पछिल्लो समय काठमाडौँ लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषण उच्च देखिएको छ । अझ काठमाडौँ त करिब एकसाता विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा समेत पर्यो । वायुमण्डलमा धुलोका मसिना कण अर्थात् पीएम २.५ को मात्रालाई आधार मानेर वायु प्रदूषणको अवस्था निर्धारण गरिन्छ ।
पीएम २.५ भनेको हावामा हुने २.५ माइक्रोमिटर व्यासका मसिना धुलोका कण हुन्, यी ठोस तथा रसायनको मिश्रणबाट बनेका हुन्छन् । पीएम २.५ निकै मसिनो हुने हुँदा यो हानिकारक कण शरीरमा प्रवेश गरेर स्वास्थ्यमा असर गर्छ।
अहिले बढिरहेको वायु प्रदूषणले स्वास्थ्यमा कस्तो समस्या निम्तिन सक्छ ? यो विषयमा केन्द्रित रहेर श्वासप्रश्वास तथा फोक्सो रोग विशेषज्ञ डा.अच्युतभक्त आचार्यसँग अनलाइनखबरका लागि सुमित्रा लुईटेलले कुराकानी गरेकी छन् ।
डा. आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश
पछिल्ला केही दिनदेखि उपत्यकामा प्रदूषण तह एकदमै बढेको छ, यसको कारण के हो ?
उद्योग, सवारी साधनले वर्षभर नै वायु प्रदूषण हुन्छ । तर अहिलेको सिजनमा पानी नपर्ने र वन जङ्गलमा डढेलो लाग्ने र कृषि अवशेषका कारण वायुको गुणस्तर थप खस्किएको हो ।
प्रदूषण विशेष गरी गाडीबाट निस्कने धुवाँ, विभिन्न फोहोर बाल्दा हुने प्रदूषण, घर, इँटा–भट्टा तथा विभिन्न कारखाना, उद्योगबाट निस्किने ग्यास, रसायन, धुलोका कणका कारणले हुन्छ। जङ्गलमा आगलागी, प्राकृतिक प्रकोपका कारणले पनि वायु प्रदूषण हुनसक्छ ।
प्रदूषण बढ्नुमा उपत्यका वरपर लागेको डढेलो नै जिम्मेवार हो त ?
नेपालमा प्रदूषण बढ्नुमा नेपालमा नै लागेको डढेलो जिम्मेवार हुन्छ भन्ने छैन छिमेकी मुलुक भारत र चीनमा लागेको डढेलोले पनि वायुमण्डलमा कार्बनडाईअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, क्लोरोफ्लोरो, कार्बनमोनोअक्साड लगायत अन्य कणहरूको उत्पादन बढ्छ र त्यो वायुको माध्यमबाट नेपालमा पनि आउने भयो । त्यसैले प्रदूषण बढ्नुमा नेपालमा मात्र भएको प्रदूषण भन्दा पनि विश्वभरिको प्रदूषण जिम्मेवार हुन्छ।
वायु प्रदूषणबाट स्वास्थ्यमा हुने मुख्य असरहरू के-के हुन् ?
वायु प्रदूषणमा धेरै खालका रसायन हुन्छन् । वायु प्रदूषण १० माइक्रोग्राम भन्दा पनि सानो हुन्छ, जुन फोक्सोको भित्री तहसम्म पुग्छन् र फोक्सोमा असर गर्छन् ।
२.५ माइक्रोगामभन्दा साना कण श्वासप्रश्वासको माध्यमबाट फोक्सोबाट रक्तसञ्चार प्रणालीमा पनि छिर्न सक्छ । रक्तसञ्चार प्रणालीमा गएको खण्डमा शरीरका सम्पूर्ण अङ्गलाई असर गर्ने सम्भावना बलियो हुन्छ । जसले गर्दा मुटु, मिर्गौला, टाउकोसम्मै पुगेर पक्षघात, क्यान्सरसमेत हुने समस्या उत्पन्न हुन्छ ।
यसले दीर्घकालीन रूपमा कस्तो असर गर्छ ?
प्रदूषणको कारण तत्कालीन रूपमा नाक बन्द हुने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, आँखामा संक्रमण हुने, छाला सुख्खा हुने र फोक्सोको इन्फेक्सन जस्ता समस्या देखापर्छ ।
लामो समय प्रदूषणको सम्पर्कमा आइयो भने वायुमण्डलमा भएको ग्यास र मसिनो धुलोका कण श्वासप्रश्वास नली फोक्सो हुँदै रक्तसञ्चार प्रणालीसम्म पुग्छ । रक्तसञ्चार प्रणाली हुँदै शरीरको हरेक अंगमा पुगेर दीर्घकालीन रूपमा मुटुमा पुगेर मुटुको चाल बढ्ने, हृदयाघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्छ ।
प्रदूषणले बालबालिकालाई कस्तो असर गर्छ ?
