
प्रविधि उद्योगको दिग्गज कम्पनी माइक्रोसफ्ट स्थापनाको ५० वर्ष पूरा भएको छ । कम्पनीले आधा शताब्दी पार गरेको उपलक्ष्यमा माइक्रोसफ्टका सीईओ सत्य नडेलाले एआईको प्रयोग गर्दै सबैलाई अचम्मित बनाएका छन् ।
नडेलाले एआईको प्रयोग गरी माइक्रोसफ्टको सबैभन्दा पहिलो प्रडक्ट अल्टेयर बेसिकलाई पुनः तयार पारेर देखाएका छन् । एक्समा पोस्ट गरेको एउटा भिडियोको माध्यमबाट एआईको शक्तिलाई प्रदर्शन गर्दै उनले पूराना सम्झनाहरुलाई ताजा बनाउने कोसिस गरे ।
सन् १९७५ को अप्रिल ४ मा स्थापना भएको माइक्रोसफ्ट सूचना प्रविधि र खासगरी कम्प्युटर सफ्टवेयरको क्षेत्रमा आफूलाई सबैभन्दा ठूलो खेलाडिको रुपमा स्थापित गर्न सफल भएको छ ।
माइक्रोसफ्टको पहिलो प्रडक्ट अल्टेयर के थियो ?
बिल गेट्स र पल एलनले सन् १९७५ मा अल्टेयर बेसिक नामको प्रडक्ट तयार पारेका थिए । यो वास्तवमा ८८०० माइक्रो कम्प्युटरका लागि डिजाइन गरिएको एक प्रोग्रामिंग भाषा थियो । उक्त प्रडक्टले माइक्रोसफ्टका नयाँ प्रडक्टका लागि मार्ग प्रसस्त गर्यो ।
नडेलाले भिडियोमा भनेका छन्- प्रविधि भनेको वास्तवमा कौशल तथा संशाधनको साधारण संयोजन हो ।
सो प्रडक्ट तयार पार्नमा करिब ६हप्ताको समय लागेको थियो ।
नडेलाले माइक्रोसफ्टको एआई असिस्टेन्ट कोपाइलटको प्रयोग गरी त्यसलाई पुनर्सिर्जना गरेका छन् ।
एआईमा नडेलाको प्रम्प्ट के थियो ?
नडेलाको पहिलो प्रम्प्ट थियो – मसँग एक प्रकारको अल्टेयर छ, तर मलाई यसको प्रयोग कसरी गर्ने भन्ने थाहा छैन । त्यसपछि उनले कोपाइलटसँग एमुलेटर बनाउन र एउटा योजना दिनका लागि अह्राए ।
तत् पश्चात् नडेलाले केही अरु कमान्ड पनि दिए र कोपाइलटले ती कमान्डलाई कति तीव्र गतिमा प्रोसेस गर्नसक्छ भन्ने देखाए । उक्त पूरा प्रक्रिया पुनः बनाउनका लागि कोपाइलटलाई करिब १० मिनेट लाग्यो ।
यस्तो छ माइक्रोसफ्टको इतिहास
पाउन अलेन र बिल गेट्स मिलेर ५ दशक अगाडि न्यु मेक्सिकोस्थित अल्बुकेर्केमा रहेको एक सपिङ मलबाट सुरु गरेको माइक्रोसफ्ट अहिले ३ ट्रिलियन डलरको कम्पनी बनिसकेको छ ।
हाल विश्वमा सर्वसाधारणलाई शेयर गरेका कम्पनीहरुमध्ये दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको माइक्रोसफ्टको ५० वर्षे यात्रामा हालसम्म केवल ३ जनामात्रै सीईओ बनेका छन् र कम्पनीको स्वर्ण महोत्सवमा तिनैजना सहभागी बने ।
माइक्रोसफ्टको पहिलो सीईओ बिल गेट्स हुन् भने दोस्रो स्टिभ बाल्मर रहे । माइक्रोसफ्टकै सम्पत्तिका कारण गेट्स, बाल्मर र हालका सीईओ सत्य नदेला विश्वका शीर्ष ११ धनी व्यक्तिभित्र पर्न सफल भएका छन् ।
माइक्रोसफ्टले हालसम्म तीनवटा ठूला कम्पनीलाई आफूमा बिलय गराइसकेको छ । जसमा लिंक्डइनलाई सन् २०१६ मा नुआन्स कम्युनिकेसन्सलाई सन् २०२२ मा र एक्टिभिजन ब्लिजार्डलाई सन् २०२३ मा माइक्रोसफ्टले अधिग्रहण गरेको थियो र त्यसमा जम्माजम्मी एक खर्ब २१ अर्ब डलर खर्चेको थियो ।
माइक्रोसफ्ट अहिले आफ्नो लगानीको ऐतिहासिक चरणमा छ । उसले च्याट जिपिटी निर्माता ओपन एआईमा १३ अर्ब ८० करोड लगानी गरेको छ भने गत वर्ष मात्रै पुँजीगत खर्च र वित्तीय भाडामा झण्डै ७६अर्ब डलर खर्च गर्यो । सीईओ नडेलाले गत जनवरीमा बताए अनुसार माइक्रोसफ्टले एआईबाट वार्षिक १३ अबृ डलर आम्दानी गरेको छ, जुन ओपन एआईको भन्दा पनि धेरै छ ।
यी हुन् माइक्रोसफ्टका मूख्य कोशेढुंगा
