
सोसल मिडिया प्लाटफर्म एक्सले प्यारोडी अकाउन्ट नियन्त्रणका लागि कठोर नियम ल्याउने भएको छ ।
अप्रिल १० देखि लागू हुने गरी एक्समा यस्तो नियम लागू हुनेछ जस अनुसार अर्को कुनै व्यक्ति वा प्रयोगकर्ताको छद्मरुपयुक्त अकाउन्टहरुले सुरुमै प्यारोडी वा फेक जस्ता शव्दहरु राख्नैपर्नेछ ।
साथै यस्ता प्यारोडी अकाउन्टहरुमा सम्बन्धित व्यक्तिको वास्तविक तस्वीर पनि प्रयोग गर्न पाइने छैन ।
प्यारोडी अकाउन्टहरुले आफ्नो पहिचान उल्लेख नगर्दा प्रयोकगर्ताहरु झुक्किने गरेका थिए । एक्समा स्वयम् यसका मालिक एलन मस्ककै प्यारोडी अकाउन्टहरु रहेका छन्, जसले वास्तविक अकाउन्टकै झल्को दिनेगरी प्रयोगकर्तालाई झुक्याउँछन् ।
एक्सले शनिबार आफ्नो आधिकारिक अकाउन्टमा पोष्ट गर्दै लेखेको छ- यो परिवर्तन प्रयोगकर्तालाई त्यस्ता प्यारोडी, कमेन्ट्री तथा फ्यान अकाउन्टहरुको गैरआबद्धताका विषयमा राम्रोसँग बुझाउनका लागि डिजाइन गरिएको हो । यसले भ्रम पार्ने तथा छद्मपनाको जोखिम कम गर्दछ ।
उक्त पोष्टमा टिप्पणी गर्दै एक प्रयोगकर्ताले नयाँ नियमले एलन मस्ककै हजारौँ फेक अकाउन्टहरुलाई निराकरण गर्ने अपेक्षा व्यक्त गरेका छन् । अर्का एकजना प्रयोगकर्ताले चाहीँ आफूलाई एलन मस्कको फेक अकाउन्टबाट हप्तामा एकपटक सम्पर्क गर्ने गरिएको बताएका छन् ।
एक्समा एलन मस्ककै कैयौं प्यारोडी अकाउन्ट छन्, जसले आफूलाई विभिन्न तरिकाले छद्मीकरण गरेका छन् । कतिपयमा मिम्स र जोकहरू समेटिएको छ भने कतिले क्रिप्टोकरेन्सीको प्रवर्द्धन गर्ने गरेका छन् ।
हालै करीब १० लाख फलोअर्स भएको एलन मस्कको एउटा प्यारोडी अकाउन्टले टेस्ला कार जित्नका लागि भन्दै प्रयोगकर्तालाई कमेन्ट र लाइक गर्न आव्हान गरेको थियो । जस अनुसार उक्त पोस्टमा ४ लाख २८ हजार लाइक्स तथा २ लाखभन्दा धेरै जवाफहरु आएका थिए ।
कतिपय प्यारोडी अकाउन्टबाट प्रयोगकर्ताहरु भ्रममा पर्ने र कहिलेकाहीँ झुक्किएर फस्ने समेत जोखिम बढेसँगै गत जनवरीमा एक्सले प्यारोडी अकाउन्टमा प्रोफाइल खण्डमै प्यारोडी अकाउन्ट भएको उल्लेख गर्नुपर्ने अर्थात् लेबल दिनुपर्ने नियम ल्याएको थियो ।
एक्सको प्यारोडी लेबलिंग तथा ब्लू टिक भेरिफिकेसन प्रणालीलाई मनोरन्जनका लागि प्लाटफर्ममा भ्रमपूर्ण प्रतिरुपीकरण गर्ने कार्यलाई रोक्ने टूल्सको रुपमा व्याख्या गर्ने गरिएको छ । तथापि उक्त उपायहरुको प्रभावकारीता चाहीँ सदैव बहसको विषय बन्ने गरेको छ ।
कतिपय नक्कली अकाउन्टहरुले समेत ब्लुटिक प्राप्त गरेको देखिएको छ र युरोपेली युनियनले समेत ब्लू टिकधारी अकाउन्टहरुले प्रयोगकर्तालाई झुक्याएर अनलाइन सामग्री नियमको उल्लंघन गर्ने गरेको बताएको छ ।
एक्सका अनुसार अप्रिल १० सम्ममा त्यस्ता प्यारोडी अकाउन्टहरुले आफ्नो प्रोफाइललाई नयाँ नियमानुसार अपडेट गरेर सुरुमै प्यारोडी अकाउन्ट भएको उल्लेख गर्नुपर्नेछ। यो नियम प्यारोडी अकाउन्टसँगै कमेन्ट्री अकाउन्ट तथा फ्यान अकाउन्टमा पनि लागू हुनेछ ।
-बीबीसीबाट
प्रतिक्रिया 4