
२७ चैत, काठमाडौं । चालु आर्थिक वर्ष फागुन मसान्तसम्म गत वर्षको दाँजोमा महँगी दर घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको तुलनामा १ प्रतिशतभन्दा धेरैले घटेको हो ।
चालु आव फागुन मसान्तसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको थियो भने अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत थियो ।
पछिल्लो ८ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत थियो ।
खाद्यमा मूल्यवृद्धि कमी, गैरखाद्यमा मूल्य बढ्यो
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १३.७४ प्रतिशत, दाल तथा गेडागुडी ७८०, फलफूल ६.८२ र गैरमदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ ।
मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७ प्रतिशत, तरकारीे १.२४ र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ ।
फागुन मसान्तसम्मको तथ्यांक अनुसार गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक उपभोक्ता मूल्य सूचकांक १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ७.०१, मदिराजन्य पेय पदार्थ ६.०७, फर्निसिङ तथा घरायसी उपकरण ५.५९ र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।
सहरभन्दा गाउँमा मूल्यवृद्धि धेरै, कोशीमा महँगी धेरै
फागुनसम्मको विवरण अनुसार ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६० प्रतिशतले बढेको छ ।
प्रदेशगत हेर्दा कोशीमा सबैभन्दा धेरै महँगी देखिएको राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थितिमा उल्लेख छ । कोशीको वार्षिक उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेस ३.५२, बागमती २.९८, गण्डकी २.७७, लुम्बिनी ३.७७, कर्णाली ३.८० र सुदूरपश्चिमको ४.४१ प्रतिशत छ ।
यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराई ३.७७, पहाड ३.७२ र हिमालको ४.७७ प्रतिशत छ ।
फागुनसम्म थोक मुद्रास्फीति ४.४३ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत थियो । यस्तै उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक थोक मुद्रास्फीति क्रमशः ८.०२, २.५७ र ३.१७ प्रतिशत छ । निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया 4