
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न अहिले अभ्यासमा रहेको संगठनात्मक पद्धति बदल्नुपर्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेसको रुपन्देही-१ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले गुटबन्दी र पार्टी सदस्यले कमजोर महसुस गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने विधि प्रस्ताव गरेका हुन् ।
थापाले कांग्रेसका सदस्यहरूमा बेचैनी बढेको र पार्टी नै अलमलिएको अवस्था आफूले देखेको बताए । ‘पार्टीभित्र बेचैनी बढेको छ, त्यसले पार्टी अलमलिन्छ । तर नेपाली कांग्रेसलाई अलमलिने, अत्तालिने र बरालिने छुट छैन,’ उनले भने ।
कांग्रेस बरालिंदा सिंगो देशलाई क्षति पुग्ने उनको तर्क छ । ‘कांग्रेस केही नेता कार्यकर्ता र कार्यालय मात्र नभएर संगठन, विचार, राष्ट्रिय शक्ति र राष्ट्रको केन्द्र हो । हामी बरालिंदा सिंगो देशलाई क्षति पुग्छ,’ उनले भने ।
गुटबन्दी अन्त्य गर्ने सुत्र
महामन्त्री थापाले गुटबन्दीले पार्टीलाई ध्वस्त बनाएको उल्लेख गर्दै भने, ‘गुटबन्दी टोल, वडा हुँदै भातृ संगठनसम्म छ । पार्टी पंक्तिले ऊर्जा र उत्साह गुमाएका छन् । बेचैनी बढेको छ,’ उनले भने ।
पार्टीमा विभिन्न तहमा नेतृत्व छान्ने प्रक्रिया गलत हुँदा यस्तो भइरहेको आशंका उनले व्यक्त गरे ।
‘कांग्रेसमा ८ लाख सदस्यहरू छन्, उनीहरूले सिधै पार्टी सभापति छान्ने पो हो कि ? अहिले जस्तो सुरुमा ४ हजार ९०० महाधिवेशन प्रतिनिधि छान्ने र उनीहरूले सभापति छान्नुसट्टा क्रियाशील सदस्यले सिधै पार्टी सभापति छान्ने पो हो कि ?,’ उनले नयाँ प्रस्ताव राखे ।
८ लाख सदस्यहरूले सिधै पार्टी सभापति छान्दा गुटबन्दी अन्त्य हुने जिकिर गर्दै उनले भने, ‘यसो गर्यो भने कसले गुट बनाउँछ ? गुट चैट हुन्छ ।’
महामन्त्री थापाले कसैलाई दोष लगाउनुभन्दा पद्धति बदलेर समस्याको समाधान खोज्नुपर्ने तर्क गरे । ‘अहिले थोरै मान्छेले मात्रै पार्टीको नेता छान्छ । कसैलाई दोष लगाएको होइन हामीले बनाएको पद्धतिले गर्दा यस्तो भयो । त्यसैले कसैलाई दोष नदिइकन यो पद्धति बदल्न बहस गरौं,’ उनले भने ।
सदस्यलाई शक्तिशाली बनाऔं
महामन्त्री थापाले पार्टीमा केही नेताहरू मात्रै निर्णय गर्दा कार्यकर्ताले शक्तिहीनताको अनुभूति गरेको आफूले पाएको उनले बताए ।
‘पार्टीको कार्यकर्ता र सदस्यतामा शक्तिहीनताको अनुभव भएको छ । हामी को हो ? बोलाउनुहुन्छ, तपाईंहरू माथि बस्नुहुन्छ, थपडी बजाउन लगाउनुहुन्छ, भाषण गर्नुहुन्छ, जानुहुन्छ’ उनले भने, ‘चुनावमा झन्डा बोकेर हिंड्नुपर्ने हामी डन्डा खानुपर्ने हामी । दुई जनाले सबै कुरा जिम्मा लिन्छ ।’
थापाले यस्तो अभ्यास बदल्नुपर्ने र यसको लागि विधानमा काम गर्नुपर्ने बताए । कार्यकर्ताले नेता छान्ने र नेताले जनप्रतिनिधि बन्न उम्मेदवार छान्ने पद्धतिले गर्दा पनि गुटबन्दी मौलाएको उनको तर्क छ ।
अहिलेको पद्धतिले नेता बलियो र कार्यकर्ता कमजोर बनेको निष्कर्ष महामन्त्री थापाले सुनाए ।
‘यसलाई उल्टाउने कार्यकर्तालाई बलियो बनाउनुपर्छ, अब वडा अध्यक्ष कसलाई बनाउने जिम्मा वडालाई दिनुपर्छ, क्षेत्रको क्षेत्रलाई र गाउँको गाउँलाई । यस्तो गर्न सके कार्यकर्ताहरूले शक्तिहीनताबाट शक्तिको अनुभव गर्न सक्छन्,’ उनले भने ।
थापाले पार्टीभित्र नयाँ र पुरानोको सन्तुलन मिलाउनुपर्नेमा जोड दिए । ‘मेरो बाभन्दा १० वर्ष जेठो शेरबहादुर देउवासँग मसँगै बसेर काम गरिरहेको हुन्छु । मलाई पनि पाका भन्ने मानिस त नेपाली कांग्रेसमा कति छन् कति । कतिले मलाई युवा भने पनि साँच्चैका युवा कति आएका छन् कति,’ उनले भने ।
उनले कांग्रेसमा रहेका चार पुस्ताको नेता कार्यकर्तालाई सन्तुलित ढंगले व्यवस्थापन गरेर समाधान खोज्नुपर्ने प्रस्ताव राखे ।
प्रतिक्रिया 4