
२७ चैत, काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले अमेरिकी सरकारले जारी गरेको भन्सार दरमा नेपाल अत्यन्तै कम अर्थात् १० प्रतिशत दरमा पर्नु सकारात्मक रहेको बताएका छन् ।
‘अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ । यो भनेको न्यूनतम हो । त्यसभित्र पर्न सफल हुनु भनेको अन्त्यन्तै सह्रानीय र स्वागतयोग्य छ । अहिले लाग्दै आएको ट्यारिफमा १० प्रतिशत लगाइए पनि निकासी पहिलेभन्दा महँगो भएको छ,’ पाण्डेले भने, ‘तर, पनि अरू देशको तुलनामा यो धेरै कम हो । अझै अमेरिकी सरकारसँग छलफल गरेर यो दरमा पुनरावलोकन हुन सक्ने सम्भावना छ ।’
उनका अनुसार अन्य देशमा ४७/४९ प्रतिशतसम्म ट्यारिफ थपिँदा नेपालमा १० प्रतिशत मात्रै लगाइएका कारण यसलाई सकारात्मक लिइएको हो । अब गार्मेन्ट मात्रै नभई सम्पूर्ण निर्यातजन्य वस्तुमा अमेरिकाले थप १० प्रतिशत भन्सार दर लगाउने छ ।
अमेरिकी भन्सार दर कम भएका कारण नेपालबाट वस्तुको माग बढ्न सक्ने सम्भावना देखिएको उनले बताए । धेरै विक्रेता अहिले सम्पर्कमा आइरहेको र नेपालका गार्मेन्ट उद्योगमा समेत लगानी बढ्न सक्ने उनको भनाइ छ ।
माग अत्यधिक भइसकेपछि उत्पादन सोही अनुसार गर्नुपर्ने र त्यसका लागि जनशक्ति समेत पार्याप्त चाहिने भएकाले देशभित्रै धेरैले रोजगारी पाउन सक्ने अवस्था बन्न सक्ने पाण्डेले बताए ।
‘नयाँ भन्सार दर लागु हुनुअघि सस्तो हुँदा उत्पादित वस्तु किन्ने कम रहे पनि अहिले धेरै आउन थालेका छन,’ उनले भने, ‘नयाँ भन्सार दर लागु हुनुअघि किन्ने मान्छे आएका थिएनन् । अहिले आकर्षित भएको देखिन्छ । श्रीलंका, बंगलादेश, माल्दिभ्स, इटाली, भियतनाममा बढेको भन्सार दर र नेपालको हेर्ने हो भने धेरै कम छ ।’
तयारी पोसाक क्षेत्र प्रवर्द्धन गर्न नेपाल सरकारले समेत स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउने वातावरण बनाउनुपर्ने पाण्डे बताउँछन् ।
उनका अनुसार उद्योग स्थापनामा महत्त्वपूर्ण भूमिका सरकारले खेल्नुपर्छ भने सेजमा सुविधा थप्न समेत सरकार तयार भयो भने यो निर्यातजन्य क्षेत्र फस्टाउन सक्छ ।
‘यो क्षेत्रमा आउने लगानी भनेको निर्यात सहित हो, नेपालमा एक थान पनि बिक्री हुँदैन । सबै विदेशमै निर्यात गर्ने हो । यो क्षेत्रमा वाह्य लगानी आउँछ भने सरकारले करमा छुट दिनुपर्छ,’ अध्यक्ष पाण्डेले भने, ‘यो क्षेत्रबाट रोजगारीका अवसर, अर्थतन्त्रका सूचकांक धेरै बढ्ने देखिन्छ । आज कुल निर्यात १ खर्ब ५७ अर्ब छ । अमेरिकामा भएका एउटै कम्पनीले त्योभन्दा ठूलो व्यापार गरिरहेका छन् । यो अवस्थामा त्यस्ता व्यक्ति नेपालमा आकर्षित भएर उद्योग लगाउन चाहन्छन् भने राज्यका लागि ठूलो अवसर हो ।’
उनका अनुसार गत आर्थिक वर्ष तयारी पोसाक निर्यात १० अर्बभन्दा बढीको भएको थियो । त्यसमध्ये ३ अर्ब बराबर अमेरिका निर्यात भएको थियो । नयाँ ट्यारिफले निकासी धेरै नै बढ्न सक्ने सम्भावना छ ।
उनका अनुसार हस्तकला, कुकुर, बिरालाको आहार छुर्पी, पश्मिना लगायत अमेरिका निर्यात भइरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ निर्यात समिति सदस्य समेत रहेका पाण्डेले यी वस्तुसमेत आगामी दिनमा निकासी बढ्न सक्ने बताए ।
‘निर्यात र आयात गर्नेलाई एउटै भन्सार नीति हुँदा अहिले समस्या परिरहेको छ । स्वचालित मूल्य प्रणाली लागु गरिनुपर्छ । सेजमा सुविधा सम्पन्न व्यवस्था गरिनुपर्छ, विदेशी लगानी नेपाल आउँछ भने नेपालले मुनाफा फिर्ता लैजान सहज बनाइदिनुपर्छ,’ पाण्डेले भने, ‘हालैको बिम्स्टेक बैठकमा समुद्री पहुँच, कनेक्टिभिटीका विषयमा मुद्दा उठेका थिए । यी सबैलाई एकसाथ लिएर सरकारले गर्न सक्ने र छिमेकी देशसँग मिलेर यसको लाभ लिएर अघि बढ्न जरुरी छ ।’
प्रतिक्रिया 4