
२७ चैत, कैलाली । अछामको जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागी पीडित परिवार र व्यवसायीलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालका लागि ५० लाख रुपैयाँ राहत बाँड्ने निर्णय गरेको छ ।
बुधबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले आगलागी पीडितलाई वितरण गर्न तत्कालका लागि बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालले जानकारी दिए ।
बान्नीगढी गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो फैलिएको थियो । आगलागीबाट २८ घर/टहरा जलेका थिए ।
आगोमा जलेर २ वटा पक्की घर, १० वटा ढुंगामाटोले बनेका घर, १५ वटा टीनले बनेका घर र एउटा सभाहल जलेर नष्ट भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांक छ । आगलागीबाट ७ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
मानवीय सहायताका लागि तत्काल ५० लाख उपलब्ध गराउने र क्षतिको पूर्णविवरण प्राप्त भइसकेपछि थप रकम उपलब्ध गराउने प्रवक्ता दाहालले बताए । उनका अनुसार राहत वितरणका लागि सम्बन्धित पालिकालाई स्पष्ट मापदण्ड बनाउन भनिएको छ ।
प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्न सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीलाई राहत सामग्रीसहित जयगढ पठाउने निर्णय समेत गरेको छ । मन्त्रीद्वय आगलागी प्रभावित क्षेत्रमा प्रस्थान गरिसकेको प्रवक्ता दाहालले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले आगलागी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनर्निर्माणमा सहयोग गर्न संघीय सरकारदेखि स्थानीय पालिकासम्मलाई अपिलसमेत गरेको छ ।
प्रतिक्रिया 4