+

युथ ओडीआईमा‌ नेपालको सान्त्वना जित, अफगानिस्तानलाई शृंखला

२०८१ चैत  २७ गते १७:३७ २०८१ चैत २७ गते १७:३७
युथ ओडीआईमा‌ नेपालको सान्त्वना जित, अफगानिस्तानलाई शृंखला

२७ चैत, काठमाडौं । काठमाडौंमा भएको नेपाल यू-१९ र अफगानिस्तान यू-१९ बीचको युथ ओडीआई शृंखलामा नेपालले सान्त्वना जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको तेस्रो खेलमा डीएल पद्धतिअनुसार ८५ रनको जितसहित नेपालले क्लिनस्वीप टारेको हो ।

नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा मुलपानीमा ठुलो वर्षा भएको थियो । त्यसपछि खेल सुरु हुने अवस्था नभएपछि डिएल पद्दतिमा नेपाल अगाडि रहँदै खेल जित्यो ।

नेपालका अपराजित पौडेलले २ विकेट लिँदा दयानन्द मण्डल, बिपिन प्रसाद शर्मा, सन्तोष यादव र अशोक धामीले १-१ विकेट लिए । अफगानिस्तानका फेसल सिनोजादाईले १६ तथा अजिजुल्लाह मिया खिलले अविजित १५ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४.१ ओभरमा अलआउट भएर १९१ रन बनायो ।

नेपालका लागि साहिल पटेलले ४६ तथा निरज यादवले ४२ रन बनाए । पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेको भएपनि त्यसपछि निरन्तर अन्तरालमा विकेट गुमाउँदा नेपाल ५० ओभर टिक्न सकेन । कप्तान नरेन भट्टले २२ रन मात्र बनाउन सके ।

अफगानिस्तानका हाफिज जाद्रानले ४ विकेट लिए भने अब्दुल अजिज र जैतुल्लह साहिनले २-२ विकेट लिए ।

यस खेलमा पराजित भएपनि अफगानिस्तानले ३ खेलको शृंखला २-१ ले जितेको छ । पहिलो खेलमा १३०‌ रन तथा दोस्रो खेलमा १ रनले अफगानिस्तान विजयी भएको थियो ।

अब आगामी आइतबारदेखि मुलपानीमै आईसीसी यू-१९ विश्वकप एसिया छनोट सुरु हुँदैछ जहाँ यी दुई टोलीसँगै यूएई, हङकङ र ओमान पनि सहभागी हुँदै छन्।

यूथ ओडिआई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय