+
+
Shares

सांगीतिक माहोलमा शिक्षक आन्दोलन : कोही जादू देखाउँदै, कोही नाचगान

बानेश्वर–बबरमहल सडकखण्डमा हरेक दिन भेला भएर शिक्षक–कर्मचारीहरुले सरकारलाई झकझक्याउन रचनात्मक शैली अपनाएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ चैत २७ गते ८:३३

२७ चैत, काठमाडौं । दिउँसोको टन्टलापुर घाम । त्यही घाममा रातो टोपी लगाएर कोही मादल बजाइरहेका छन् । कोही हार्मोनियम, मादल, बाँसुरी, डम्फु, खैंजडी र मुजुराले संगीत भर्दै गाइरहेका छन् ।उनीहरूलाई ताली बजाउँदै र नाच्दै महिला-पुरुषहरूले साथ दिइरहेका छन् ।

झट्ट हेर्दा लाग्छ कुनै दोहोरी वा सांगीतिक कार्यक्रम आयोजना भइरहेको छ । तर, गाउने, बजाउने र ताली ठोक्नेहरू सांगीतिक कन्सर्टका व्यावसायिक कलाकारहरू होइनन् । उनीहरू हुन् काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरु ।

उनीहरूले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् । रोचक त के छ भने सरकार विरुद्धको आन्दोलन पूरै सांगीतिक माहोलमा भइरहेको छ । कोही शिक्षकले जादू देखाएर मनोरञ्जन दिइरहेका छन् ।

बानेश्वर–बबरमहल सडकखण्डमा हरेक दिन भेला भएर शिक्षक–कर्मचारीहरुले सरकारलाई झकझक्याउन रचनात्मक शैली अपनाएका छन् ।

विभिन्न राजनीतिक दल, पेशागत संघ–संगठनहरुको समेत समर्थन पाइरहेका शिक्षक–कर्मचारीहरुका माग पूरा गर्न भने सरकार गम्भीर देखिएको छैन ।

त्यसैले तनहुँको अमरज्योति माविका शिक्षकहरु बिजुलीबजार पुलनेर भेला भएर सल्ला धुपैले बोलको गीतको लयमा सरकारलाई सोध्दैछन्–

सडकमा कहिलेसम्म हिंडाउने ?

हामी नै हो कखरा चिनाउने,

सल्ला धुपैले…।’

हरेक दिन बिहान १० बज्दा नबज्दै शिक्षक–कर्मचारीहरु माइतीघर, बबरमहल–बिजुलीबजार पुल क्षेत्रमा भेला हुन थाल्छन् । केहीबेर सरकार विरुद्ध नारा लगाउँछन् । अनि सडकमै बसेर यसैगरी नाचगानमा व्यस्त हुन्छन् । तीन–चार बजेपछि भने उनीहरु लाखापाखा लाग्छन् ।

बानेश्वर चोकतर्फको निषेधित क्षेत्रतिर आउनबाट शिक्षकहरुलाई रोक्न तैनाथ प्रहरीहरु पनि सडकमा ब्यारिकेड हटाउन थाल्छन् । स्वयंसेवकहरु भने पानीका बोतल, कागज र प्लास्टिकहरु टिपेर सडक सफा गर्छन् ।

शिक्षकहरु दिनहुँ यसैगरी आन्दोलनमा उत्रिंदै आएका छन् । सरकारले उनीहरुका माग कहिले पूरा गर्छ र उनीहरु विद्यालय फर्किन्छन् ठेगान छैन ।

उनीहरु आफूहरुको यो निर्णायक आन्दोलन भएकाले माग पूरा नभएसम्म विद्यालय नफर्किने अडानमा छन् ।

तर उनीहरुका गीतमा भने छिटो विद्यालय जान पाए हुन्थ्यो भन्ने संकेत मिल्दछ ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाका शिक्षकहरुको टोली कर्णाली प्रदेशका जिल्लामा बढी चर्चित सिंगारु नाच नाच्दै सरकारलाई सोध्दैछन्–

याँ बसौं कि घर गैजाउँ

ए सरकार मर्जी पाउँ…।’

नेपाल शिक्षक महासंघको नेतृत्वमा पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका शिक्षक तथा कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय बन्द र एसईई परीक्षाको उत्तरपुस्तिका नजाँच्ने घोषणा गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

शिक्षक कर्मचारीहरुको आन्दोलनले वैशाख १ देखि सुरु हुने नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियान प्रभावित हुने हो कि भन्ने चिन्ता छ । त्यसैले सरकारले उनीहरुलाई वार्तामा बोलाएको छ ।

तर विगतका वार्तामा शिक्षा ऐन जारी गर्ने भनेर भएको सहमति कार्यान्वयन नभएकाले उनीहरु फेरि वार्ताको औपचारिकता पूरा गर्नुभन्दा ऐन नै छिटो जारी हुनुपर्ने अडानमा छन् ।

विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्र निर्णय लिंदै ऐन जारी गर्न उनीहरुले माग राखेका छन् । त्यसका लागि संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत शिक्षा ऐन जारी गर्नुपर्ने शर्त शिक्षक महासंघले राखेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेको थियो । महासंघले पनि विज्ञप्ति मार्फत नै आफ्ना अडानबारे जानकारी गराउँदै अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नरहेको स्पष्ट पारेको छ ।

पर्साको ठोरी गाउँपालिकाका शिक्षकहरु चुट्का भजनको लयमा धेरै अन्योलमा नपरी छिटो शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्दैछन् । खैंजडी र मादलको तालमा गाउँदै उनीहरु भन्छन्–

शिक्षा ऐन, शिक्षा ऐन,

छिट्टै आए जान्छौं हामी विद्यालयमा ।

अन्योल नपारे, अन्योल नपारे

देशको विकास गर्नलाई शिक्षा सुधारे…।’

सरकारले आफ्ना माग नसुनेको विरोधमा उनीहरुले मंगलबार दिउँसै टर्च बालेर सांकेतिक विरोध गरेका थिए । त्यसअघि उनीहरूले कालो मास्क लगाएर, मौन प्रदर्शन गरेर, सडकमा सुतेर तथा सिटी फुकेर सरकारको ध्यानाकर्षण गराएका थिए । हरेक राजनीतिक दलका कार्यालयमा पुगेर पनि आफ्ना मागमा समर्थन खोजेका थिए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो ‘अन्तिम र निर्णायक आन्दोलन’ भएको शिक्षकहरु बताउँछन् । यो आन्दोलनको बलमा सरकारले माग पूरा गर्छ कि गर्दैन निश्चित छैन ।

नेपाल राष्ट्रिय मावि निचुटा पर्साका शिक्षक देवेन्द्र साह भने आन्दोलनको बलमा शिक्षा ऐन जारी हुनेमा विश्वस्त देखिन्छन् । मंगलबारको आन्दोलनको भीडमा डोरी र बलको सहायतामा जादू देखाउँदै मनोरञ्जन थपिरहेका साह भन्छन्, ‘शिक्षकहरुको कलममा धेरै तागत हुन्छ । यसले जे पनि गर्न सक्छ ।’

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?