
२७ चैत, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका केसरजङ्ग बरालको राजीनामा पत्र प्रधानमन्त्री एंव कुलपति केपी शर्मा ओलीसामू पेस गरिने भएको छ ।
बरालले दिएको राजीनामा सनाखत नभएपछि कुलपति ओलीलाई पेस गर्न ढिलाइ भएको थियो । प्रधानमन्त्री कार्यालयले उपकुलपति बरालसँग पटक पटक फोनबाट कुरा गरेपछि कार्यालयले प्रधानमन्त्रीसामू पेस गर्न लागेको हो ।
‘भीसीसरसँग कार्यालयले कुरा गरेको छ। उहाँले मेरै हातले लेखेकोहो भन्नुभएको छ,’ प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘त्रिविको कानुनी व्यवस्था हेरेर कुलपतिसामू पेस गर्ने तयारी छ।’
आज प्रधानमन्त्री ओली काठमाडौ बाहिर भएकाले फर्किएपछि पेस गर्ने तयारी प्रधानमन्त्री कार्यालयको छ ।प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले उपकुलपति बरालको राजीनामाको विषय प्रक्रियामा रहेको बताए। ‘अहिले प्रक्रियामा छ,’ उनले भने ।
उपकुलपति बराल पनि आफू सनाखतको लागि काठमाडौ आउनु नपर्ने बताए । ‘प्रधानमन्त्री कार्यालयमा मेरो कुरा भएको छ । सनाखत गर्न म काठमाडौ आउनु पर्दैन । मेरै राजीनामा हो,’ बरालले भने ।
प्रधानमन्त्री ओलीको सचिवालयले उपकुलपति बरालको राजीनामा सनाखत नभएको र सम्पर्क पनि नरहेको जनाएको थियो । प्रधानमन्त्री कार्यालयका अधिकारिका अनुसार बरालले प्रधानमन्त्री एंव कुलपति ओलीलाई भेटेर राजीनामा दिएको भए यो समस्या आउने थिएन । बरालले सहयोगी मार्फत राजीनामा पठाएकाले समस्या आएको हो ।
‘भीसी सरले कुलपतिज्यूलाई भेटेर राजीनामा दिएको भए स्वीकृत वा अस्वीकृत कुलपतिबाट हुन्थ्यो । सहयोगीमार्फत सचिवालयमा पत्र आएकाले समस्या आएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारिले भने, ‘कुलपती समक्ष उहाँले पेस गरेको होइन । कुलपतिले प्राप्त गर्नेगरी सचिवालयमा राजी,पेस भयो।’
बरारलले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए । राजीनामा दिएर बराल पोखरा घर पुगेका छन् ।
राजीनामा फिर्ता गर्न रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल पोखरा पुगेका थिए। तर बराल राजीनामा दिइसकेकाले कुलपतिको निर्णय कुरिरहेको बताउछन् ।
प्रतिक्रिया 4