
२७ चैत, अमेरिका । अमेरिकाले चीनमाथि लगाएको १०४ प्रतिशत भन्सार कर आज, अर्थात् अप्रिल ९ देखि लागू भएको छ। यसको अर्थ अबदेखि अमेरिका पुग्ने चिनियाँ सामानहरू दोब्बरभन्दा बढी मूल्यमा बिक्री हुनेछन्।
यसबारे प्रतिक्रिया दिंदै ट्रम्पले मंगलबार ह्वाइट हाउसमा भने, ‘भन्सार शुल्कको आलोचना गर्ने जो कोही छन्, उनीहरू बेइमान र धूर्त हुन्। जब अमेरिकाले ९० हजार कारखाना गुमायो, तब तिनीहरूले केही सोचेनन्।’
उनले भने, ‘हामी भन्सार शुल्कबाट धेरै पैसा कमाइरहेका छौं। अमेरिका दैनिक २ अर्ब डलर भन्दा बढी कमाइरहेको छ। धेरै देशहरूले हामीलाई हरेक तरिकाले लुटे, अब लुट्ने पालो हाम्रो हो।’
मिडिया रिपोर्ट अनुसार, सन् २०२४ सम्म अमेरिका भन्सार शुल्कबाट वार्षिक १०० अर्ब डलर कमाइरहेको थियो।
ट्रम्पले भने, ‘म बाहिर देशमा काम गराउने ठेकेदारहरूको होइन, कामदारहरूको राष्ट्रपति हुँ भन्ने कुरामा मलाई गर्व छ। म वाल स्ट्रीटका लागि होइन, मेन स्ट्रीट (सानो व्यवसाय, पसलहरू) का लागि उभिने राष्ट्रपति हुँ।’
ट्रम्पले भन्सार शुल्क बढाउँदा मूल्य बढ्छ भन्नु गलत रहेको जिकिर गरे । ‘कतिपय भन्छन्, भन्सार शुल्कले मूल्य बढाउँछ जुन एकदमै गलत हो,’ उनले भने ।
उनले भन्सार शुल्क बढाउनुलाई उपचारको संज्ञा दिए । ‘यो एक सानो औषधि हो – अलि पीडा हुन्छ, तर दीर्घकालीन रूपमा हामीलाई ठिक राख्छ,’ उनले भने, ‘चीन, युरोप सबै हामीसँग कुरा गर्न आउँछन्, भन्सार शुल्क हटाउँछन्, हाम्रो सामान किन्छन् र यहाँ कारखाना खोल्छन्।’
अमेरिकी सेयर बजारमा अहिलेसम्मकै ठूलो गिरावट
ट्रम्पले भन्सार शुल्कको घोषणा गरेपछि अमेरिकी स्टक एक्सचेन्जमा भारी गिरावट आएको छ। एस एण्ड पी ५०० कम्पनीहरूको बजार मूल्यमा ५.८ ट्रिलियन डलरको घाटा भएको छ।
एलएसईजीको एक तथ्याङ्क अनुसार, सन् १९५७ मा बेञ्चमार्क इन्डेक्स सुरु भएदेखि अहिलेसम्म चार दिनसम्मको सबैभन्दा ठूलो गिरावट हो। एस एण्ड पी ५०० मा अमेरिका कै शीर्ष ५०० कम्पनीहरू पर्छन्।
फेब्रुअरीमा ट्रम्पले चीनमाथि १० प्रतिशत भन्सार शुल्क लगाएका थिए। त्यसपछि मार्चमा फेरि १० प्रतिशत थपे।
अप्रिलको सुरुवातमा ट्रम्पले ३४ प्रतिशत थप भन्सार शुल्कको घोषणा गरे। त्यसको जवाफमा चीनले पनि अमेरिका माथि ३४ प्रतिशत भन्सार शुल्क लगाएको छ ।
ट्रम्पले सोमबार यदि चीनले अमेरिका माथिको ३४ प्रतिशत भन्सार शुल्क फिर्ता लिएन भने उसले मार्चमा लगाइएको २० प्रतिशत र अप्रिल २ मा लगाइएको ३४ प्रतिशत भन्सार शुल्कसँगै बुधबारदेखि थप ५० प्रतिशत भन्सार शुल्कको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।
चीनको जवाफ: हामी व्यापार युद्धका लागि तयार छौं
ट्रम्पको चेतावनीपछि चीनले पनि प्रतिक्रिया दिएको छ । ‘भन्सार शुल्क बढाउने धम्की दिई अमेरिका गल्तीमाथि गल्ती गर्दैछ। अमेरिका ब्ल्याकमेल गर्ने प्रयास गर्दैछ, जुन हामीले स्वीकार्ने छैनौं। यदि अमेरिका आफ्नै हिसाबले चल्ने प्रयास गर्छ भने चीन पनि अन्तिमसम्म लड्नेछ,’ चीनले भनेको छ ।
आइतबार चीनले आफू व्यापार युद्धको लागि तयार रहेको स्पष्ट सन्देश दिएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपल्स डेलीले लेखेको छ, ‘यदि व्यापार युद्ध भयो भने चीन पूर्ण रूपमा तयार छ र अझ मजबुत बनेर बाहिर आउनेछ। अमेरिकी भन्सार शुल्कको असर पर्छ तर आकाश खस्दैन।’
नयाँ उद्योग र नवप्रवर्तनमा जोड दिंदै चीन
चीनसँग अमेरिका सरकारका करिब ६०० अर्ब पाउन्ड बराबरका सरकारी बन्ड छन्, जसको अर्थ चीनसँग अमेरिकी अर्थतन्त्रलाई प्रभावित पार्ने ठूलो शक्ति छ। चीनले आफ्नो तयारी सुरु गरिसकेको छ।
चीनले १.९ ट्रिलियन डलरको अतिरिक्त ऋण औद्योगिक क्षेत्रमा दिएको छ, जसबाट कारखानाहरूको निर्माण र स्तरोन्नति तीव्र भएको छ।
हुवावेले साङ्घाईमा ३५ हजार इन्जिनियरहरूको लागि अनुसन्धान केन्द्र स्थापना गरेको छ, जुन गुगलको क्यालिफोर्नियास्थित मुख्यालयभन्दा १० गुणा ठूलो छ। यसले प्रविधि र नवप्रवर्तनको क्षमता तीव्र बनाउनेछ।
ट्रम्पले भने – अमेरिकामा महँगी छैन
सोमबार ट्रम्पले विश्व बजारमा भारी गिरावट भए पनि अमेरिकामा कुनै महँगी नरहेको जिकिर गरेका छन् । उनले अघिल्ला नेताहरूलाई दोष दिँदै उनीहरूकै नीतिहरूले चीनजस्ता देशलाई अमेरिकाबाट फाइदा उठाउने मौका दिएको बताए ।
विश्व बजारमा गिरावटबारे बोल्दै ट्रम्पले भने, ‘तेलको मूल्य घटेको छ, ब्याज दरहरू घटेका छन्, खाद्यान्नको मूल्य घटेको छ, महँगी छैन।’
डोनाल्ड ट्रम्पले अप्रिल २ मा विभिन्न देशहरूमाथि पारस्परिक कर लगाउने घोषणा गरेका थिए ।
प्रतिक्रिया 4