
काठमाडौं । बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म स्टुडियोको लागि ९ ठेकेदार कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ । आवेदन दिएका १४ मध्ये योग्य ९ कम्पनी छनोट भएको चलचित्र विकास बोर्डले जनाएको छ ।
छनोट ठेकेदार कम्पनीबीच योग्यता र मापदण्ड हेरेर बैशाख ३ गते कुनै एक कम्पनी छनोट हुनेछ । योसँगै अत्याधुनिक इनडोर स्टुडियो बनाउने कार्य द्रुतरुपमा अघि बढेको छ । ठेकेदार कम्पनीको टुंगो लाग्ने वित्तिकै शिलान्यास कार्य अघि बढ्ने बोर्ड अध्यक्ष दिनेश डीसीले जनाए ।
बोर्डले काभ्रेको बनेपा नगरपालिका वडा नं. १० र १३ मा निर्माण गर्न लागिएको सुटिङ स्टुडियोका लागि आवेदन खुला गरेको थियो । माघ २७ गते राष्ट्रिय दैनिकमार्फत सार्वजनिक गरेको ‘इ-बिडिङ’ बोलपत्र आह्वानमा विभिन्न निर्माण कम्पनीले प्राविधिक प्रस्ताव पेश गरेका थिए ।
प्राप्त प्रस्तावमध्ये मूल्यांकन गरी ९ वटा कम्पनीको प्रस्तावलाई प्रभावकारी ठहर गर्दै बोर्डले उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष डिसीले वर्षौंदेखि चलचित्रकर्मीले देखेको सपना अब मूर्तरुप लिँदै गएको बताए ।
उनले भने, ‘नेपाली चलचित्र छायाङ्कनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्नेछ । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको छायाङ्कन स्थल उपलब्ध गराउनेछ ।’
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने स्टुडियो विगत केही वर्षदेखि योजनाको रूपमा मात्रै सीमित रहँदै आएको थियो । तर, अहिले बोर्डको सक्रियतामा छिट्टै कार्यान्वयनमा जान लागेको हो ।
सन् २०२६ भित्रै निर्माण पूरा गर्ने लक्ष्य छ । गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकले स्टुडियो निर्माणका लागि दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।
बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको थियो । आर्थिक २०८०–८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।
फिल्म स्टुडियोको निर्माण लागत ३९ करोड रुपैयाँ बताइएको छ ।
प्रतिक्रिया 4