स्थापना र पहिलो प्रडक्ट
सन् १९७५ : कम्पनीको स्थापना भएको । कम्पनीको सबैभन्दा पुरानोमध्येको एक अल्टेयर ८८०० पर्सनल कम्प्युटरका लागि प्रोग्रामिंग भाषाको रुपमा BASIC लाई आफ्नो पहिलो प्रडक्टको रुपमा ल्याएको ।
एमएस डस र आईबीएम सँगको उदय (सन् १९८१ देखि १९८९ सम्म)
सन् १९८१ मा माइक्रोसफ्ट कम्पनी वासिंटनको रेडमन्डमा सर्यो र हालसम्म पनि त्यहीँ नै कम्पनीको मुख्यालय रहेको छ ।
त्यस अवधिमा एमएस डस नामक माइक्रोसफ्ट डिस्क अपरेटिङ सिस्टमको वितरणका लागि माइक्रोसफ्टले आईबीएम कम्पनीसँग सहकार्य गर्यो । यो नै पर्सनल कम्प्युटरको तीव्र विकासको लागि महत्वपूर्ण तत्व बन्न सफल भयो । सन् १९८५ मा कम्पनीले माइक्रोसफ्ट विन्डोजको पहिलो संस्करण सार्वजनिक गर्यो ।
विन्डोजको प्रभुत्व र अफिस सफ्टवेयर (सन् १९९० को दशक)
माइक्रोसफ्टले सन् १९९० मा रिलिज गरेको विन्डोज थ्री व्यवसायिक रुपमा निकै सफल रह्यो । त्यसैगरी सन् १९९५ मा सार्वजनिक भएको विन्डोज ९५ एउटा ल्याण्डमार्क अपरेटिङ सिस्टमको रुपमा रह्यो । जसमा नयाँ युजर इन्टरफेस तथा बिल्टइन्ट इन्टरनेट सपोर्ट उपलब्ध थियो ।
माइक्रोसफ्टमा रहेको अफिस सफ्टवेयर (वर्ड, एक्सेल, पावरप्वाइन्ट) कम्प्युटर प्रयोगकर्ताका लागि सबैभन्दा उपयोगी प्रडक्टको रुपमा रहेको छ । साधारण प्रयोगदेखि व्यवसाय र शिक्षा सबैमा मइक्रोसफ्ट अफिसको उपोगिता कहिल्यै कम भएन ।
सन् १९९० को दशकको अन्त्यतिर आउँदासम्म माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको थियो । साथै यसले अमेरिका र युरोपेली युनियनमा प्रतिस्पर्धा विरोधी गतिविधिका कारण विभिन्न मुद्दा मामिलाको झमेला पनि बेहोर्नुपरेको थियो ।
इन्टरनेट युग र चुनौतीहरू (सन् २०० देखि २०१०)
बिल गेट्सले सन् २००० मा माइक्रोसफ्ट कम्पनीको सीईओ पदबाट राजीनामा दिएसँगै स्टिभ बाल्मर नयाँ सीईओ बने । त्यस समयमा माइक्रोसफ्टले प्रविधि जगतका अन्य उदयमान दिग्गज कम्पनीहरू गुगल तथा एप्पल लगायतसँग संघर्ष गर्नुपर्यो ।
यसैबीच सन् २००१ मा कम्पनीले ल्याएको विन्डोज एक्सपी निकै लोकप्रिय बन्यो, वर्षौंसम्म पनि । तर सन् २००७ मा ल्याएको विन्डोज भिस्टाको असफलता कारण कम्पनीलाई झट्का लाग्यो । त्यसैगरी सन् २००१ मा माइक्रोसफ्ट एक्सबक्स मार्फत् गेमिङ क्षेत्रमा प्रवेश गर्यो र सन् २००५ मा एक्स बक्स ३६० लन्च गर्यो ।
क्लाउड कम्प्युटिङ तथा सत्य नडेला युग (सन् २०१० देखि हालसम्म)
सन् २०१४ मा स्टिभ बाल्मरपछि सत्य नडेला कम्पनीको सीईओ बने । उनको नेतृत्वमा माइक्रोसफ्टले क्लाउड कम्प्युटिङ, एआई र इन्टरप्राइज सर्भिसहरुमा ध्यान केन्द्रित गरेको छ ।
माइक्रोसफ्टको क्लाउड प्लाटफर्म एजुर अमेजनको एडब्लुएस जस्ता ठूला खेलाडिहरुको कडा प्रतिस्पर्धी बन्न सफल भएको छ। माइक्रोसफ्टले सन् २०१५ मा विभिन्न डिभाइसमा चल्ने युनिफाइड प्लाटफर्मको रुपमा विन्डोज १० ल्यायो, जुन निकै लोकप्रिय बन्यो ।
यसबीचमा कम्पनीले माइक्रोसफ्ट टिम्स तथा पावर प्लाटफर्म सुरु गर्यो भने अफिस सफ्टवेयरमा कोपाइलट एआई पनि आबद्ध गर्यो ।
एआई आबद्धताको क्षेत्रमा अग्रणी रहेको माइक्रोसफ्टले आफ्ना प्रडक्टहरुमा एआई टूल कोपाइलटलाई आबद्ध गरिरहेको छ । दिगोपना, पहुँच र विश्वव्यापी डिजिटल रुपान्तरणमा माइक्रोसफ्टले आफूलाई केन्द्रित गर्ने गरेको छ ।
प्रतिक्रिया 4