
२७ चैत, विराटनगर । कोशी प्रदेशले सुरु गर्न लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका छन् ।
पर्यटकीय क्षेत्र तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी थियो ।
कोशी प्रदेश सरकारले पनि ओलीले नै उद्घाटन गर्ने भन्दै प्रचारप्रसार गरेको थियो । तर, प्रधानमन्त्री ओली नआउने भएका छन् । उनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पठाएका हुन् ।
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार उपप्रधानमन्त्री सिंहले आजको कार्यक्रम उद्घाटन गर्ने तयारी छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आउने वचन दिएपछि उनकै नाम राखेर निमन्त्रण पत्र छापिएको थियो ।
प्रचारप्रसार पनि प्रधानमन्त्रीकै नाम जोडेर गरिएको थियो । तर, अन्तिम समयमा ओली आएनन् ।
यो वर्ष तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेको छैन । ओली आउने भएपछि गुराँस फुलाउने प्रयासमा स्थानीय सरकारले दमकल प्रयोग गरेर गुराँसको बोटमा पानी समेत हालेको थियो ।
आउँछु भन्दै कोशी प्रदेशमा तय भएको कार्यक्रममा नआएको ओली पहिलोपटक भने होइन । यसअघि नेकपा एमाले मोरङको १०औं जिल्ला अधिवेशन र प्रेस चौतारी नेपालको महाधिवेशनमा ओली आउने भन्दै प्रचारप्रसार भएको थियो । तर, ती कार्यक्रममा पनि ओली आएनन् ।
फागुन १६ गतेको एमालेको जिल्ला अधिवेशनको उद्घाटनमा ओलीले उपाध्यक्ष रामबहादुर थापा बादललाई पठाएका थिए । चैत १० गते प्रेस चौतारी महाधिवेशनको उद्घाटनमा महासचिव शंकर पोखरेललाई पठाएका थिए ।
कोशी प्रदेशले सुरु गर्न लागेको पर्यटन वर्ष २०८२ को उद्घाटन
कोशी प्रदेशको पर्यटन वर्षको उदघाटन कार्यकममा नजाने निर्णय लिएका प्रधानमन्त्री ओली आज अर्घाखाँची जाने कार्यक्रम तालिका उनको सचिवालयले सार्वजनिक गरेको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलन उद्घाटन गर्ने र त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्ने तालिका छ ।
प्रतिक्रिया 4