
काठमाडौं । माग्ने बुढा अर्थात केदारप्रसाद घिमिरे ! धेरैले उनलाई माग्ने बुढा नामले चिन्छन् । टिभी श्रृंखला ‘मेरी बास्सै’ले दिलाएको यो नाम अहिले उनको पर्याय भैसकेको छ ।
संघर्ष, निरन्तरता अनि सफलताको स्वाद के हो भन्ने कुरा कलाकारिताप्रति झुकाव राख्ने र राख्न खोज्ने आजको पुस्ताले उनीबाट सिक्न सक्छन । रातारात भाईरल हुने प्रवृत्तिमाझ माग्ने बुढा संघर्षपछिको सुखको कस्तो हुन्छ भन्ने उदाहरण हुन् ।
उनै केदारले बिहीबार ४९ औं जन्मदिन मनाउँदैछन् । सामाजिक संजालमा प्रशंसकले उनलाई शुभकामना दिइरहेका छन् । जन्मदिन छेकोमा उनले अनलाइनखबरसँग कुरा गरे ।
‘संघर्षको कुरै छाडौं । त्यो दिन सम्झिँदा आज यो अवस्थामा कसरी आइपुगियो ? आफैलाई चिमोटेर सोध्न मन लाग्छ’ उनले विगत सम्झिए ।
बिहिबार बिहानैदेखी मोबाइलमा बर्थडेको शुभकामना र बधाइ पाइरहेका केदार भन्छन्, ‘यसरी जन्मदिनको बधाइ र शुभकामना खाँदा जिम्मेवारी झनै बढे जस्तो लाग्छ । कुनै समय न त मलाई जन्मदिनको शुभकामना आउँथ्यो न त बधाई नै । आज करोडौं दर्शक र शुभचिन्तकको माया, साथ अनि सदभाव पाएको छु ।’
उनी आफ्नो सफलता र कलाकारिताको उपलब्धि यसैलाई ठान्छन् । ‘यस्तो माया र साथको साख जोगाइरहन सक्छु कि सक्दिन, डर लाग्छ । तर पनि त्यो साख जोगाउन जीवनपर्यन्त लागि रहनेछु’ उनी प्रतिबद्ध सुनिए ।
उनी अहिलेका डिमान्डेड कलाकार । यति ब्यस्त छन् कि निजी जीवन छैन । एकपछि अर्को फिल्म साइन गरेका छन् । जन्मदिनमा पनि छायांकन सेटमै ब्यस्त । गतसाता ‘जेरी अन टप’को सकेका उनी अहिले ‘माग्ने राजा’को छायांकनमा ब्यस्त छन् ।
यो फिल्मको छायांकन बुढानिलकण्ठमा भैरहेको छ । माग्ने बुढाको जन्मदिन परेपछि फिल्म युनिटले सेटमै केक काटेर उनको जन्मदिन मनाइदिने भएको छ । जन्मदिनको बिहानै माग्ने बुुढाले पशुपति दर्शनसम्म भ्याए ।
‘बिहान पशुपति मन्दिरसम्म जान पाएँ । त्यसपछि सिधै सुटिङमा । मलाई जन्मदिनको शुभकामना र बधाइ दिनु हुनेहरूलाई रिप्लाई पनि गर्न पाएको छैन । अनलाइनखबरबाटै सबैमा धन्यबाद दिन चाहन्छु’ उनले भने ।
कुनै समय सानो पर्दामा देखिने रहर मेटाउन निर्देशकको ढोका चहार्ने केदारलाई आफ्नो फिल्ममा लिन निर्माताको हानथाप हुने गरेको छ । उनले चाहेमा पनि दर्जनौं फिल्ममा साइन गर्न सक्छन् ।
एकपछि अर्को फिल्म साइन गरेको सन्दर्भमा उनलाई ‘पैसामुखी’ भएको आरोप पनि लाग्ने गरेको छ । यसबारे उनको प्रष्टीकरण छ । भन्छन्, ‘म दाममुखी र दाम मात्र थुपार्ने मनसायमा छैन । राम्रो कथा खोज्ने, थोरै खेल्ने बरू चित्त बुझ्दो रकम लिने । यस्तो योजना बनाएको छु मैले ।’
केदारले यो पनि बुझेका छन कि बजारमा सधै आफ्नो जगजगी मात्र हुँदैन । त्यसैले त उनी आफूलाई सम्हालेर अगाडि बढ्न चाहन्छन । ‘केही भएको समयमा अहिले मात्तिने अनि पछि केही भएन भनेर आत्तिने खालको ब्यबहार त गर्नु भएन नि ? म सदाबहार हुन चाहन्छु’ उनले आफ्नो शैली बताए ।
आजको पुस्ताले कलाकारितामा जम्न, नाम र दाम कमाउन खासै संघर्ष गर्न नपरेको धारणा केदार घिमिरेको छ । उनले नयाँ पुस्तालाई आफ्नो कर्ममाथि बिश्वास गरेर निरन्तरता दिंदै इमान्दारिताका साथ लाग्न सकेमा भने सफलताको स्वाद चाख्न आफ्नो पालाको जस्तो धेरै कुर्नु नपर्ने अनुभव पनि सुनाए ।
प्रतिक्रिया 4