपडामा दिसा गरेरै यसअघि कैयन् पटक पक्राउ नहुँदै भागिसकेका छन् । उनको त्यही क्रियाकलापका कारण प्रहरीले उनको नाम ‘पूप एण्ड रन’ अर्थात् दिसा गर्ने अनि भाग्ने व्यक्ति राखेका छन् ।
तर यसपटक भने पुलिसले जस्तालाई तस्तै भन्ने खालको जुक्ति लगायो । उनलाई पक्रिनका लागि प्रहरीहरू मास्क तथा पन्जा लगाएर गए ताकि उनले शरीरमा दिसा गरेको खण्डमा पनि त्यसको दुर्गन्ध थाहा पाउन नसकियोस् । प्रहरी पक्रिन आउँदा यसपटक पनि उनले पाइन्टमै दिसा गरेर भाग्ने तयारी गरिरहेका थिए । तर, उनको त्यो फोहोरी योजना पूरा हुन पाएन । मास्क र पन्जा लगाएका प्रहरीले उनलाई त्यहीँ नै नियन्त्रणमा लिए ।
दीपकविरुद्ध सदर बजार पुलिस चौकीमा हतियार ऐनअन्तरगत मुद्दा दर्ता भएको छ । उक्त क्षेत्रमा कैयन् पटक मोबाइल चोरी तथा छुरासँग सम्बन्धित अपराधमा संलग्न भएको ती युवकले स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार उनी नामुद अभियुक्त हुन् जसको विरुद्धमा दिल्लीमा मात्रै आधा दर्जन बढी मुद्दा छन् । तर, यतिधेरै उजुरी र मुद्दा हुँदाहुँदै पनि दिसा गरेर भाग्ने कलाका कारण उनी लामो समयदेखि पुलिसको पन्जामा पर्नबाट जोगिँदै आएका थिए ।
प्रतिक्रिया 4