
२७ चैत, बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग राख्दै व्यावसायिक संस्थाहरूले चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।
उद्घाटन भएको तीन वर्ष बित्न लाग्दासमेत विमानस्थलबाट नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नियमित उडान नहुँदा विमानस्थल लक्षित गरी होटेल तथा पर्यटन क्षेत्रमा भएको करिब एक खर्ब लगानी जोखिममा परेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स रुपन्देहीले बुधबार भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन् ।
माग पूरा गराउन दबाब दिन सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरिएको छ ।
पहिलो चरणको आन्दोलनअन्तर्गत रुपन्देहीका विभिन्न राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिवद्धता लिने, सम्बन्धित एअरलाइन्सका प्रमुखसँग छलफल गर्ने सञ्जालका अध्यक्ष ज्ञवालीले बताए ।
त्यस्तै जिल्लाका संघ-संस्था, दल, सर्वसाधारण, जनप्रतिनिधि लगायत उपस्थित भई विमानस्थल अगाडि शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, र श्रम मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरूलाई अल्टिमेटम दिने अध्यक्ष ज्ञवालीले बताए ।
त्यसैगरी कालोपट्टी बाँधेर दबाबमुलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्याली तथा बजार परिक्रमा गरिने उनले जानकारी दिए ।
माग सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र आन्तरिक उडानसमेत बन्द गराउने ज्ञवालीले बताए ।
‘सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीहरूलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउँछौं,’ उनले भने, ‘आन्तरिक विमानस्थलबाट आगमन र प्रस्थान बन्द गर्न सम्बन्धित पक्षलाई टिकट नकाट्न आह्वान र विमानस्थल गेटमा प्रदर्शन गरी आवात-जावतसमेत बन्द गराउँछौं ।’
विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि आफूहरूले आन्दोलन स्थगित गरे पनि प्रतिवद्धता कार्यान्वयन नभएको उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले राज्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सनका रूपमा मात्र प्रयोग गरेको आरोप लगाए । अबको आन्दोलनलाई निर्णायक बनाउने गरी अघि बढ्ने उनको भनाइ छ ।
विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । विमानस्थल सञ्चालनका लागि संघीय,प्रदेश र स्थानीय सरकारले सहयोग नगरेको उनले गुनासो गरे ।
उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले सरकारले गरेको सहमति पालना नगर्दा बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विमानस्थल निर्माण हुने तर, सञ्चालन नहुने अवस्था दुर्भाग्यपूर्ण रहेको बताए ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुन नसक्दा व्यवसायी लगानी गर्नबाट पछाडि हटिरहेको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर भएको लगानीले प्रतिफल दिनुको साटो डुब्ने चिन्ताले व्यवसायी आक्रोशित छन् ।
मंसिर पहिलो साता एक नेपाली र चार विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिराले उडान सुरु गरे पनि एक महिना ‘भिजिबिलिटी’ को समस्या र कतिपयले यात्रु अभावका कारण देखाउँदै उडान रोकेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटीको समस्या समाधान गर्न आईएलएसको विकल्पमा आरएनपीएआर प्रविधि लागू गरेपछि चैत १६ गतेसम्म विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु भएका थिए ।
यो बीचमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मतका लागि दैनिक केही घण्टा बन्द थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गरी १८ घण्टा सञ्चालनमा आउन थालेपछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द हुन थाले ।
यहाँका व्यवसायीले सरकार र सम्बन्धित मन्त्रालयका उच्चपदस्थ कर्मचारी काठमाडौं केन्द्रित व्यवसायीको अनुचित दबाब र प्रभावमा परेर गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न नचाहेको आशंका गरिरहेका छन् ।
वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका लागि म्यानपावर कम्पनीका कार्यालय र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालयहरूको स्थापना नहुँदा एअरलाइन्स कम्पनीलाई यात्रु अभावको बहाना भएको व्यवसायीको तर्क छ ।
भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री हुँदा गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्न नदिइएको टुर तथा ट्राभल व्यवसायी सञ्जय वजिमयले गुनासो गरे ।
टिकट बिक्रीको सिन्डिकेट अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीसँग पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएकाले कतै गौतमबुद्ध विमानस्थल चल्न नदिन केन्द्रदेखि प्रदेश सरकारकै मिलेमतोको शंका लागेको वजिमयले बताए ।
भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने, अनलाइन ई-भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने उनको माग छ ।
विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने उनी बताउँछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जजिरा एयरलाइन्स, फ्लाई दुबई र थाई एयर एसियाले ‘समर सेड्युल’ तय नगरेका कारण उडान बन्द भएको हो । जजिरा एयरलाइन्सले मे महिनाबाट उडान सुरु गर्ने आश्वासन दिएको उनले बताए ।
प्रतिक्रिया 4