
२८ चैत, काठमाडौं । सर्वसाधारणका लागि पियोर इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । यसअघि पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ताका लागि आवेदन खोलेको हो । न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत वैशाख २ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।
पियोर इनर्जी कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सेयर सर्वसाधारण समूहको निष्कासन हुन लागेको हो ।
कस्तो छ कम्पनी ?
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् ।
२० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो । आयोजना ४३ विगाहा क्षेत्रमा फैलिएको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा छ । प्रतिसेयर आम्दानी ३८ पैसा मात्रै छ । कम्पनी सञ्चित नोक्सानीमा छ । पुस मसान्तसम्म सञ्चित भएको नोक्सानी रकम २ करोड ३ लाख रुपैयाँ छ ।
कम्पनीले केयर रेटिङ्स नेपालबाट बीबी प्लस रेटिङ पाएको छ । यसले दायित्व पूरा गर्न मध्यमस्तरको रहेको जनाउँछ । कम्पनीको अध्यक्ष अक्षय गोल्याण हुन् । उनले ६४ प्रतिशत सेयर होल्ड गरेका छन् । कम्पनीको सीईओ प्रवीण अर्याल छन् ।
प्रतिक्रिया 4