प्रदूषणले बालबालिकामा पनि दुई किसिमले असर गर्छ, एउटा तत्काल हुने असर र अर्को कालान्तरमा हुने असर । प्रदूषणको कारण बच्चामा तत्कालीन रुपमा श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्छ । जुन बच्चालाई श्वासप्रश्वाससम्बन्धी समस्या थिएन, उनीहरूमा यो प्रदूषण बढेपछि श्वासप्रश्वाससम्बन्धी समस्या, खोकी लाग्ने, घाँटी खसखस हुने र स्याँस्याँ हुने जस्ता समस्या देखा पर्छन् ।
पहिले नै दम भएका बच्चाहरूमा भने प्रदूषण बढेपछि खोकी बढ्ने, स्याँस्याँ बढ्ने, घ्यारघ्यार हुने जस्ता लक्षण बढ्ने हुन्छ । साथै, निमोनिया र भाइरल संक्रमण पनि बढ्छ ।
प्रदूषणबाट स्वास्थ्यमा पर्ने असरबाट बच्ने एक मात्र प्रभावकारी उपाय भनेको प्रदूषणको एक्सपोजर नै कम गर्ने हो ।
यसरी प्रदूषण बढ्नु भनेको त हेल्थ इमरजेन्सीको अवस्था हो यस्तोमा सरकारले तुरुन्त एक्सन लिनुपर्छ । सार्वजनिक बिदा दिने हो कि, सवारी साधन जोर-बिजोर प्रणाली लगाउने हो कि, उद्योग कलकारखाना बन्द गर्ने हो गरी हाल्नुपर्ने थियो । यस्तो प्रदूषणले बालबालिका, वृद्धवृद्धा र सबैको स्वास्थ्यमा गम्भीर असर गर्नसक्छ ।
प्रदूषणले गर्भवती महिलालाई कस्तो असर गर्छ ?
गर्भवती महिलाको पेटमा बच्चा हुर्किरहेको हुन्छ, बच्चाको अङ्गहरू बनिरहेको हुन्छ । यस्तोमा प्रदूषणको सम्पर्कमा आउँदा गर्भवती महिला र बच्चा दुवैलाई असर गर्छ ।
गर्भवती महिलाको फोक्सो, मुटुलाई असर गर्छ भने पेटमा हुर्किरहेका बच्चाको अङ्गहरूको राम्ररी विकास हुँदैन । लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा विभिन्न प्रभाव पर्नसक्छ । शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, जन्मजात मुटुसम्बन्धी समस्या हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्छ ।
कस्ता-कस्ता रोग भएका व्यक्ति बढी जोखिममा हुन्छन् ?
वायु प्रदूषणको मात्रा बढी भएमा त्यसले विशेष गरी रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ । जस्तै, बालबालिका, वृद्ध वृद्धा, दम, एलर्जी, दीर्घ रोगीलाई प्रदूषणले बढी असर गर्न सक्छ ।
विशेष गरी फोक्सोको दीर्घकालीन समस्या जस्तै दम, सियोपिडी, फोक्सोको क्यान्सर भएका व्यक्तिहरूलाई वायु प्रदूषणले बढी असर गर्छ । यस्ता व्यक्तिलाई फोक्सोको अट्याक भएर इमर्जेन्सीमा अस्पतालमा नै भर्ना गर्नुपर्ने हुनसक्छ । साथै दीर्घकालीन मुटुको रोग र स्ट्रोकको समस्या भएका व्यक्तिहरूको पनि समस्या बढ्न सक्छ ।
प्रदूषणको प्रभावबाट कसरी बच्ने त ?
व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनिकरणका लागि गम्भीर रुपमा कदम चाल्नुपर्छ । शहरी क्षेत्रको कुरा गर्दा प्रदूषण बढ्ने विशेष समय भनेको बिहान र साँझ हो । यो समयमा सकेसम्म घरबाहिर ननिस्कने । निस्कनै परेमा मास्कको प्रयोग गर्ने । हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउने गर्नुपर्छ ।
प्रदूषण कम गर्न निजी सवारीको सट्टा सार्वजनिक यातायातको प्रयोग गर्ने । हिँड्दा वा साइकल चलाउँदा प्रदूषण कम गर्न मद्दत गर्छ । साथै विद्युतीय सवारी साधनको प्रयोग पनि राम्रो विकल्प हो।
ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण जस्तै दाउरा, गुइँठा लगायत खाना पकाउने इन्धन हो । त्यसको न्यूनिकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवा जम्मा नहुने किसिमले वायुसञ्चारको व्यवस्था मिलाउने गर्नुपर्छ ।
मास्कको प्रयोगले प्रदूषणबाट कत्तिको सुरक्षा गर्छ ?
प्रदूषणको लेबल एकदमै बढेका बेला प्रदूषणसँग एक्पोजर नै नहुने भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । बाहिर निस्कनै पर्ने अवस्थामा पनि मास्कको प्रयोग गर्ने भन्छौँ ।सर्जिकल मास्कले धुलाका ठूला कणहरूलाई मात्र रोक्छ ।
एन नाएन्टी फाइभ मास्क लगाउँदा धुलोका अलि साना कणहरूलाई रोक्छ । तर, कार्बनडाईअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, क्लोरोफ्लोरो, कार्बनमोनोअक्साड लगायतका रसायनहरूलाई रोक्न सक्दैन ।
त्यसैले एन नाइन्टी फाइभ मास्क नै लगाए पनि यो श्वासप्रश्वास मार्फत फोक्सोमा पुगेर असर गर्छ । त्यसैले मैले त मास्क लगाएर हिँडेको छु मलाई त प्रदूषणले केही असर गर्दैन भनेर ढुक्क हुन मिल्दैन ।
प्रतिक्रिया 4